मुग्लानमा संघर्षका कथा
नारायण भण्डारी /
हुन त देशमा सुख सम्पत्ति, सुरक्षा र उज्ज्वल भविष्य भएन भनेरै हामी नेपाली उज्ज्वल भविष्य खोज्न परदेशीएका हुन्छौ । विदेशमा दुःख र हन्डर स्वदेशमा भन्दा धेरै छ भन्ने कुरा प्राय परदेशीने हरेकलाई थाहा भएकै हुन्छ । विदेशमा जति दुख सहन परेपनि मानिस हाँसी हाँसी सहन्छन् । यो कुरा भोगाइबाट प्रमाणित सत्य हो ।
हुन त देश, बसाई, बुझाई र आवागमनका तरिका अनुसारका दुख, कष्ट र अफ्ठेराहरू पृथक् पृथक् छन् । डिभी परेर अमेरिका आउने र विद्यार्थी भिसामा अमेरिका आउने मान्छेले भोग्ने दुख कष्ट तुलना हुनै नसक्ने कुरा हुन। काम गर्ने भिसामा जानेले विद्यार्थीले भोगेको कष्टको तुलनामा नगन्य कष्ट सहनु परेको हुन्छ । विद्यार्थी लामो प्रक्रिया पार गरेर र ठुलो धनराशि खर्च गरेर विदेशी भूमिमा आई पुग्छन् । त्यसैले उनीहरू हद भन्दा बढी र कठोर संघर्ष गर्न बाध्य हुन्छन् ।
संसारमा आफ्नो देश छोडेर अर्को देशमा पढ्न, काम गर्न र बसाई सरेर जाने कुरा कठिन भए पनि सामान्य जस्तै हो । अवसरको खोजी, फरक हावापानी, फरक खानपान र फरक जीवनको स्वाद खोज्दै संसार भरका मानिस एक देशबाट अर्को देश जाने प्रक्रियालाई सामान्य रूपमा लिनु पर्छ भन्ने लाग्छ । अमेरिका जस्तो धनी र शक्तिशाली देशका हजारौँ नागरिक हरेक वर्ष देश छोडेर युरोप,अस्ट्रेलिया, क्यानडा,न्युजिलाण्ड जाने गर्छन्।
बसाई सराई रहरका लागि भए त सामान्य हो तर हामी नेपालीले हाल नेपालमा भइरहेको लर्को लागेर दिनको हजारौँको सङ्ख्यामा मानिसहरू परदेशिनु रहर नभई बाध्यात्मक भएको गुनासो गरिरहन्छौ । अहिले बाध्यता नभएको भए पनि भविष्य उज्ज्वल नहुने देखेर हिँडेको भन्ने पनि अधिकांशको भनाई सुन्न पाइन्छ ।
चिनियाँ अरबपति एवं मोटिभेशनल वक्ता ज्याक मा ले भनेका छन् जहाँ धेरै गुनासाहरू रहन्छन् त्यहाँ अवसर पनि त्यत्तिकै रहन्छ । तर नेपालमा कुनै सृजनशील मानिसले गुनासाहरूलाई अवसरमा बदल्न चाहिने हिम्मत, साधन र स्रोत जुटाउन सक्ने परिस्थिति अहिले सम्म बन्न सकेको देखिँदैन ।
त्यस कारण पनि हामी नेपालीका लागि बिदेसिनु एक मात्र विकल्प रहेको छ भन्न धक मान्नु पर्दैन । यो कुरा सत्य हो नेपालमा हामीले गर्ने गुनासा राजनीतिक अन्यौलताले र असक्षमताले सृजना गरेका गुनासा हुन ती गुनासा एउटा उद्योगपति वा कुनै पेसागत सृजनशीलता भएको नागरिकले अवसरमा परिणत गर्न सक्दैन ।
देश छोड्नु पहिले प्राय सबैले देश भित्रै सहज जीविकोपार्जनको निम्ति अनेकन् अवसरको खोजी गरेकै हुन्छ तर बिदेसिनु विकल्पहीन बाध्यता बनेको हो । यस क्रममा म पनि विद्यार्थी हुँदै बेलायत देखि हाल अमेरिका सम्म अवसर खोज्दै आएको हुँ। विदेश हिँडेपछि मानिसले सबैभन्दा पहिला अहङ्कार वा अहम्ता त्याग्दो रहेछ भन्ने ठुलो पाठ सिकेको छु । म के थिए? को थिए ? र को रहेछु ? भन्ने कुराको सांसारिक नै भए पनि बोध हुनु पनि एउटा ठुलो शिक्षा हुनुपर्छ भन्ने मलाई लाग्छ । हातमुख जोडने चुनौती चुनौतीहरूको शीर्ष स्थानमा पर्छ भन्ने त भोगेकै हो तर विदेशमा नेपालमा नसोचेको काम गर्नु पर्यो भन्ने कुराको अनुभव हर कोही सँग रहेको छ । यसलाई हामीले अहिले सभ्य भाषामा काम सबै बराबर हो हरेक कामको सम्मान गर्नु पर्छ भनेर भनिएको जस्तो लाग्छ ।
