नबिर्सिएका दुई झिल्का : नारायण भण्डारी
विगतमा मैले बिताएको सक्रिय पत्रकारिता जीवनमा सम्झन लायक कैयौँ घटना छन् । ती मध्ये यी दुई घटना मेरा लागि धेरै महत्त्वपूर्ण अर्थ राख्छन् । ती घटनालाई स्मरण गरौँ ।
नवलपरासी जिल्लाको रजहर स्थित धुसेरी सामुदायिक वन राष्ट्रिय संरक्षित वन मध्यबाट समुदायलाई २०५२ सालमा हस्तान्तरण गरिएको नेपालको पहिलो सामुदायिक वन हो । वन संरक्षणमा उपभोक्ताहरूको व्यापक सहभागिता रहने गरेको भए पनि कार्य समितिको काम कर्तव्य र अधिकार, र उपभोगका विधि, तरिका, एवं सर्वसाधारण उपभोक्ता सम्म अनावश्यक सूचनाको पहुँच नहुँदा वेला वेला समूहमा ठुला विवादका विषय आउने गर्दथे ।
काठ काटिएका परिमाण र त्यसका बिक्री प्रक्रिया प्रायः सधैँ विवादास्पद हुने गर्दथे । यस्तै विवादको समस्याले २०५९ सालमा धुसेरी सामुदायिक वनको नियमित हुनु पर्ने वार्षिक साधारण सभा एवं अधिवेशन हुन सकेन । पटक पटकको प्रयासमा समेत साधारण सभा हुन नसके पछि जनताको आवाजलाई समाचारमा समेट्न मैले समाचार लेख्ने निर्णय गरे। समितिले गरेका आर्थिक अनियमिततामा जनताले राखेका जिज्ञासाको जवाफ अध्यक्षले चित्त बुझ्ने गरी दिनु पर्ने, विवादमा आएको काठको निकासी प्रक्रिया र जम्मा घाट गद्दी गरिएको काठमा उत्पन्न विवादको समाधान हुनुपर्ने उपभोक्ताका मागलाई केन्द्रमा राखेर ती माग पुरा गरिनु पर्ने कुरामा जोड दिँदै मैले स्पेसटाइम्स दैनिकमा २०५९ साल माघमा एउटा समाचार लेखेँ ।
समाचार प्रकाशित भएपछि समितिका अध्यक्ष, केही पदाधिकारी र उनीहरूका आफन्तहरूले मलाई आक्रमण गर्ने धम्की दिँदै मेरो घरमा इँटा ढुङ्गा प्रहार गरे । धम्कीबाट म विचलित त भइन तर उनीहरूको आक्रोश बढिरहेको रहेछ । २०५९ फागुन १२ गते बिहान म काम विशेषले घरबाट साइकल चढेर बजार तर्फ जाँदै थिए। घरबाट करिब ५००-६०० मिटर पर मात्र के पुगेको थिए । सामुदायिक वन कार्यालय अगाडिकै चोकमा वन समितिका अध्यक्ष, उनका परिवारका केही सदस्य र अन्य केही स्थानीय मानिस बसिरहेको देखेको थिए।
म उनीहरूलाई वास्ता नगरी आफ्नै सुरमा उनीहरूकै अगाडिबाट जाँदै थिए एक्कासि कसैले पछाडिबाट मेरो टाउकोमा लाठीले हिर्कायो । कोहीले पछाडिबाट मेरो ज्याकेट समातेर तान्दै मलाई साइकलबाट सडकमा पछारे । त्यसपछि म माथि के केले कति प्रहार भयो मैले थाहा पाइन । म अर्ध चेत अवस्थामा गुहार माग्दै चिच्याउन थाले । मेरो हार गुहार सुने पछि वरपरका गाउँले छिमेकी आएर मलाई आक्रमणकारीबाट छुटाएर नजिकैको घर भित्र लगेका रहेछन् ।
म पूर्ण रूपमा सम्हालिएर होसमा आउँदा मैले लगाएको लुगा च्यातिएर क्षत विक्षत भएको, नाकबाट रगत बगिरहेको र टाउको र शरीरको विभिन्न ठाउँमा चोटहरू देखे । मेरो परिवारले थाहा पाए पछि आएर मलाई उपचारका लागि लगियो । यो घटना समाचार लेखेकै कारण म माथि भएको आक्रमण थियो । त्यस कारण यो एउटा बिर्सन नसकिएको एउटा क्षणको रूपमा रहेको छ । भ्रष्टाचारको समाचार छापिए पछि उपभोक्ता समिति माथि जिल्ला वन कार्यालयले छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढायो । भ्रष्टाचार भएको ठहर भएपछि समितिका पदाधिकारीले आफूहरूले लिएको पैसा फिर्ता गरेका थिए ।
पत्रकारले समाचारको लागि कति जोखिम लिनु पर्छ भन्ने कुराको यो एउटा उदाहरण हुन सक्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व समाजका हरेक नागरिकको बराबरी हुन्छ तर हामी बाँचिरहेको समाज आज पनि समाजको हितको निम्ति आफूलाई कुनै चुनौतीमा पार्न चाहन्न । यसले हामी र हाम्रो समाज चेतनाको कुन स्तरमा छ भन्ने कुराको स्पष्ट स्तर मापन गर्दछ ।
