१८ वर्ष पछि तेक्वान्दोमा फर्किएका प्रकाश ढुङ्गानाको उडानले गति लिँदै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ त्यसो त पछिल्ला तीन वर्ष यता तेक्वान्दो प्रशिक्षक प्रकाश ढुङ्गानाको दैनिकी पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गको डेरी स्ट्रिट आसपासमा नै बित्दै आएको छ।
ग्रेटर ह्यारिसबर्गमा रहेका नेपाली भाषी भुटानी र केही नेपालीका लागि यो क्षेत्र व्यापारिक केन्द्र नै हो।
काठमाडौँलाई झल्काउने गरी यहाँ दर्जनौँ पसलहरू खुलेका छन्। दैनिक खाद्यान्न, तरकारी देखि सुन चाँदी पसल तथा नेपाली पोसाक सबै यो क्षेत्रमा पाइन्छन्।
नेपाली खानामा आधारित रेस्टुरेन्ट नै दर्जन बढी छन्। स्थानीय सरकारको पछिल्लो तथ्याङ्क अनुसार यो क्षेत्रले दैनिक आधा करोड (हाफ मिलियन) राजश्वको योगदान गरेको छ। जसमा ४७ प्रतिशत नेपाली भाषी भुटानी समुदायबाट छ।
यही ४७ प्रतिशत राजश्व तिर्ने नेपाली भाषी भुटानी मध्येमा एक हुन प्रकाश ढुङ्गाना। उनले डेरी स्ट्रिटमै ग्लोबल तेक्वान्दो एकेडेमी चलाएका छन्। अहिले मासिक एक सयको हाराहारीमा विद्यार्थीहरू उनको एकेडेमीमा तेक्वान्दो सिक्दै आएका छन्।
गत शनिवार डेरी स्ट्रिटमा रहेको नेपाली भाषी भुटानी समुदाय सञ्चालन गरेको डेरी सपिङ सेन्टरको भित्र रहेको हलमा ४३ वर्षीय ढुङ्गानाको दौडधुप अलिक बढी नै थियो।
जीवनमा थुप्रै चुनौती र परीक्षा दिँदै आएका ढुङ्गाना फेरि अर्को परीक्षा दिँदै थिए। लगभग आसा नै मारिसकेको तेक्वान्दो क्षेत्रमा १८ वर्ष पछि फर्किएका ढुङ्गाना जीवनमै पहिलो पटक च्याम्पियनसिपको आयोजक बनेका थिए।
ग्लोबल तेक्वान्दो एकेडेमीको दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा पहिलो अन्तर स्कुल तेक्वान्दो च्याम्पियनसिप आयोजना गरिएको थियो। सोही च्याम्पियनसिपका लागि उनी १६ वर्षीय छोरा निश्चलको साथ लिएर लागि परेका थिए। त्यसो त उनी श्रीमती जानुका ढुङ्गाना पनि त्यसै गरी खटेकी थिइन्।
एक दिने च्याम्पियनसिपमा तीन स्कुलका एक सय भन्दा बढी खेलाडीले भाग लिएका थिए।सहभागी सबै खेलाडीलाई पदकको व्यवस्था गरिएको थियो। ‘यो हारजित भन्दा पनि खेलाडीलाई आफूले सिकेका सिपको परीक्षण गराउनु थियो, मुख्य रूपमा हामीले आत्मरक्षाका लागि यो च्याम्पियनसिप गरेका हौ।’ आफ्नो उद्देश्यबारेमा ढुङ्गानाले प्रस्टाए।
ढुङ्गानाको जन्म सन् १९८१ भुटानको सर्वाङ्गमा भएको हो। दश वर्षको उमेरमा उनी एक दाइ, एक बहिनी र बाबा आमाको साथ नेपाल आएका थिए।
नेपालमा शरणार्थी शिविरमा रहँदै उनले टार्जन सुब्बा र विजय न्यौपाने सँग तेक्वान्दो सिके। ब्ल्याक बेल्ट सम्म नेपालमै हुँदा लिए। जागिरको सिलसिलामा एक समय उनी धादिङ जिल्ला पुगे। शिक्षक बन्न धादिङ्ग पुगेका उनले त्यहाँ तेक्वान्दो डोजाङ्ग समेत खोलेका थिए। तर लामो समय उनी धादिङमा रहन पाएनन्।
उनी फेरि झापा फर्किए। सन् २००० तिरै उनको तेक्वान्दोको सँगको साइनो टुट्यो। जीवन जिउन अन्य विकल्प तिर उनी भौँतारिए। म तेक्वान्दोमा केही गर्न सक्छु भन्ने उनलाई लाग्दै लागेन।
समय क्रम सँगै शरणार्थी शिविरमा रहेकालाई तेस्रो मुलुक पुनर्स्थापना गर्ने क्रममा उनको परिवार सन् २००९ मा अमेरिका सर्यो।