सन २००९ मा लन्डन टेकेको भोली पल्ट देखि कहाँ बस्ने, के काम गर्ने भन्ने चिन्ताले सताउन थालेको थियो। पहिलो एक हप्ता त कलेजले दिएको एउटा होस्टेल जस्तो घरमा बसियो तर कोठा आफै खोजेर सर्नु पर्ने थियो । कोही नेपालीसँग सम्पर्क थिएन नत कसैको फोन नम्बर थियो । नेपालमा मेरो घरकै नजिक छिमेकी दिदीकी भाइ बेलायतको केन्ट सहरमा बस्नु हुँदो रहेछ , नेपालबाटै उहाँको सम्पर्क नम्बर पाइयो । उहाँ सँग फोनमा कुराकानी भयो उहाँलाई पहिले रजहरमा दिदीको घरमा आउँदा देखेको थिए तर बोलेको थिइन । उहाँ त धेरै सहयोगी हुनुहुँदो रहेछ । केन्टबाट हामी दुई ( म र मेरो श्रीमती)लाई लिन लन्डनको साउथअलमा आउनु भयो । उहाँले आफ्नो गाडीमा हामीलाई पनि केन्ट स्थित आफ्नै घर लानु भयो ।
एक दिन उहाँको घरमा बसेर भोलीपल्ट हामी साउथअल आइयो । उहाँले हामीलाई मेरो कलेज नजिकै बस्ने केही नेपालीहरूको फोन नम्बर र ठेगाना दिनु भयो । ती मध्यका एकानालाई मैले फोन गरेर भाडामा दिन कोठा भएको नभएको सोधेँ । माग्दी बाट ब्रिटिस सेनामा भर्ती भई हङ्गकङ्गमा पेन्सन पकाएर लन्डन आई पुग्नु भएका वीर बहादुर पुन दाइले एउटै फोन कलमा डेराको जोहो गरिदिनु भयो ।
वेस्ट लन्डनको हन्स्लो स्थित विलिङ्गटन रोड साउथ स्थित वीर बहादुर दाइको घरमा डेरा गरी बस्न सुरु गरियो । आफ्नो ठेगानाको टुङ्गो लागे पछि कलेजले बैक एकाउन्ट, काम गर्ने अनुमतिको लागि ट्याक्समा दर्ता हुने नेशनल ईन्सुरेन्स कार्ड ( जसलाई अमेरिकामा सोसल सेक्युरिटी नम्बर भनिन्छ) र हस्पिटलमा नाम दर्ता गर्न चाहिने जी पी अर्थात् (जनरल प्राक्टिक्स) कार्डका लागि चिठ्ठी बनाइदिन्थ्यो ।
ती सबै काम सकिएको थियो । कलेजमा पढाई सुरु हुन केही दिन बाँकी थियो, त्यही फुर्सदको बेला पारेर काम खोज्ने कुरामा पनि सके सम्म जोड गरियो । काम के हो ? कसरी खोज्ने हो ? भन्ने पटक्कै थाहा थिएन । नेपालमा एउटा सामुदायिक रेडियोको समाचार प्रमुख र एउटा पत्रिकाको सम्पादक, त्यो पद र त्यो फाल्टु एकाङ्की आत्मसम्मानले घरी घरी च्वास्स घोचे जस्तो भइरहन्थ्यो ।
नेपालबाट ल्याएको दुई हजार पाउन्ड सकिनै लागेको थियो । कार्ड किनेर नेपाल फोन गर्दै दिनको २०-३० पाउन्ड सन्किने । पाँच पाउन्डको एउटा कलिङ्ग कार्ड पाँच मिनेट कुरा हुन्थ्यो । पैसो सक्किदै गएपछि श्रीमती आत्तिएर एक मिनेट कोठामा बस्न नदिने उज्यालो भएदेखि रात नपर्दा सम्म काम कै खोजीमा बुडाबुडी गल्लीमै भौँतारिएर कुदिन्थ्यो ।
