चन्द्रागिरी बैठक पछि एनआरएनएको वद्री समूह उत्साहित
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. वद्री केसी समूह चन्द्रागिरी बैठकपछि उत्साहित देखिएको छ ।
तीन दिने कार्यशाला र वैठक आयोजना गरेको थियो । उक्त कार्यशालमा राजनीतिक दलका नेताहरु पनि पुगेर शुभकामना दिँदै सहकार्य गर्ने प्रस्ताव गरेपछि उत्साहित देखिएको छ ।
कार्यशालामा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसबाट शंकर भण्डारी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र रामकुमारी झाक्री, माओवादीबाट माधव सापकोटा, राप्रपाबाट ध्रुवबहादुर प्रधान, रास्वपाबाट मनिष झा लगायतका नेताहरु पुगेका थिए ।
उनीहरुले एनआरएनएभित्रको विवादका विषयमा भन्दा पनि नेपाल र नेपालीको हितका विषयमा काम गर्नलाई सुझाव दिएका छन् ।
वैठकस्थलबाटै एनआरएनएका प्रवक्ता फणीन्द्र पन्तले समाजटाइम्ससँग कुरा गर्दै कार्यशाला गोष्ठी एव आईसीसी बैठक एकदमै सकारात्मक र सफल भएको बताए । उनले राजनीतिक दलका नेताहरु आएर शुभकामना दिएको बताउँदै विवाद समाधान गर्नका लागि पार्टीबाट आफूहरुसँग प्रतिवद्धता जनाएको पनि पन्तले बताए ।
उनले भने ‘आउनु भएका राजनीतिक दलका नेताहरुले समस्या समाधानका विषयमा प्रतिवद्धता जनाउनु भएको छ, शीर्ष नेताहरु को को आउनु भयो भन्दा पनि सबै युवा नेताहरुको साथ हामीलाई छ । यसले हाम्रो अभियानलाई थप मजबुत बनाउनु सहयोग पुग्छ ।’
कार्यशाला गोष्ठी पछि चन्द्रागिरी घोषणा पत्र नै सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको बताउँदै प्रवक्ता पन्तले सरकारसँग हातेमालो गरेर काम गर्ने विषयहरु समेट्ने बताए । उनले एनआरएनएको सन् २०५० सम्मको मिसन र भिजन पनि सार्वजनिक हुने बताए ।
यसैगरी एनआरएन नागरिकता लगायतका कुराहरुमा पनि आफूहरुले गम्भीर ढंगले छलफल गरेको र अहिले अर्को समूह बाहिर रहेकाले केही एनसीसीमा नेतृत्व गर्नेहरु अन्यौलमा परेको विषयलाई पनि यो कार्यशालाले चिर्ने काम गरेको प्रवक्ता पन्तको भनाई छ । चन्द्रगिरी वैठकमा अक्टोबर १९ को चुनाव जितेका तर अहिले अर्को समानान्तर समूह नजिक रहेका पदाधिकारीहरु भने सहभागी भएनन् ।