हाई स्कुल शिक्षा अमेरिका भन्दा अस्ट्रेलिया राम्रो: कमल खनाल
कक्षा अपग्रेड र स्कुल परिवर्तन गर्ने समयमा विशेष गरी विद्यार्थीका अभिभावकहरूमा एक किसिमको बेचैनी बढ्छ। राम्रो स्कुलमा आफ्ना छोराछोरी पढाउने, स्कुल राम्रो खोज्ने सकेसम्म पायक पर्ने स्कुलमा पढाउने भन्ने विषयहरू मुख्य रूपले उठ्ने गर्छन्। त्यसमा पनि कतिपय केटाकेटीहरूको आफ्नो चाहना अनुसारको स्कुलमा जाने इच्छा हुन्छ।
अभिभावक र छोराछोरीहरूको दुवैको चाहना मेल खाने गरी स्कुलको खोजी राम्रो मानिन्छ। तर त्यो भन्दा पनि राम्रो पढाइ हुने स्कुलको खोजी अझ उपयुक्त मानिन्छ। अनुशासन सहितको शिक्षा र छोराछोरी असल बनुन् भन्ने चाहना कुन अभिभावकलाई हुँदैन र ? तर सोच्नु पर्ने कुरा के हो भने राम्रो विद्यालयमा छोरा छोरीलाई पढाउँदैमा सबै राम्रो हुन्छ भन्ने अभिभावकीय सोच पनि गलत हो।
राम्रो शिक्षाका लागि त्यस देशको शिक्षा नीति कसरी तयार गरिएको छ त्यो महत्त्वपूर्ण विषय हुने रहेछ। त्यसले नै निर्देश गर्नेगर्छ। विद्यालयको वातावरण,विद्यालयको व्यवस्थापन,शिक्षकको योग्यता र क्षमता, पढाइने विषयहरू ,विद्यालयले गराउने अतिरिक्त क्रियाकलाप र अभिभावकहरूको विद्यालय र विद्यार्थी प्रतिको निगरानी पनि विद्यालय मापनका आधार हुन।
तनिसाको कक्षा र स्कुल दुवै अपग्रेड गर्ने समय भएको थियो। त्यसैले अध्ययनका लागि राम्रो पढाइ हुने स्कुलको खोजीमा उनी थिइन। अस्ट्रेलियाको विद्यालय शिक्षा संसारकै राम्रोमा तेस्रोमा आउने रहेछ। अमेरिका र बेलायत पछिको रहेछ। यस पछि चौथोमा नेदरल्याण्ड आउँदो रहेछ। तनिसाको रोजाइ अस्ट्रेलियाको सिड्नी नजिकै रहेको वार बेल स्थित माउन्ट कारमेल क्याथोलिक स्कुल थियो। त्यसै स्कुलमा उनले मौका पाइन। स्कुल राम्रो,पठनपाठन राम्रो भएको हुनाले त्यो स्कुल उनले रोजेकी हुन। तर स्कुल रोज्दैमा पाइने कुरा थिएन। स्कुल प्रवेशका बारेमा तोकिएका प्रावधान पुरा गर्नु पर्ने थियो। उनले पुरा गरिन। तर क्याथोलिक विद्यार्थी बाहेक तीन जना मात्र नेपाली विद्यार्थीले त्यस विद्यालयमा प्रवेशको मौका पाएका थिए।
२९ नोभेम्बर २०२३ को अभिभावकीय अभिमुखीकरण कार्यक्रम मैले पनि सहभागी हुने मौका पाए। अभिभावकीय अभिमुखीकरण कार्यक्रम हेरे। अभिमुखीकरण कार्यक्रमले धेरै कुराहरू थाहा पाउने मौका मिल्यो।
स्कुलको प्रारम्भिक सूचना
स्कुलले अभिभावकीय अभिमुखीकरण कार्यक्रममा अभिभावक आउनु पूर्व नै घरमा पत्रमार्फत / इमेल मार्फत स्कुलमा पढाउने विषयहरू, लगाउने कपडाहरू आउने जाने यातायात र खानाका साथै अन्य गतिविधिका बारेमा पूर्व जानकारी गराउने रहेछ। त्यसै अनुसारको तयारी अभिभावकले गर्नु पर्ने रहेछ। स्कुलमा गरिने खेलकुद गतिविधि र सूचना प्रविधिको बारेमा समेत पढाइ हुने हुँदा त्यस अनुसारको तयारी पनि गर्नु पर्ने कुरा अभिभावकलाई पूर्व नै जानकारी गराइने रहेछ। भविष्यमा चाहिने कुराहरू र क्षतिकारबारेमा सचेत गराइँदो रहेछ। पूर्व सूचना मार्फत अभिभावकलाई दायित्व बोध गराइने रहेछ। बिद्यार्थीलाई पनि पूर्व तयारीका लागि एक महिना अगावै अभिमुखीकरण दिइने रहेछ। विद्यार्थीले स्कुल प्रवेश अगाडि गर्नु पर्ने तयारिका लागि स्कुलले प्रशस्त समय दिने रहेछ।
