मित्र वारेन शेलीलाई सम्झँदा-भाग २
२०५३ सालको चैत्र महिना पछि वारेन सँग मेरो सम्पर्क पुरै स्थगित भयो हामी एक अर्कामा बेखबर भयौ । जीवन सङ्घर्षको दौडधुप र आरोह अवरोहमा मनका संम्बन्धहरु पनि धुमिल हुँदै गए । मैले पनि उनी सँग टुटेको सम्पर्क फेरि जोडिएला भनेर कल्पना सम्म गर्न सकिन । मैले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा बिए पढ्दै थिए । पढाई सकेर कामको खोजीमै जीवन रनभुल्लमा थियो । पत्रकारिता पेसा अपनाएर १२-१३ वर्ष यसैको दौडधुपमा लागियो । त्यस्तो सुमधुर र गाढा वारेन र मेरा मित्रताका गाँठाहरू समयको घर्षणमा पेलिएर हराउनै लगेको अवस्थामा पुगे । मेरो अमेरिका जाने सपना, रहर र उत्तेजना बालुवामा पानी हराए झैँ हराएको थियो ।
एक दिन पढाइकै सिलसिलामा म अमेरिका होइन बेलायत जाने साइत जुर्यो । २०६६ साल असारमा म अध्ययनका लागि बेलायत पुगे । त्यहाँ पढ्दै काम गर्दै गर्दा गर्दै पाँच वर्ष बितिसकेको थियो । घरी घरी वारेन सँग नेपालमा बिताएका दिनका सम्झनाहरू मनभरि तरङ्गित हुन आउँथे तर उनलाई फेला पार्ने कुनै सूत्र फेला पार्न सकिरहेको थिइन ।
मैले नेपालमा हुँदा बेलाबेला पठाएका पत्रको जबाफ नआएपछि उनी सम्पर्कबाट बाहिर रहेको अनुभव गरेको थिए । बेलायतको व्यस्त जीवनमा उनलाई खोज्न सकिने कुनै तरिका थाहा पाउन मलाई ५ वर्ष लाग्यो । सन २०१४ अर्थात् विक्रम सम्बत २०७१ सालमा म मा वारेनलाई पुन फेला पार्ने एउटा अठोट जाग्यो । वारेनलाई खोज्ने कुन तरिका प्रभावकारी हुन्छ भनी मैले धेरै सोच्न थाले। वारेनले मलाई उनका परिवारका अरू सदस्यका बारेमा पनि केही सूचनाहरू दिएका थिए । उनका हजुरबा पनि थिए उनलाई पनि मैले सम्झना स्वरूप उति बेला मेरो हजुरबाले भजन कीर्तन गर्दा बजाउने एउटा मृदुगां (मादल) वारेन सँगै दिएर पठाएको थिए । वारेनका पिता किमवेल मार्क शेली क्यालिफोर्निया राज्यको वेल फ्लावर सहरमा प्रहरी अफिसर थिए । मलाई उनले दिएर छोडेका सूचनाहरूका आधारमा मैले उनको परिवारको ठेगाना खोज्न थालेको थिए ।
सन २०१४ को मध्यतिर मैले गुगलबाट वारेनका बाबुआमा बस्ने घरको ठेगाना फेला पारे। तर संयोग त्यति बेला वारेन चाहिँ अमेरिकाको हवाई राज्यमा बस्दा रहेछन् त्यो कुरा उनीसँग सम्पर्क भईसके पछि उनले बताएका थिए । मैले फेला पारेको वारेनको बाबाआमाको ठेगानामा मैले मेरो फ़ोन नम्बर फेसबुक आइडी, इमेल आइडी सबै राखेर एउटा हाते चिठी लेखेर पठाए । त्यसको करिब दस दिन पछि मलाई अमेरिकाको नम्बरबाट अचानक फ़ोन आयो । मैले फ़ोन उठाएँ । कसैले हे ! नारायण ! भन्यो । म त त्यही चिर परिचित स्वरलाई जबाफ दिँदै वारेन ! भन्दै चिच्याउन थाले । त्यसरी हराएको एउटा मित्र १८ वर्ष पछि एक्कासि भेटिए । उनी सँग फोनमा भेटिए पछि उनले मेरो चिठ्ठी फेला पारेको रमाइलो कथा सुनाए ।
