पीएम कपमा आर्मीमाथि बागमतिको जित
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागममति प्रदेशले विभागीय क्लब त्रिभुवन आर्मीलाई ३ विकेटले पराजित गरेको छ । बागमतिको दोस्रो जित हो भने आर्मीले पहिलो हार व्यहोरेको छ । जारी प्रतियोगितामा बागमतिले ४ खेल खेलेको छ ।
मूलपानी मैदानमा बागमतिका सूर्य तामाङले २६ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएपछि आर्मीको टिम १०० मुनिको स्कोरमा रोकिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले २७.१ ओभरमा सवै विकेट गुमाएर जम्मा ९७ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाउँदा भीम सार्कीले १८ रन बनाए । यसैगरी विवेक यादवले नटआउट ११ रन जोडे । अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन असफल रहे ।
बगमतिका सूर्य तामाङले ५ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले दुई दुई विकेट हात पारे । कृजन गुरुङले १ विकेट लिए ।
९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमति प्रदेशको सुरुआत भने राम्रो रहेन । २२.१ ओभरमा ७ विकेट गुमाएर मात्रै लक्ष्य पूरा गरेको थियो । बागमतिका लागि अशोक पौडेलले २१ रन बनाउँदा प्रतिश जिसीले पनि नटआउट २१ रन बनाउँदा खेल जिताए । यसैगरी इशान पाण्डे र रविन जोशीले १२–१२ रन बनाउँदा विपिन आचार्यले १० रन जोडेका थिए ।
आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा सहाव आलम र जितेन्द्र मुखियाले दुई दुई विकेट लिएका थिए । जितसँगै बागमति ४ खेलबाट ४ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेको छ भने आर्मी २ खेलबाट २ अंक बनाउँदै छैटौं स्थानमा रहेको छ ।