नयाँ ठाउँ सबै कुरा शून्यबाट सुरु गर्नु पर्ने अमेरिकामा। तेक्वान्दोमा केही गर्न सक्छु भन्ने मनमा एक रत्ती पनि भएन। अन्य जस्तै उनी पनि वेयर हाउसको दैनिकीमा व्यस्त हुन थाले।
नौ वर्ष त्यसरी बित्यो। तर सन् २०१८ मा तेक्वान्दो प्रशिक्षक नकुल शर्मा सँगको भेटले उनको जीवनमा नयाँ मोड आयो। ह्यारिसबर्गमै हिमालयन तेक्वान्दो स्कुल चलाउँदै आएका नकुलकै सहयोगमा ढुङ्गानाले आफू भित्र लुप्त रहेको तेक्वान्दोलाई पुन जीवन्त पार्न सके। बिर्सिसकेका किकहरू, शिथिल हुँदै गरेका शरीरलाई फेरि चलायमान बनाए।
तीन वर्ष नकुल शर्माको सङ्गत पछि सन् २०२१ मा ढुङ्गानाले आफैले डेरी स्ट्रिटलाई दैनिकी बनाए। ग्लोबल तेक्वान्दो एकेडेमीमा प्रशिक्षक भएर । शर्मा सँगको साझेदारीमा रहेको एकेडेमीलाई गत वर्ष देखि ढुङ्गानाले एकल बनाएका छन्।
त्यस पछि उनले अन्तर स्कुल च्याम्पियनसिप गरेका हुन्। दुख संयोग उनले आयोजना गरेको पहिलो च्याम्पियनसिपमा तीनै नकुल शर्माको हिमालयन तेक्वान्दोका खेलाडी देखिएनन्।
ग्लोबल सहित युनाइटेड एभरेस्ट तेक्वान्दो, हिङमाङ तेक्वान्दो एकेडेमीका खेलाडीले भाग लिएका थिए।
ढुङ्गानालाई सघाउन अर्को राज्य मेरिल्यान्डको बालल्टिमोरमा वल्ड क्लास एभरेस्ट तेक्वान्दो चलाउँदै आएका मास्टर कुमार कार्की ठुलै दलबल सहित ह्यारिसबर्ग आइपुगेका थिए।
भुटनीज कम्युनीटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला, स्थानीय सरकारका प्रतिनिधि स्वातारा टाउनशिप आयुक्त क्रिस्टिन जुबेक र थोमस कोनोलीले पनि च्याम्पियनसिप स्थलमा पुगेर ढुङ्गानालाई हौस्याएका थिए।
झन्डै दुई दशक पछि तेक्वान्दोमा फर्कने वातावरणमा नकुल शर्माको भूमिका देखेका ढुङ्गाना पहिलो च्याम्पियनसिप सफल हुनुमा कार्कीलाई विशेष धन्यवाद दिन चाहन्छन्।
ढुङ्गानाको परिवार नै अहिले तेक्वान्दोमा होमिएको छ। जेठो र माहिलो छोराले ब्ल्याक बेल्ट पाएका छन्। जेठो छोराले त नियमित प्रशिक्षणमा सघाउन थाली सकेका छन्।
पहिलो च्याम्पियनसिपको सफल आयोजना पछि उनी झनै हौसिएका छन्। तेक्वान्दोमा फर्किएर सबै भन्दा पहिला आफ्नै स्वास्थ्यमा व्यापक सुधार भएको उनको अनुभव छ। ‘म आफै नियमित औषधी खाने भइसकेको थिए जब तेक्वान्दोमा फर्किए त्यो बन्द भएको छ।’ च्याम्पियनसिप पछि समाज टाइम्स सँगको कुराकानीमा ढुङ्गानाले भने।
आर्थिक रूपमा पनि अब उनलाई अन्यत्र काम खोज्न जान नपर्ने भएको छ। ‘दुई जनालाई फूल टाइम काम पुग्छ।’ सन्तुष्टिको अर्को कथा उनी सुनाउँछन्।
उनलाई यो सन्तुष्टिसँग जोडी दिएको तेक्वान्दोले दिएको हो। १८ वर्ष पछि ‘कम ब्याक’ गरेको तेक्वान्दोमा उनको उडानले गति लिएको छ। अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गरेर जीविकोपार्जन गर्न सक्ने मात्र होइन च्याम्पियनसिप आयोजनाको अनुभव पनि उनले हासिल गरेका छन्।
‘त्यो समय तेक्वान्दोमा फर्काउन सहयोग गरेकोमा म मास्टर नकुललाई धन्यवाद दिन चाहान्छु, यस पटक च्याम्पियनसिप सफल पार्न सहयोग गरेकोमा मास्टर कुमार कार्कीलाई विषेश धन्यवाद।’ ढुङ्गाना भन्छन, ‘वर्किङ्ग टुगेदर विथ मास्टर नकुल’
चाप्पियनसिपका तस्बिरहरु…