स्कुलमा तह निर्धारण
विद्यालय शिक्षाको तह निर्धारण ठाउँ अनुसार र देश अनुसार फरक,फरक हुने रहेछ। अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, स्वीजरल्याण्ड, डेनमार्क, जर्मनी लगायतका युरोपियन देशहरू जापान, कोरिया र चिन लगायतका एसियन देशहरू र मध्यपूर्व देशहरू इजरायल, यूनाइटेड अरब इमिरेट्समा त्यस देशको शैक्षिक नीतिले हाई स्कुल स्तरको शिक्षा कस्तो दिने, कसरी स्तर निर्धारण गर्ने भन्ने निर्देश गर्दो रहेछ।
प्री प्राइमरी, प्राइमरी र सेकेन्डरी स्कुलमा कति उमेरका केटाकेटीले कुन ग्रेडमा पढ्न पाउने र कति ग्रेड देखि प्राइमरीमा र कति ग्रेड देखि सेकेन्डरी र हाई स्कुलमा भनेर तोकिएको हुने रहेछ । यसरी नै देशअनुसार स्कुलहरूमा फरक फरक किसिमको सिकाइको माध्यम हुने रहेछ। जस्तै अस्ट्रेलियामा सात देखि १२ कक्षा सम्मलाई हाई स्कुल तह भनिने रहेछ भने अमेरिकामा ९ देखि १२ सम्मलाई हाई स्कुल तह भनिने रहेछ।
नेदरल्याण्डमा ग्रेड आठ देखि सेकेन्डरी तह भनिने रहेछ। पढाउने विषयहरू भने उस्तै उस्तै हुने रहेछ भने पढाउने माध्यम भने फरक फरक हुने रहेछ। अर्थात् आफ्नो देशको उद्देश्य पूर्तिका लागि त्यही अनुसारको गोल निर्धारण गरिएको हुने रहेछ। बजेट विनियोजन देखि नै प्राथमिकताका आधार उद्देश्य स्पष्ट गरिने रहेछ। कुन तहलाई बढी लक्षित गर्ने, कुन तहसम्म निःशुल्क शिक्षा दिने र कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने विषय देशको आवश्यकता अनुसार हुने रहेछ।
सम्पन्न देशका शिक्षा नीति र प्राथमिकता
संसारमा राम्रो शिक्षा प्रणाली भएका देशहरूमा अमेरिका पहिलोमा छ जसको ७८.२ भने बेलायत दोस्रो जसको ७२ र अस्ट्रेलिया तेस्रोमा ७०.५ र चौथोमा नेदरल्याणड ७०.३ शैक्षिक इन्डेक्स भएका देशमा पर्ने रहेछ। तर २०२२ को शैक्षिक सूचकांकमा भने अमेरिका, बेलायत र अस्ट्रेलिया जस्ता मुलुकहरूको शैक्षिक स्तर तल झरेको देखाएको छ। अमेरिकाको स्तर १०औ स्थान भित्र पनि पर्न सकेको छैन। २०२२ को शैक्षिक सूचकांकले निर्धारण गरेको अवस्था यस्तो छ।
१ आइसल्यान्ड- ०.९३८
२ जर्मनी – ०.९१७
३ न्यु जिल्यान्ड – ०.९१४
४ नर्वे – ०.९१२
५ डेनमार्क – ०.९०९
६ फिनल्यान्ड – ०.९०७
७ स्वीजरल्यान्ड- ०.९०२
८ यूनाइटेड किंगडम – ०.९०१
९ स्लोभेनिया – ०.८९८
१० अस्ट्रेलिया – ०.८९६ रहेका छन्।
यसरी हेर्दा युरोपले दिने शिक्षा ठुला र सम्पन्न मुलुकको भन्दा माथि देखिन्छ। तर आफ्नो देशको प्राथमिकताका आधारमा दिइने सेकेन्डरी शिक्षामा भने देहायका देशहरूले विभिन्न पक्षमा जोड दिएको पाइन्छ।