कामको सिलसिलामा परिवार सहित हवाईमा बस्दै आएका वारेन मैले पठाएको चिठ्ठी उनको बाआमाको घर पुगेकै दिन उनी पनि बाआमा भेट्न त्यहाँ पुगेका रहेछन् । त्यो संयोग पनि मलाई हराएका वारेन फेला पार्ने कोसे ढुङ्गो नै लाग्यो । उनले मेरो हातले लेखेको पत्र नपढीकनै म सँग सम्पर्क भएकोमा खुसी जनाएको बताए । त्यसपछि हरेक दिन उनको र मेरो कुरा हुन थाल्यो । हामी ई-मेल र फेसबुकमा पनि जोडियौ । उनी म सँग मात्र होइन मेरा छोराछोरीहरू पनि गफिन थाले त्यस्तै कहिले काही उनकी श्रीमती अलेक्सा पनि कुराकानीमा सहभागी हुन्थिन ।
पढाइको सिलसिलामा लन्डनमा बसिरहेको मलाई अमेरिका आउन उनले फेरि उत्प्रेरित गर्न थाले । हरेक पटकको कुराकानीमा उनले मलाई बिदा मिलेको बेला अमेरिका घुम्न आउन सुझाए । हुन त मेरो परिवार अमेरिकामा स्थायी बसोबास गरिरहेको केही समय भइसकेको थियो । यस क्रममा मैले परिवारमा आधारित ग्रिन कार्ड पनि केही वर्ष पहिल्यै फाइल गरिसकेको थिए । त्यस कारण अमेरिकाको भिजिट भिसा पाउने सम्भावना अलि कम थियो । तर वारेनले निकै जोड गरेकोले मैले भिजिट भिसाको लागि निवेदन दिए र भिसा पाए । सन २०१५ को फेब्रुअरीमा म मेरो परिवार र लामो समय सम्पर्क विहीन भएका मेरा मित्र वारेन शेलीलाई भेट्न अमेरिका आए । मेरो परिवारको स्थायी बसोबास टेक्ससमा थियो र उनी पनि हवाईबाट स्थायी रूपमै वासिङ्टन राज्यको पोर्ट टाउनसेण्डमा सरि सकेका थिए ।
म टेक्ससबाट फेब्रुअरीको दोस्रो साताको अन्त्यतिर उनलाई भेट्न वासिङ्टन पुग्दा सियाटलको एयरपोर्टमा वारेन मलाई लिन आएका थिए । म मेरो सामान लिएर एयरपोर्टबाट बाहिर निस्कने बित्तिकै मुख्य द्वारमै वारेन सँग भेट भयो । साँझको बेला थियो, चिसो मौसम, अग्ला, कान ढाक्ने टोपी र लामो कालो ज्याकेट लगाएका वारेनले मलाई मुलगेटमा नै ग्वाम्म अँगालो हाले । यो भेट हाम्रो लागि ऐतिहासिक थियो , एउटा मित्रताको अनुपम र कपोलकल्पित लाग्ने तर वास्तविकतामा बदलिएको एउटा सपना थियो । यो विचित्र थियो । अल्लारेमै साटेको त्यो मित्रता, जीवनको कुनै कालखण्डमा कुनै अज्ञात ठाउँमा भेट्ने भन्ने त्यो सपना त्यही वास्तविकतामा परिणत भएको थियो । हामी दुवै औधी खुसी भइयो ।
एयरपोर्ट देखि उनको घर सम्म जाने त्यो यात्रा र ठाउँको भौगोलिक सुन्दरता कालजयी सम्झना बनेर मेरो मानसपटलमा रहेको छ । हामी एयरपोर्टबाट निस्केर केही बेर रेलमा चढेर यात्रा गरेपछि त्यो रेल उत्तरी अमेरिकाको प्रशान्त महासागरको एउटा कुनामा रोकियो । हामी रेलबाट उत्रेर प्रशान्त महासागरको एउटा भङ्गगालो तर्न एउटा बडेमानको पानी जहाजमा चढेर बस्यौ। पानी जहाजमा झन्डै ४५ मिनेट यात्रा गरेपछि हामी एउटा घना जङ्गलको घाँसमा रहेको सानो गाउँ पुगियो । रात परेको बेला भए पनि जताततै बत्तीको सुविधा हुँदा गाउँ र सडकमा देखिएका दृश्य निकै रमाइलो लागिरहेको थियो।
