अमेरिकी कलेजमा लक्ष्मीपूजा र देउसी भैलो

ह्यारिसबर्ग / अमेरिकाको प्रख्यात कलेज मध्येको एक पेन स्टेट ह्यारिसबर्गमा तिहार मनाइएको छ।
अघिल्लो साता कलेज भित्रै विधिवत् लक्ष्मीपूजा गर्नुका साथै नेपाली र नेपाली भाषी विद्यार्थीले देउसी भैलो समेत खेलेका थिए।
पेन स्टेट ह्यारिसबर्ष क्याम्पस अन्तर्गत इन्टरनेश्नल अफिस, नेपाली एसोसिएसन क्लब र वी देसीले संयुक्त रूपमा दीपावली तथा तिहार मनाएका हुन्।
गुरु पुरोहितले विधिवत् रूपमा मन्त्रोच्चारण गर्दै लक्ष्मी पूजा गरेका थियो। हलमा उपस्थित सबै विद्यार्थी लक्ष्मी पूजामा सहभागी भएका थिए।
त्यस पछि विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। यस्तै रात्रि भोजको पनि आयोजना गरिएको थियो।
पेन स्टेट ह्यारिसबर्ग कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्था नेपाली एसोसिएसन क्लबका अध्यक्ष भीम भट्टराईका अनुसार सो कलेजमा दुई सय भन्दा बढी नेपाली र नेपाली भाषी विद्यार्थी अध्ययनरत छन्।
भट्टराईका अनुसार यस अगाडि दीपावली मात्र मनाउँदै आइएकोमा पहिलो पटक दीपावली तथा तिहार भनेर कलेजले नै औपचारिक रूपमा कार्यक्रम राखेको हो।