लुम्बिनीमाथि कर्णाली प्रदेशको जित
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । सुदूरपश्चिमसँग पराजित भएको कर्णालीले पहिलो जित निकाल्दा गण्डकीलाई स्तब्ध बनाएको थियो । बुधबार भैरहवामा रहको सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्न सफल भयो । कर्णालीले पहिला ब्याटिङ गर्दै निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । बाक्लो हुस्सु लागेका कारण खेल ५ ओभर घटाइएको थियो ।
१८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेश १२४ रनमा रोकिन पुग्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले अर्धशतकीय ५६ रनको पारि खेल्दा दीपेन्द्र रावत ४७ रनमा पभेलियन फर्किएका थिए । यस्तै, हिमांशु शाहीले २५ रन बनाउँदा कप्तान रविन्द्र शाहीले ११ रुन बनाए । चार खेलाडीले खाता पनि नखोल्दा अरुको रन दोहोरो अंकमा बनेनन् ।
लुम्बिनीका निर्मला गुरुङ र अभिषेक गौतमले तीन तीन विकेट लिँदा अजय चौहान, मोहमद हुसेन र कृष्ण कार्कीले एक एक विकेट लिए ।
१८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेशले ४१.२ ओभरमा सवै विकेट गुमाएर १२४ रन मात्रै बनायो । लुम्बिनीका कृष्ण कार्कीले ४७ रन बनाउँदा मृनल गुरुङले २२ रन बनाए । यस्तै मोहमद हुसेन र निर्मल गुरुङले १०–१० रनको योगदान गरेका थिए ।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिँदा अनुज चनारा र दीपेन्द्र रावतले दुई दुई विकेट लिएका थिए । दिवान पुनले १ विकेट लिँदा २ खेलाडी रनआउट भए ।
जितपछि कर्णालीले ३ खेलबाट ४ अंक बनाउँदै पाँचौं स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ लुम्बिनी पुछारबाट तेस्रो स्थानमा छ ।