हाम्रो दौडधुप र निराशा देखेर होला एक दिन मेरा घरबेटी दाइले काम खोज्न एजेन्सी जानु पर्ने भन्दै आफैले त्यहाँसम्म लगिदिनु भयो । लन्डनको फेल्थममा रहेको मेन पर्सनल भन्ने एजेन्सीमा कामको लागि फारम भरेर आइयो ।
एजेन्सीले एउटा फ़ोन नम्बर दिएको थियो त्यो नम्बरबाट बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म कति बेलै पनि फोन आउन सक्ने रहेछ । एक दिन बिहान फ़ोन आयो फोनमा एजेन्सीकी मेडमले नारायण काम गर्न रेडी छस् नि भनेर सोधिन । खुसीले उफ्रँदै आफू तयार रहेको बताए । उनले फेल्थमकै एउटा प्राइमरी स्कुलको ठेगाना दिँदै सो स्कुलमा १२ बजे अगाडी नै पुग्न सुझाव दिइन र फोन राखिन । खुसी हुँदै बाह्र बज्नु अगाडि नै म स्कुल पुगे, रिसेप्सनमा बस्नेलाई म कामको लागि आएको भनेर एजेन्सीले दिएको आइडी कार्ड पनि देखाए । रिसेप्सनिष्ट नानीले एउटा कोठामा लगेर केही बेर यही बस अहिले यो अगाडि ढोकाबाट कोही आएर तिमीलाई काममा लान्छ भनेर गइन ।
बाह्र बजेपछि मलाई भित्र बोलाइयो, काम रहेछ स्कुले केटाकेटीले स्कुलमा खाना खाएका भाँडा माझ्ने । आफूले घरबाट लगाएर गएका कपडा उतारेर, सेतो गाउन माथि निलो वाटर प्रुफ गाउन र हातमा कुम सम्म आई पुग्ने लामो रबरको पन्जा लगाएर पहिलो दिन चार पाँच सय भाँडा माझेर सगरमाथाको चुचुरो मै पुगेको आभासमा हर्षोल्लास गर्दै कोठामा गइयो ।
त्यसरी सुरु भएको भाँडा माझ्ने र स्कुलका कक्षाकोठा सफा गर्ने काम गर्दै पश्चिम लन्डनका एक दर्जनबढी स्कुल पुगियो । स्कुलको काममा नवोलाईएका बेला कसैले बारीका ऐसेलुका काडाघारी सफा गर्न बोलाउँथे। कलेज नभएका बेला र एजेन्सीले नबोलाएका दिन घर बनाउने मा ठाँउमा सिमेन्ट र इँटा बोकेका अनुभव पनि ताजै छन् । कामको अभावमा बाँच्न सक्ने गरी संघर्ष गर्दै जादँ आफूलाई अलिअलि चिन्न थालेको आभास हुन्थ्यो ।
काम के गर्ने के नगर्ने भन्ने कुराको सीमा रेखा भत्के पछि बाँच्न अल्लि सजिलो भयो । केही समय पछि स्कुलका भाँडा छोडेर होटेलका भाँडा तिर पनि लागियो । एउटा डिग्री सकिए पछि कहिले कम्पनीमा त कहिले ठुलो ठुलो स्टोरका वेयर हाउसमा सजिला राम्रै काम पनि पाइयो । तर बुझाई र भोगाइमा तुलना गर्दा विदेश जान नपरेका र नेपालमै बसेका मेरा त्यहाँका सहपाठी र सहकर्मी मित्रलाई यी कुरा सजिलै पचाउन गाह्रै हुन्छ होला भन्ने लागिरहन्छ ।
म सँगै पढ्न लन्डन जानु भएका चितवन भरतपुरका एक जना मित्रले त नेपालबाट पटक पटक पैसाको दुखेसो गर्दै फ़ोन गर्ने एक जना आफन्तलाई नारायणगढ बजारमा गएर होटेलतिर भाँडा माझ्ने काम सोध्न सुझाव नै दिनु भएको थियो । पढ्न विदेश गएका विद्यार्थीले भाँडा माझेर पढ्न सक्ने, पढ्न हुने र त्यसरी कमाएको पैसा आफन्त सम्झेर पठाइदिए हुन्थ्यो भन्नेले नेपालमै चाहिँ किन भाँडा माझ्न नहुने ? भन्ने प्रश्नको उत्तर को सँग छ त ।