एनआरएनएको विवाद र लेखा प्रणालीसमेत छानविन गर्ने गरी सरकारले बनायो समिति
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको पछिल्लो विवादबारे सरकारले छानविन समिति गठन गरेको छ । महान्यायाधीवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समति गठन गरिएको हो ।
समितिमा परराष्ट्रमन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरिक्षक र लेखाका उपसचिव सदस्य रहेको छानविन समिति गठन गरिएको हो । संयोजक चौहानबाहेक अरुको नाम सार्वजनिक गरिएको छैन ।
यसअघि नै परारष्ट्रमन्त्री एनपी साउदले समिति गठन गरेर नाम सम्मेलनका लागि प्रस्थान गरेको बताइएको थियो ।
परराष्ट्रमन्त्रालयको प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको सरकारी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बुधबार आयोजित निर्णय सार्वजनिक कार्यक्रममा जानकारी दिइन् । अक्टोबरमा ११ औं सम्मेलनका बेला चुनावी प्रक्रिया धाँधली भएको भन्दै समानान्तर कमिटी बनेका छन् ।
जसले गर्दा अहिले एनआरएनभित्र वद्री केसी समूह र समानान्तर अभ्यास गर्दै आएको राजेन्द्रकुमार (आरके) शर्मा समूह रहेका छन् । दुवै समूहले आधिकारिताका लागि परराष्ट्रमा निवेदन दिएपछि यस विषयका कुनै निर्णय नगरेको परराष्ट्रले मंगलबार औपचारिकरुपमा छानविन समिति गठन गरिएको हो । १५ दिनको छानविन समितिलाई समय दिइएको छ । उक्त समितिले निर्वाचन प्रक्रियादेखि पछिल्ला विवाद र लेखाको पनि छानविन गर्ने कार्यदेश पाएको छ ।