अमेरिकामा न्यायिक प्रक्रियामा सामाजिक मान्यता:कमल खनाल

४० वर्षकी मिस मेन्सी (नाम परिवर्तन)। ४४ वर्षका मिस्टर एन्ड्रोभ्यान (नाम परिवर्तन) र अर्को २५ वर्षका मिस्टर ब्रोण्ड (नाम परिवर्तन) छन्। तिनै जना एउटै घरमा भेट हुन्छन् मिस मेन्सी र एन्ड्रोभ्यान ड्रगको कारोबारी हुन भने मिस्टर ब्रोण्ड गाँजाको अम्मली हो। तीनै जना एउटै घरमा भेट हुने संयोग मेन्सीले गरेकी हुन्छे। मेन्सीले दुवै जनालाई चिन्छे तर केटाहरूबिच एक आपसमा चिनजान छैन। तर समयले तीन जनालाई नै विपत्तिमा पुर्यायो। समयले विपत्ति भन्दा अर्को उपहार केही दिन सकेन ।
अमेरिकामा हतियार खरिद गर्ने अधिकार
अमेरिका यस्तो एउटा देश हो जहाँ आफ्ना नागरिकले बजारबाट हतियार खरिद गर्न पाउछन्। तर तोकिएको प्रक्रिया भने पुरा गर्नु पर्छ। खरिद कर्ताको डिटेल राखिन्छ र हतियार स्टोरबाट अर्थात् लाइसेन्स फायरआर्म डिलरबाट हतियार खरिद गर्न सकिन्छ। यद्यपि हतियारको दुरुपयोगका घटनाहरू बढ्दै गइरहेको सन्दर्भमा भने हतियारको उपयोग नीतिका बारेमा कंग्रेसमा समेत बहस प्रारम्भ भएको छ।
आत्मा रक्षाको अधिकार भनेको के हो?
अमेरिकामा आत्मरक्षाको विशेषाधिकारको सामान्य नियम के हो भने,एक व्यक्तिले अर्को व्यक्तिबाट अवैध र तत्काल हिंसाको स्पष्ट खतराबाट आफूलाई बचाउनको लागि उचित रूपमा आवश्यक देखिएमा त्यस्तो बल प्रयोग गर्न विशेषाधिकार प्राप्त गरेको अवस्थालाई आत्मरक्षाको अधिकार भनिन्छ।
कुनै पनि व्यक्तिलाई यो विश्वास हुनु पर्छ कि म माथि घातक बलको प्रयोग हुँदै छ यसबाट शारीरिक हानी वा मृत्युसम्म हुन सक्ने सम्भावना भएकोले यो प्रकोप रोक्न आवश्यक छ भन्ने लागेमा आत्मरक्षाको अधिकारको प्रयोग गर्न सकिनेछ। त्यति बेला आफ्नो सुरक्षाका लागि हतियार प्रयोग हुन सक्ने सम्मको अधिकार रहन्छ।
को हुन यिनीहरू ?
सिकागोमा (ठाउँ परिवर्तन) घर भएकी मिस मेन्सी विगत २० वर्ष देखि नर्थ क्यारोलाइना वेक काउन्टीमा फेथभिलरोड र्यालेमा बस्दै आएकी महिला हुन्। मिस्टर ब्रोन्ड मिस मेन्सीको छिमेकी हो उसको तौल एक सय २० पाउन्ड छ। मिस मेन्सी र मिस्टर एन्डो भ्यान अन एन्ड अफको रिलेसनमा हुन्छन्। उसको तौल एक सय ९० पाउन्ड छ।
मिस मेन्सी र मिस्टर एन्डोभ्यान दुवै लागु पदार्थ बेचबिखनमा संलग्न मानिस हुन। दुवैले ड्रग डिलरको काम गर्छन्। मिस्टर एन्डो भ्यान अरेन्ज (ठाउँ परिवर्तन) काउन्टीमा बस्ने मानिस हो। मिस्टर ब्रोन्ड,मिस मेन्सीलाई सपिङ गर्न सहयोग गर्ने मानिस हो। एक दिन मिस मेन्सीले मिस्टर ब्रोन्डलाई सपिङ गर्नका लागि बोलाउँछे।
सपिङ सकेर बेलुकाको चार बजे फुडल्याण्ड नजिक छोडेर मिस्टर ब्रोण्ड घर जान्छ। मिस मेन्सीको ब्याग ब्रोण्डको गाडीमा छुट्छ। त्यसै दिन रातिको ८.३० बजे ब्रोण्डलाई मेन्सीले फोन गर्छे र ब्याग छुटेछ भनेर सम्झाउँछे र भन्छे अहिले ल्याउँदा पनि हुन्छ भोलि ल्याउँदा पनि हुन्छ। तर ब्रोण्डले अहिले नै ल्याइ दिन्छु भनेर लिएर आउँछ। ब्रोण्ड त्यो रात त्यही नै सुत्छ। ब्रोण्ड गाँजाको अम्मली हो र रक्सी पनि पिउने गर्थ्यो। ब्रोन्ड सोफामा पल्टिन्छ र त्यही निदाउँछ । मिस मेन्सीले आफ्नो ड्रग पाट्नर मिस्टर भ्यानलाई बोलाउँछे। त्यो कुरा ब्रोण्डलाई थाहा हुँदैन। मिस्टर भ्यान केही समय भित्र आइ पुग्छ। मेन्सी र भ्यान दुवै ड्रग डिलर हुन।
घट्न कसरी घट्यो ?