वारेनले आफ्नो गाडी त्यही समुन्द्रको किनारमा पार्किङ गरेर राखेका रहेछन् । हामी त्यहाँबाट करिब डेढ घण्टा समुन्द्रको किनार हुँदै उत्तरी गाउँ तर्फ हानियौ । त्यो ठाउँ अमेरिका र क्यानडाको सिमानामा नजिकै पर्ने प्रशान्त महासागरको काखमा रहेको असाध्यै रमाइलो गाऊ पोर्ट टाउनसेण्ड रहेछ । त्यही गाउँमा रहेको घरमा उनका तिन केटाकेटी र उनकी श्रीमती अलेक्सा सँग वारेन बस्दा रहेछन् । म उनको परिवार सँग घुलमिल हुँदै बच्चाहरू सँग खेल्दै , जङ्गल र समुन्द्री किनारका रमणीय दृश्य हेर्दै दुई दिन त्यही बिताए ।
वारेनले म सँगको त्यो भेटमा करिब १८ वर्ष अघि घुमेको नेपाल र उनी बसेको नवलपरासीको रजहरको सम्झना गरे । उनले आफ्नो नेपाल भ्रमण र त्यति बेला कैद गरेका तस्बिर एउटा ठुलो टिभीमा देखाए । उनले त्यो बेला खिचेको मेरो परिवारको तस्बिर, ढाका टोपी, मैले दिएको मादल, काठमाडौँमा किनेको काठमाडौँ लेखेको टिसर्ट सबै देखाए । यस्तो लाग्थ्यो वारेन नेपाल र नेपालीलाई असाध्यै माया गर्ने एक अमेरिकी युवक हुन जसको प्रत्येक श्वासमा नेपाल तरङ्गित बनेर अङ्गभङ्ग पुग्दथ्यो । उनले नेपालमा संग्रह गरेका चिनो र तस्बिरहरू राखेर एउटा सानो सङ्ग्रहालय बनाएका थिए ।
यति मात्र होइन नेपाली भाषामा दोहोरो संम्बाद गर्न नसक्ने वारेन सुर ताल मिलाई मिलाई नेपाल गीत गाउँथे र आफ्ना रैथाने अमेरिकी साथीहरूलाई नेपाली भाषाका गीत गाउन सिकाउँथे । उनको छेउमा पुग्ने र उनको त्यो नेपाल प्रतिको असाध्य प्रेमको अनुभूत गर्न सक्ने हर कोही नेपाली भावविभोर भएर अनायास अश्रु धारा बगाउन सक्थे। नेपाल प्रति उनका सम्झनाहरूलाई उनले यति जतन गरेकोमा म छक्क परेको थिए। उनले आफू फेरि नेपाल जान चाहेको बताए ।
वारेन सँगको मेरो दुई दिनको बसाई असाध्यै छोटो हो तर मुस्किलले तिन हप्ताको हिउँदे बिदा मिलाएर आएको मलाई मेरो परिवार सँग पनि दुईचार दिन बिताउनु थियो। उनले मलाई अर्को पटक गर्मी महिनामा आउन र समुन्द्री मार्ग हुँदै अलास्का सम्म जानु पर्ने रमाइलो यात्रा योजना सुनाए । मैले उनको त्यो योजनालाई शिरोधार्य गर्दै टेक्सस फर्कन झोला कसेँ । उनले मलाई त्यही रमाइलो दृश्यका बिच पानी जहाज चढ्ने समुन्द्री किनार सम्म ल्याएर छोडे । झोलाबाट एउटा नक्सा निकाल्दै त्यहाँदेखि एयरपोर्ट सम्म पुग्ने मार्ग समेत सुझाएर छोडे । हामी फेरि छिट्टै भेटेर लामो र रमाइलो यात्रा गर्ने सहमति गरेर छुट्टियौ । म एयरपोर्ट तिर फर्कन पानी जहाजमा चढे । म चढेको पानी जहाजको यात्रा सुरु नहुँदा सम्म किनारमा बसेर टोलाई रहेका वारेन पानी जहाज हिँडेपछि हात हल्लाउँदै आफ्नो बाटो लागे।
मेरो कान्छो भाइ , जेठान दाइ र कान्छो अङ्कलको परिवार टेक्ससको राजधानी अस्टिनमा बस्नुहुन्थ्यो । म वासिङ्टनबाट अस्टिन फर्के पछि तिन दिन परिवार सँग बसेर लन्डन फर्के । म फर्के पछि मेरो परिवारले पनि अमेरिका घुम्न जाने रहर गरे ।