विद्यालय स्तरको शिक्षामा प्राथमिकता के के मा दिने भन्ने विषयमा कोरियाको आफ्नै सोच छ।
कोरियाको शैक्षिक क्षेत्रको प्राथमिकता अन्य देशहरूको भन्दा फरक छ। कोरियाले कडा परिश्रम गर्ने बानिको विकासमा जोड दिएको छ। जसले गर्दा विद्यार्थीमा आफै पढ्नुपर्छ, अध्ययन गर्नु पर्छ ,शैक्षिक ज्ञान,योग्यता र क्षमता बढाउनु पर्छ भन्ने बानिको विकास गर्ने शिक्षा नीति अपनाइएको पाइन्छ।
जापानले प्राविधिक शिक्षाको विधि अपनाएको छ। प्री स्कुल र प्राइमरी स्कुललाई प्राथमिकता दिएको छ र नैतिक शिक्षामा जोड दिएको छ।
सिंगापुरले २१औ शताब्दीलाई ध्यानमा राखेर शिक्षा नीति लागु गरेको छ। उसको प्राथमिकता गणित र विज्ञान छ। कौशल र मूल्यहरू, आत्म जागरूकता, सम्बन्ध कौशल, व्यवस्थापन, जिम्मेवारी र निर्णय लिनेमा जोड दिइन्छ। परीक्षालाई प्राथमिकतामा राखेको छैन।
हङ्गकङ्गको शैक्षिक नीति परीक्षा केन्द्रित छ। विद्यार्थीको शैक्षिक विकास गर्न परीक्षा प्रणालीले सहयोग पुर्याउछ भन्नेछ।
यस्तै फिनल्यान्डको शैक्षिक नीति शिक्षक केन्द्रित छ। विद्यार्थीको सफलता शिक्षकको योग्यतामा निर्भर हुन्छ। स्कुलमा हुने अतिरिक्त क्रियाकलाप जसले बिद्यार्थीलाइ पारदर्शी बनाउँछ। यसले नवीनता र स्वचालनलाई समर्थन गर्दछ। शिक्षकको गुणस्तर भएन भने स्कुल गएर मात्र केही हुँदैन भन्ने रहेको छ।
क्यानडाले अंग्रेजी र फ्रेन्च भाषालाई अनिवार्य प्राथमिकतामा राखेको छ। त्यहाँ सम्बन्धित राज्यलाई नै आफ्नो अनुकूलको शिक्षा प्रणाली तयार गर्ने र लागु गर्ने अधिकार दिइएको छ। प्राथमिक देखि माध्यमिक सम्म प्रवेश गर्दा परीक्षा दिइरहनु पर्दैन। तर शैक्षिक पाठ्यक्रमको उद्देश्य सीप सिक्ने, साक्षरता र भाषा ,समस्या समाधान, मानवीय सम्बन्ध र प्राविधिमा जोड दिएको पाइन्छ।
जर्मनीले आफ्नो शैक्षिक प्रणालीमा पूर्व विद्यालय शिक्षा अनिवार्य गरेको छैन तर पूर्व प्राथमिक र माध्यमिक शिक्षालाई अनिवार्य बनाइएको छ। विद्यार्थीहरूले फरक फरक विद्यालयमा गएर विद्यालय अनुसारको शिक्षा लिने काम गर्छन्।
अस्ट्रेलियाले विज्ञान , गणित र संगितमा जोड दिएको पाइन्छ भने अमेरिकन शिक्षा नीतिले भाषा, साक्षरता,प्राकृतिक विज्ञान, समाज विज्ञान, गणित र स्वास्थ्य विज्ञानमा जोड दिएको छ। यसरी हेर्दा कुनै पनि देशले आफ्नो प्राथमिकता तोकेर शिक्षा नीति तयार गर्ने रहेछन् भन्ने बुझिन्छ। इथियोपिया र सुडान जस्ता मुलुकले पनि आफ्नो प्राथमिकता बाहेक गणित, विज्ञान र प्राविधिमा जोड दिएको पाइन्छ। तर शैक्षिक स्तर राम्रो देखिँदैन। यद्यपि प्राथमिक शिक्षा भने निःशुल्क गरेको देखिन्छ।