मेन्सी आफ्नो कोठामा हुन्छे। केही समय पछि एन्डोभ्यान आइ पुग्छ। बाहिर गाडी देख्छ त्यस पछि उसमा रिसको पारो बढ्छ। आफ्नो अन एन्ड अफ गल्सफ्रेण्डसँगको बसिरहेको छ भन्ने कुराले उ रिसले मुरमुरिन्छ। ढोका खुलै हुन्छ र ढोका खोलेर एन्डोभ्यान मेन्सीको कोठामा पुग्छ र ब्याग राख्छ। उसको नजर सोफामा सुतिरहेको केटा माथि पर्छ।
एन्डोभ्यान रिसले आगो हुन्छ। ब्रोण्ड सोफामा सुतिरहेको हुन्छ। एन्डोभ्यानले ब्रोण्डको घाटीमा हातले समाउँछ र हुक लगाउँछ। ब्रोन्ड फुत्किन सक्दैन। ब्रोन्डले आफ्नो हात पकेटमा पुर्याउछ र ह्याण्ड गन निकालेर आँखाले नदेखे पनि गोली चलाउँछ । एन्डोभ्यानलाई तीन गोली लाग्छ । एण्डो भ्यान त्यही ढल्छ। एन्डोभ्यानलाई अगाडि एक र पछाडि दुई गोली लाग्छ।
त्यो घट्न प्रत्यक्ष देखेकी मिस मेन्सीले ९११ मा फोन गरेर पुलिसलाई बोलाउँछे। ब्रोन्डले आफ्नो आमालाई फोन गरेर आफू परिबन्धमा परेको बत्ताउँछ। एम्बुलेन्स र पुलिस तत्काल आइपुग्छन्। एन्डोभ्यानको तत्काल मृत्यु हुन्छ। पुलिसद्वारा घट्नाका बारेमा स्थलगत अनुसन्धान हुन्छ। फोटो लिन्छ र प्राप्त प्रमाण सहित ब्रोण्डलाई प्रहरीले पक्राउ गर्छ। एण्डोभ्यानलाई पुलिसले हस्पिटल पुर्याउछ। तर उसको मृत्यु भइसकेको हुन्छ। मिस मेन्सी त्यो घट्नाको जिउँदो साक्षी हुन्छे।
जुरी छनौट र जुरीको भूमिका के हुन्छ ?