संयोग नै भनौँ म पनि लन्डन छोडेर सपरिवार टेक्सस नै आएँ । मित्र वारेन सँग प्रायः हरेक दिन सन्चो बिसन्चो जानकारी लिने छोटो कुराकानी भई रहन्थ्यो । एक दिन अचानक सन २०१९ को अन्त्यतिर वारेनले आँफु बिरामी भएको बताए तर उनलाई के भएको थियो उनले कहिल्यै बताएनन् । उनी कहिले अस्पतालमा भएको बताउँथे र जीवन देखि निराश भएको कुरा गर्थे । मैले उनलाई चाडै निको हुने र हामी सँगै नेपाल जानु पर्ने कुरा गर्थे ।
बिरामीले थलिएका वारेनले रंग रमाइलोका जोसिला कुरा गर्न छोडेका थिए । उनको स्वस्थमा सुधार भएको कुरा उनले त्यसपछि कहिल्यै गरेनन् । थलिएर बिस्तारामा परेका वारेनले उनीसँग भेट्न आइरहने आफ्ना साथी सँग पनि उ बेला उनी नेपाल घुमेका ती रमाइला दिनका कथा आफ्ना साथीहरूलाई सुनाउने गरेको कुरा मलाई लेखेर पठाउने गर्थे । २०१९ को डिसेम्बर २० गते साँझ म काममै थिए, मेसेन्जरमा वारेनको दुई वटा भ्वाईस मेसेज आयो ।
मैले सुने वारेन र उनका साथी लुकास मिलेर “रेशम फिरिरि रेशम फिरिरि , उडेर जाँउकि डाढैमा भन्ज्याङ रेशम फिरिरि………भन्ने गीत स्वर मिलाई मिलाई गाएर मलाई पठाएका रहेछन् । मलाई रमाइलो लाग्यो ।उनको स्वरमा गाएर पठाएका यो गीत मेरो मोबाइलमा अझै सुन्न सकिन्छ । वारेनले मलाई एक जना लुकास नामका उनको मन मिल्ने साथी रहेको र उनले अलिअलि नेपाली भाषा जानेको पनि भ्वाईस मेसेजमै पठाए थिए ।
उनले फेरि एउटा म्यासेज लेखेर उनले नेपाल घुमेको र उनी र म नेपाल देखिको साथी भएको भनी लुकास सँग कुरा गरेको बताए । उनले मलाई लुकास अब मेरो उनी जस्तै मन मिल्ने साथी हुन सक्ने सङ्केत गरेका थिए । त्यसपछि वारेन सँगै दुई हप्ता जति कुनै संवाद भएन । २०२० को जनवरी को तिन गते साँझ वारेनकी श्रीमती अलेक्साले वारेनकै मेसेन्जरबाट एउटा मेसेज मलाई पठाइन त्यसमा लेखिएको थियो । “नारायण मलाई थाहा छ तिमी र वारेनले एक अर्कालाई निकै माया गर्थ्यौ । म तिमी र वारेन बिचको पारिवारिक मित्रताको सम्बन्धको म जानकार थिए त्यसैले तिमीलाई मैले यो भन्नु पर्छ कि वारेन अब यो दुनियाँमा छैनन् ।उनले २८ डिसेम्बर २०१९ मा यो संसार छोडेर गए।”
म झसङ्गै भए । मेरा हात खुट्टा सेलाए । म अवाक् भए । नेपाल र नेपालीलाई हृदय देखि माया गर्ने एउटा असल मित्रले सदाको निम्ति छाडेर गए जसले मलाई नेपाल देखि लन्डन सम्म मेरो मित्रताको लहरो तान्दै अमेरिका आउन सधैँ उत्प्रेरित गरेका थिए । बुढ्यौलीमा घर र मन जोडेर बसौला भन्ने मित्रले ४५ नपुग्दै यो दुनियाँ छाडेर गए । अहिले पनि जब रेशम फिरिरि भन्ने गीत सुन्छु उनै मन मित्र वारेनको सम्झना ताजा भएर आउँछ । मित्र वारेन प्रति श्रद्धा सुमन !
र यो पनि…
मित्र वारेन शेलीलाई सम्झँदा : नारायण भण्डारी