एनआरएनएभित्र केसी र शर्मा समूहको ‘पत्रयुद्ध’ [विज्ञप्तिसहित]
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएभित्र पछिल्लो समय विज्ञप्ति युद्ध चर्किएको छ । गत महाधिवेशनमा मतदानको नतिजा घोषणा क्रममा भएको गम्भिर त्रुटी पछि समानान्तर समिति गठन गरेको आरके शर्मा – बुद्धि सुवेदी समूह र आफुलाई विजयी दावी गरिरहेको डा. बद्री केसी समूहबीच प्रेस विज्ञप्ति जारी गर्ने होडवाजी नै चलेको छ ।
जसलाई पछिल्लो समय एनआरएनएभित्रको ‘पत्र युद्ध’को रुपमा चर्चा गर्न थालिएको छ । एनआरएन सचिवालयमै तिहार अगाडि हात हालाहाल भए पछि पछिल्लो समय दुई समूहबीच त्यसरी जम्काभेट नभए पनि पत्रमार्फत एकले अर्कालाई चेतावनी दिने काम भने गरिरहेका छन् ।
मंगलबार वद्री समूहमा प्रवक्ता फणिन्द्र पन्तले प्रकाशित गरेको विज्ञप्तिमा गत १९ अक्टोबर २०२३ ( ३ कार्तिक २०८०) मा काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा उत्पन्न परिस्थिति र त्यसपछिका विभिन्न आयामहरुबारे यहाँहरुलाई अवगत नै रहेको बताउँदै छानविनका लागि पटक पटक निर्वाचनका निकटतम प्रतिस्पर्धीद्धय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा केशव पौडेललाई पहिलो पटक मिति २१ अक्टोवर २०२३ मा र दोस्रो पटक २७ अक्टोबर २०२३ मा पत्राचार गरिएको र हालसम्म पनि कुनै जवाफ नआएकोले अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ (४ मंसिर २०८०) मा पुनः पत्राचार गरिएको जानकारी गरिएको उल्लेख छ ।
निर्वाचनको मतपरिणामलाई लिएर उठेका सवाल सम्बोधनका लागि तत् समय नै अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी ) ५ दिन (२४ नोभेम्बर २०२३) भित्र सो सम्बन्धि प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषण सहितको स्वतन्त्र आईटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिनका लागि अनुरोध गरिएको । यसैगरी २४ नोभेम्बर भित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिटको व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेरौं वद्री समूहका प्रवक्ता फणिन्द्र पन्तले प्रकाशित गरेको विज्ञप्ति
तर, आरके शर्मा समूहले भने यो वद्री केसी समूहको विज्ञप्तिलाई चुनौती दिँदै कुनै पनि प्रस्ताव मान्न तयार छैन । समूहका अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर सुवेदीले बुधबार एक विज्ञप्ति प्रकाशित गरेर आफ्ना धारणाहरु सार्वजनिक गरेका छन् ।
४ वटा बुँदामा धारणाहरु सार्वजनिक गर्दै यही नोभेम्वर २१, २०२३ मा गैरआवासीय नेपाली संघको प्रवक्ताको नामवाट जारी विज्ञप्ती हास्यास्पद भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा नोभेम्वर २४ तारिख पछि एकलौटी ढंगले आफू अनुकूलको कथित अन्तरराष्ट्रिय छानविन समिति बनाइ गत १९ अक्टोबर २०२३ मा अनलाइन माध्यमबाट गराइएको निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न खोजिएको स्पष्ट छ।
‘आफै बोक्सी आफै झांक्री’ हुन खोजिएको यस्तो प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं। जसको बारेमा गम्भीर आरोप लगाइएकोछ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ “नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने“ जस्तो हास्यास्पद शर्त सहितको छानविन समिति बनाउनका लागि पठाइएको पत्र घोर आपत्तिजनक रहेको शर्मा समूहले बताएको छ ।
हेरौं आरके शर्मा समूहले प्रकाशित गरेको विज्ञप्ति