मित्र वारेन शेलीलाई सम्झँदा : नारायण भण्डारी
मित्र वारेन शेली सँग मेरो सामान्य चिनजान २०५३ साल अर्थात् सन १९९६ को साउन भदौ तिर नवलपरासीको रजहरमै भएको थियो । पातलो अग्लो शरीर, हँसिलो अनुहार र मन परेको मानिस सँग मन खोलेरै कुरा गर्ने स्वभाव भएका वारेन म सँगको पहिलो भेटमै खुला पुस्तक भएर प्रस्तुत भएका थिए। म पनि २०-२२ को अल्लारे नै थिए ।
अमेरिका देखि आएका करिब १६ वर्ष देखि १९ वर्ष समूहका करिब २०- २५ जना युवा युवतीको समूहमा थिए वारेन । थीन अन्तर्राष्ट्रिय मिशन (Teen International mission) द्वारा अमेरिकाका विभिन्न राज्यहरूमा स्कुलमा पढ्दै गरेका युवा युवती नेपालमा चर्च निर्माणमा स्वैच्छिक श्रमदान गर्न र नेपाल घुम्न आएको वारेनले बताए ।
मैले वारेनलाई भेट्दा उनी रजहरको एउटा निर्माणाधीन चर्चको बाहिरको पर्खाल लगाउन जमिन सफा गरिरहेका थिए । घरी रुख बिरुवाका जरा उखेल्ने, घरी खाडल खन्ने घरी ढुङ्गा बोक्ने काम उनले आफ्ना साथीहरू सँग मिलेर गरिरहेका हुन्थे । रहर लाग्दो गरी काम गरिरहेका उनको छेउमा गएर मैले केही बोल्ने प्रयास गरे । उनले पनि साथ दिए । मैले उनको नाम सोधे उनले भने “वारेन शेली”। मैले पनि मेरो नाम उनलाई बताए । मैले अंग्रेज़ी साहित्यमा पि बि शेलीको नाम प्रशस्तै सुनेको थिए । उनको नामले पनि मलाई उनी प्रतिको आकर्षण बढायो । कुनै टाढाको देश परदेश देखि आएका उनी पनि म सँग खुलेर बोल्न थाले ।
वारेनको टोलीमा उनीहरूका शिक्षकहरू पनि थिए । त्यो मिसनमा आएको उनीहरूको टोली रजहर बजार देखि केही माथि राजमार्ग सँगैको एउटा ठुलो घरमा आश्रय लिएर बसेका थिए । अत्यधिक गर्मी, लामखुट्टेको टोकाई उस्तै , प्रदूषित पिउने पानी उनीहरूका लागि निकै ठुलो चुनौती बनेको थियो । अधिकांश युवकहरू घर बाहिर टेन्ट हालेर टेन्टमै सुत्ने गर्दथे ।
उनीहरूको समूह एउटा कडा अनुशासनको नियममा थियो । उनीहरूका शिक्षक र ग्रुप लिडरले अनुमति नदिँदा सम्म उनीहरू कसैसँग लामो कुराकानी गर्न फाउँदैन थिए । तर संयोग नै मान्नु पर्छ ऊनीहरूका शिक्षक र ग्रुप लिडरहरूले वारेन र मेरो भेट र नियमित कुराकानीमा कुनै अवरोध गरेनन् । दिनभर काममा खटिने उनीहरू साँझ बिहान टेन्टमै हुन्थे ।
वारेन सँग परिचय भएपछि म प्रायः हरेक दिन साँझ उनलाई भेट्न उनी बसेको ठाउँमा गई रहन्थे । चर्चमा काम नभएको बेला उनीहरू रजहर बाहिर पनि गइरहन्थे । करिब तिन महिना लामो वारेनको रजहर बसाइमा हाम्रो भेट बाक्लै भएको थियो र एक अर्कालाई कहिल्यै बिर्सन नसकिने गरी आत्मीयता साटासाट भएको थियो ।
वारेन र म २०१५ मा वासिङ्टन राज्यमा
तराईको तेज गर्मी, फोहर पानी र लामखुट्टेको टोकाइले उनीहरूको दैनिक जीवनलाई तहसनहस नै पारेको थियो । बिरामी परेर त्यो समूहका एक जना शिक्षक उपचारलागि भरतपुर अस्पताल लादा लादै बिते । त्यसपछि यी अमेरिकी शिक्षक र विद्यार्थीको समूहमा एक किसिमको त्रास नै फैलियो। यसै क्रममा मेरा मित्र वारेन पनि बिरामी परे ।
