अमेरिकाको पेन्सिल्भेनियामा मनाइयो छठ
एक्सटन / अमेरिकाको पेन्सिल्भेनियामा पनि नेपाली चाड छठ धूमधामका साथ मनाइएको छ।
‘लोक आस्था र विश्वासको पर्व छठ’ स्वदेशमा जस्तै गरी विदेशमा पनि हर्सोउल्लासका साथ मनाइएको हो। पेन्सल्भेनियामा रहेका नेपालीले एक्सटनमा जम्मा भएर छठ मनाएका हुन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान अध्यक्ष तथा मधेसी एसोसिएसन अमेरिकाका प्रवक्ता सुभाष कुमार बैठाको निजी निवासमा सामूहिक रूपमा छठ मनाइएको हो।
बैठाले विगत आठ वर्ष देखि आसपासमा रहेका सबैलाई निम्ता दिएर निरन्तर छठ मनाउँदै आएका छन्।
आफ्नो रीतिरिवाज, संस्कार, परम्परालाई भावी पुस्ता लाई सिकाउने र आसपासमा रहेका नेपालीहरूलाई भेटघाट गराउने उद्देश्यले आफूले सामूहिक रूपमा छठ मनाउँदै आएको बैठाको भनाई छ।
आफ्नो निवासमा हुने छठ पूजामा झन्डै दुई सय जना उपस्थित हुने गरेको बैठाले बताए।
छठको रौनक आउने गरी घर सजाइएको थियो। घर अगाडि पाल टाँगेर पूजाको लागि विशेष व्यवस्था गरिएको थियो। यसै गरी स्थानका लागि कृत्रिम तलाउ बनाइएको थियो।
ब्रतालुलाई चिसोबाट जोगाउन हिटर र आगोको व्यवस्था गरिएको थियो।
आइतार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको थियो।
सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिएको थियो।
व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ मधेस प्रदेश लगायत मैथली समाजको ठुलो पर्व हो। तर छठ अव तराई र मैथली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ ।