एनआरएनए : सरकारले छानबिन समिति बनाउनु स्वागत योग्य : शर्मा समूहका प्रवक्ता सुवेदी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विषयमा सरकारले छानबिन गर्न समिति गठन गरेकोमा राजेन्द्र कुमार (आरके) शर्मा समूहका प्रवक्ता नारायण सुवेदीले स्वागत गरेका छन् ।
विहीवार एक विज्ञप्ति प्रकाशित गरेर एनआरएनएको काठमाडौँमा १७–२० अक्टोबर २०२३ मा ११ औं महाधिवेशनका बेला भएको चुनाव लगाएतका विषयमा छानविनका लागि मन्त्रिपरिषद्ले वुधबार छानविन समिति बनाएकोमा प्रवक्ता सुवेदीले स्वागत गरेका हुन् ।
नेपाल सरकारको मन्त्रिपरिषदवाट नै एक उच्च स्तरिय छानविन समिति बनाइ निर्वाचनको सम्पूर्ण प्रक्रियाको अनियमितताका वारेमा छानविन गर्नुलाई सरकारले गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनको निर्वाचनलाई अत्यन्तै गंभीर रुपमा लिएको रुपमा आफूहरुले बुझेको उनले बताए ।
शर्मा समूहका प्रवक्ता सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन भोटिङ र निर्वाचन प्रक्रियामा गरिएको ब्यापक धाँधली, संघको लेखा एवं अन्य काम कारवाहीका सम्वन्धमा छानबिन गर्न हालै नेपाल सरकार मन्त्रि परिषदको बैठकबाट सह–महान्यायाधिबक्ता ध्रुव कुमार चौहानको संयोजकत्वमा ४ सदस्य उच्चस्तरीय छानविन समिति बनाइएकोमा हार्दिक स्वागत गर्दै, परराष्ट्र मन्त्रालय र नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’
“बद्री केसी समूहले संस्था कब्जा गर्ने, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई विभाजित गराउने र नीजि स्वार्थ पूरा गर्ने मनसायका साथ बिभिन्न गतिविधि संचालन गर्ने, संस्थाको रकम अपचलन गर्ने कार्यहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ । साथै कानुनी रुपमा आधिकारिकता नपाएसम्म संस्थाको नाममा कुनै पनि गतिविधीहरु नगर्न र संस्थाको सम्पतिको दुरुपयोग, अपचलन नगर्नका लागि उक्त समूह, सचिवालय र संवन्धित कर्मचारीहरुलाई समेत सचेत गराउँछौं,” विज्ञप्तिमा उल्लेख छ ।