त्यसैगरी अर्को एउटा घटना जसलाई मैले आज सम्म सम्झनामा राखिरहेको छु । २०६० साल फागुन ६ गते तत्कालीन विद्रोही माओवादीले नेपाली कांग्रेस नवलपरासीका जिल्ला नेता एवं राष्ट्रिय सभाका पूर्व सांसद खेम नारायण फौजदारलाई उनको घरमै बसिरहेको अवस्थामा गोली हानी हत्या गरे । खेम नारायण त्यति बेला नेपाली कांग्रेस प्रजातान्त्रिकका नवलपरासीका अध्यक्ष समेत थिए । सुरक्षाको कारण राजधानी कठामाडौं बसिरहेका फौजदार परिवार भेट्न पंन्चनगरको अलावल स्थित घर आएको मौका छोपेर माओवादीले उनको हत्या गरेका थिए ।
उनको हत्या भएको १३ औ दिन पारेर नेपाली कांग्रेसले उनको घरमा शोक सभा राखेको थियो । शोक संतप्त परिवारलाई धैर्य धारण गर्न सान्त्वना दिँदै मृतक प्रति समवेदना व्यक्त गर्न कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवा थिए। कार्यक्रममा स्थानीय मानिसहरू, उनका आफन्तजन, सञ्चारकर्मीहरू, जिल्लाका विभिन्न स्थान देखि पार्टीका शुभेच्छुक र कार्यकर्ता भेला भएका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवा आउने भएकाले कार्यक्रम स्थलको सुरक्षा स्थिति मजबुत देखाइएको थियो । तिन तहको सुरक्षा घेरामा सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको बाक्लो उपस्थिति थियो । यसै बिच कार्यक्रम सुरु भयो । कार्यक्रमको सुरुआतमै स्वर्गीय फौजदार प्रति समवेदना दिन एक मिनेट मौन धारणको लागि अनुरोध गरियो । मौन धारणको तयारीको त्यो अवस्थामा पूर्व तर्फ फर्केर बसेका सभापति देउवाको नजिकै एक जना मैले चिनेका माओवादी लडाका युवक देखिए ।
मेरो गाउँ नजिकैका उनी माओवादी युद्ध चर्केका बेला माओवादी सेनामा गएको हल्ला गाउँमा सुनेको थिए । देउवा तिर फर्केर नजिकै उभिएका ती युवालाई देख्दा त्यहाँ तत्कालै कुनै अनिष्ट हुने सक्ने अडकल काटन मलाई समय लागेन । म झसङ्गै भए । उनले देउवालाई लक्षित गरी कुनै घटना गराउन खोजेको हुन सक्ने शङ्काले मलाई भतभती पोल्यो । मौन धारण सकिएर मञ्चमा पार्टीका वक्ताहरूले बोल्न थाले पछि मैले आँखाको इशारामा त्यो भाइलाई मञ्चको बाहिर आउन सङ्केत गरे।
मैले केही सञ्चारकर्मी मित्रलाई त्यहाँको परिस्थितिको बारेमा बताए । केही बेर पछि माओवादी भाइ कार्यक्रम स्थल बाहिर गएको देखेँ । म पनि बाहिर निक्लेर उनलाई त्यहाँ आउनुको कारण सोधेँ । उनले आफू निःशस्त्र रहेको र आफ्ना छ सात जना साथीहरू त्यही कार्यक्रममा रहेको जानकारी दिए । उनले आफू निःशस्त्र रहे पनि आफ्ना केही साथीहरू सँग हतियार रहेको र उनीहरू त्यहाँ कुनै घटना घटाउने योजनामा नरहेको बताए । मेरो त्रास अलि कम भयो ।
बाहिर सुरक्षा निकायको त्यत्रो घेरा भित्र माओवादी युवा हतियार सहित उपस्थित हुने अवस्था देखेर मेरो मनमा अनेक शङ्का समेत उत्पन्न भयो । त्यति बेला देशको सुरक्षा स्थिति यति नाजुक थियो कोही कसैसँग मन खोलेर बोल्न सक्ने अवस्था थिएन । जो सुकैको पनि ज्यान धरापमा थियो । त्यो चरम आतङ्क र असुरक्षाको अवस्था थियो । हरेक प्राणीलाई आफ्नो ज्यान भन्दा प्यारो के पो हुन्छ र। त्यसैले मान्छे मारेर समाज र देश कब्जा गरेको बहादुरी देख्ने अततायीहरुलाई कुनै बहानामा समर्थन गर्नु पनि आतङ्कवादलाई नै समर्थन गर्नु हो भन्ने लागिरहन्छ ।
हिजोका दिनमा मानिसको जीवनलाई राजनीतिक सौदाबाजी गर्दै आआफ्ना राजनीतिक अभीष्ट पुरा गर्न एउटा जीवन माथि खेलबाड गर्ने आततायी जो सुकै हुन तिनका विरुद्ध बोल्न मान्छे आज पनि हिचकिचाएको देख्दछु । मानवतालाई राजनीति सँग साटनेहरु सभ्य समाजको कलङ्क नै हुन चाहे ती जो सुकै हुन ।
जदौ !
र यो पनि…