शिक्षाको स्तर राम्रो भएका देशहरू दक्षिण कोरिया,जापान,सिङ्गापुर, हङ्गकङ्ग,फिनल्यान्ड, संयुक्त अधिराज्य, क्यानडा, जर्मनी,अमेरिका र अस्ट्रेलिया पर्ने रहेछन् । कडा र कठिन शिक्षा नीति अवलम्बन गर्ने देशहरूमा दक्षिण कोरिया, जापान, सिंगापुर, हंगकंग र फिनल्यान्ड पर्दा रहेछन्।
संसारका राम्रो शिक्षा दिने देशहरूमा स्विडेन,फ्रान्स,डेनमार्क,क्यानडा,जर्मनी, स्वीजरल्याण्ड, जापान, इजरायल,फिनल्यान्ड ताइवान,सिंगापुर,स्लोभेनिया,साउथ कोरिया,नर्वे,बेल्जियम, यूनाइटेड अरब इमिरेट्स र चीन पर्ने रहेछन्।
शिक्षालाई सर्वसुलभ बनाउन, साक्षरताको दर वृद्धि गर्न ,शिक्षामा प्रतिस्पर्धा होस र गुणस्तरबृद्धि होस भन्ने उद्देश्यले नीजि क्षेत्रलाई पनि शिक्षामा लगानी गर्ने वातावरण तयार गरिएको र प्राथमिकता दिइएको पाइन्छ। आज संसार भर सरकारी र सार्वजनीक स्कुलहरू सञ्चालनमा छन्। अभिभावकको रोजाइ अनुसारको स्कुलमा आफ्ना छोराछोरी पढाउन सक्ने व्यवस्थालाई पनि सम्मान गरिएको छ। सरकारी स्कुलहरूमा हाई स्कुल सम्मको शिक्षा निःशुल्क भए पनि पब्लिक स्कुलहरूले स-शुल्क शिक्षालाई प्राथमिकता दिएका छन्। तर पनि कतिपय अभिभावकहरू स-शुल्क शिक्षामा विश्वास गर्छन्।
अस्ट्रेलियामा पनि क्याथोलिक र इनडिपेन्डेन्ट स्कुलहरूले एटेन्डेन्स फी लिने गरेका छन्। कतिपय यस्ता स्कुलहरूमा कस्ट्रक्सनको लेवी पनि तिर्नु पर्ने हुदोरहेछ। तर अस्ट्रेलियाका सरकारी र गैह्र सरकारी स्कुलहरूमा एउटै किसिमको पाठ्यक्रम लागु र पालना गर्नु पर्ने हुन्छ।
सन् १८७२ मा पहिलो पटक निःशुल्क र अनिवार्य शिक्षा लागु गरियो। ६ देखि १५ वर्ष उमेरका बालबालिकाहरूलाई कारण सहितको अनुपस्थिति बाहेक स्कुल जानुपर्ने अनिवार्य गरियो। लेबर पार्टीका तत्कलिन प्रधानमन्त्रीले १९८६ अगस्ट देखि क्याथोलिक र इनडिपेन्डेन्ट स्कुलहरूमा पढ्ने विद्यार्थीहरु दुई सय ५० डलर शुल्क लिन पाउने अधिकार स्कुललाई दिएका थिए। आजसम्म पनि सरकारी स्कुलहरूमा नि: शुल्क शिक्षा दिए पनि क्याथोलिक र इनडिपेनडेन्ट स्कुलहरूमा शुल्क संरचना तोकिएको छ प्राथमिक देखि माध्यामिक शिक्षा सम्म। तर पनि अधिकांस अभिभावकहरू क्याथोलिक र इन्डिपेन्डेन्ट स्कुलमा नै छोरा छोरीहरूलाइ पढाउन मन पराउछन्।
अष्ट्रेलियन शिक्षा सन् २०२२ को शैक्षिक सूचकांकमा पनि संसारकै राम्रो शिक्षा नीति भएको राम्रो शैक्षिक प्रतिफल दिने १०औ स्थानमा परेको देखिन्छ। २०२२ भन्दा अगाडि एक नम्बरमा रहेको अमेरिकाको माध्यमिक शिक्षा सूचकांक निक्कै तल पुगेको देखिन्छ भने अस्ट्रेलियाले आफूलाइ शिर्ष दश भित्र राख्न सफल भएको देखिन्छ। यसरी हेर्दा अस्ट्रेलिया लगायतका संसार भरका मुलुकहरूका अभिभावकहरूले राम्रो स्कुललाई प्राथमिकतामा राख्नु र शैक्षिक प्रतिस्पर्धामा राम्रा रहेका स्कुलमा पढाउन चाहने अभिभावक र पढ्न चाहने छोराछोरीहरूको रोजाइलाइ पनि स्वभाविक मान्नु पर्ने हुन्छ।
कमल खनाल,अस्ट्रेलिया बाट
र यो पनि…