गर्मीले केही खान मन नलाग्ने र दिनभर टेन्ट भित्र सुत्नु पर्दा वारेन निकै कमजोर भएका थिए । यो बेला मैले उनलाई सकेको सेवा गरे । म सँग वारेनलाई बिहान देखि साँझ सम्म स्वतन्त्र रूपमा हिँड्ने अनुमति दिइएको थियो । उनी निको नहुँदा सम्म उनले मलाई दिनभर सँगै रहन अनुरोध गरे । म पनि समय मिल्यो कि उनी भएको ठाउँमा गइहाल्थे र हामी दुई दिनभर कुरा गरेर समय बिताउँथ्यौँ । म सँग हिँड्दै गर्दा उनी बोतलको पानी र ज्वरोको औषधि, कोक फेन्टा किनेर खाने गर्थे । भर्खर रोपेर हरियो भएको धान खेतको फाँट हेर्दै ऊनी म सँग मेरो घर वरिपरिका ठाउँमा आनन्दले घुमफिर गर्थ्यौ । यी सबै कुराले उनको र मेरो आत्मीय सम्बन्ध अति गहिरो गरी गाँसियो ।
उनी परिवारका एक्ला छोरा रहेछन् र एक जना दिदी रहिछन् । उनको बाबु क्यालिफोर्निया राज्यको वेलफेलर सहरको प्रहरी अधिकारी रहेछन् । बिरामी हुँदा आमाको साह्रै याद आएको र मैले उनलाई सहयोग गरेको हुँदा उनले मलाई परिवारका सदस्य जस्तो ठानेका थिए । घरी घरी उनी मलाई पनि अमेरिका बोलाउन आफ्ना बाबुआमा सँग अनुरोध गर्ने बत्ताउँथे ।
वारेनको समूह अमेरिका फर्कन करिब तिन हप्ता जति बाँकी थियो, उनले मलाई पासपोर्ट बनाएर ल्याउन अनुरोध गरे । मलाई त्यति बेला पासपोर्ट काहा बन्छ र कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । मैले घरमा सबै कुरा जानकारी गराए तर मेरो कुराको खासै सुनुवाइ भएन । पासपोर्ट त्यति बेला काठमाडौँ परराष्ट्र मन्त्रालयमा बन्दो रहेछ ।
घरमा साह्रै अनुरोध गरी मैले राजस्वका लागि दुई हजार रकम, चार प्रति फोटा र बाटा खर्च लिएर म पनि काठमाडौँ हिँडे । काठमाडौँ तिर सबै चिने जानेको सँग हार गुहार गरी मैले पनि पासपोर्ट बनाए । वारेनको टोली अमेरिका फर्कन रजहरबाट काठमाडौँ हिडनु अगाडि नै म पासपोर्ट लिएर आए । मैले उनलाई त्यसको फोटो कपि र आइए पास गरेको सर्टिफिकेटको फोटो कपि एकसाथ राखेर दिए । त्यसपछि ममा पनि अमेरिका जाने भोक र रहर दुवै जागेर आयो ।
काठमाडौँ फर्कनु अधि वारेनले मलाई उनको परिवारको फोटो, खाम सहितको चिठ्ठी लेख्ने पेपर र नेपाली हुलाक टिकट दिएर छोडेका थिए । वारेन काठमाडौँ फर्केपछि पनि म उनलाई भेट्न काठमाडौँ गए । उनी ललितपुरको सानेपा सम्झिखेल स्थित एक घरमा बसेका रहेछन् । त्यहाँ उनी सँग भेटेर केही बेर कुराकानी गरियो । छुट्टिने बेला दुवै आँखाबाट आशु झार्दै मेरो हात समातेर उनले छिट्टै भेट्ने वाचा गरे ।
त्यति बेला सामाजिक सञ्जालको अहिले जस्तो सुविधा थिएन । न म सँग इमेल र इन्टरनेटकै पहुँच थियो । उनी अमेरिका फर्कनु अघिको उनी सँगको अन्तिम भेट सकेर उनका सम्झना र यादहरू लिएर म नवलपरासी फर्के । उनी अमेरिका फर्के पछि मैले उनलाई केही हस्तलिखित पत्रहरू पठाए र उनले पठाएका दुईबाट पत्रहरू पाए । २०५३ सालको चैत्र मा उनले पठाएको अन्तिम पत्र पाए त्यसपछि हाम्रो पत्र सम्बन्ध पनि हुन छोड्यो ।
क्रमशः……..
र यो पनि
पत्रकारिताको हन्डर पछिको यो फरक जीवन : नारायण भण्डारी