हरेक दुई वर्षमा तीन सदस्सीय जुरी कमिसनले एउटा काउन्टीबाट मास्टर जुरीहरू नियुक्ति गर्छन्। जुन काउन्टीको केश हो त्यही काउन्टी भित्र बसोबास गर्ने दुई सय जनालाई जुरी छनौटका लागि पत्र मार्फत बोलाइन्छ। त्यस मध्येबाट केटा र केटी दुवै मध्ये बाट १४ जनालाई अन्तर्वार्ता मार्फत छनौट गरिन्छ। चौध जना मध्ये १२ जनालाई केश को सुनाइ सहितको फैसला गर्ने अधिकार दिइन्छ।
जुन काउन्टीबाट जुरी छनौट गर्नु पर्ने हो सोही काउन्टीले जुरीको छनौटका लागि डिस्ट्रिक्ट कोर्टलाई सहयोग गर्छ। जुरी छनौट हुन्छ र जजद्वारा जुरीहरूको नियुक्ति हुन्छ। नियुक्ति पश्चात् अपराध अनुसारको सजायका लागि हत्याका प्रकार र कस्तो हत्यामा कस्तो प्रकारको सजाय दिइन्छ सो बारेमा जजबाट जुरीहरूलाई सुनाइन्छ, देखाइन्छ र पढाइन्छ।
अर्थात् डिस्ट्रिक्ट कोर्टका जजले जुरीहरूलाई घट्नाको प्रकृति र कानुनको व्यवस्थाका बारेमा जानकारी गराइन्छ । त्यस पछि जजद्वारा केशको सुनुवाइका लागि खुला गरिन्छ। आवश्यकता अनुसार जुरीहरूलाई सुनुवाइमा राखिन्छ । सुनाइका लागि तोकिएका जुरीहरूद्वारा घट्नाको प्रकृति प्रमाण र सत्य तथ्य बुझ्ने विशेषज्ञहरूद्वारा भनिएका तर्क सुन्ने डिस्ट्रिक्ट एटर्नी र डिफेन्सिभ एटर्नीको बहस सुन्नुका साथै जिउँदा साक्षी सँग र घट्नामा संलग्न हुने व्यक्तिको कुरा सुनाइन्छ र पुलिसद्वारा घटनास्थलबाट ल्याइएका घट्नाका प्राप्त विवरणहरूको भिडियो देखाइन्छ।
प्रमाण ,बहस र साक्षी समेतबाट भनिएका विषयहरूको अध्ययन गर्छन्। अध्ययन पश्चात् घट्नाको सर्वसम्मत निर्णय सुनाउनु पर्ने हुन्छ। घट्नासँग सम्बन्धित व्यक्तिका आफन्तहरू र परिवारहरू कोर्टमा उपस्थित भइरहेका हुन्छन् । त्यस्तो परिस्थितिमा जुरीहरूले केशको अन्तिम फैसला गर्नै पर्ने हुन्छ।
जुरी छनौट र आधार के के हुन ?
केश जुन काउन्टीको हो सोही काउन्टी भित्र बसोबास गरेका ,समाजका विभिन्न क्षेत्रमा रहेर काम गरेका, जुनसुकै धर्ममा आस्था राख्ने व्यक्तिहरूबाट जुरी छनौट गर्न सकिने प्रावधान रहेको हुन्छ जस्तै – डाक्टर ,इन्जिनियर , मास्टर ,नर्स , ड्राइभर र सामान्य व्यक्तिहरूबाट पनि जुरीको छनौट गरिन्छ तर देहायका योग्यता भने भएको हुनु पर्छ।
– सम्बन्धित काउन्टीमा बसोबास गरेको हुनु पर्ने
– भोटर लिस्टमा नाम भएको हुनु पर्ने
– ड्राइभिङ लाइसेन्स भएको हुनु पर्ने
– केशका बारेमा पूर्व सूचना नभएको हुनु पर्ने
– जुरी छनौट हुने बिच नाता नपरेको हुनु पर्ने
– जुरीहरू एक अर्को बिच चिनजान नभएको हुनु पर्ने
– जुरीहरू एक अर्को छिमेकी नभएको हुनु पर्ने
– कुनै पनि क्राइममा संलग्न नभएको हुनु पर्ने
– भाषा प्रस्टसँग बुझ्न सक्ने हुनु पर्ने
– १८ वर्ष उमेर पुरा भएको हुनु पर्ने
– केटा र केटी दुबैबाट छनौट गर्नु पर्ने
– मानसिक र शारीरिक रूपमा तन्दुरुस्त भएको हुनु पर्ने
– दुई वर्ष भित्र जुरीको काम नगरेको हुनु पर्ने
– छ वर्ष भित्रको अवधिमा ग्राण्ड जुरी भएर काम नगरेको हुनु पर्ने।
कहिलेको घटना हो ?
घटना २०२१ अगस्ट को हो । जुन घट्नाका बारेमा धेरै पटक बहस पैरवी भइसकेको हुन्छ। तर मुद्दाको अन्तिम टुङ्गो लाग्न सकेको हुँदैन। मेजिस्ट्रेट कोर्टबाट मुद्दा हेर्न डिस्ट्रिक्ट कोर्टमा पठाइएको हुन्छ डिस्ट्रिक्ट कोर्टमा डिस्ट्रिक्ट एटर्नी र डिफेन्सिभ एटर्नी को बहस हुन्छ। डिस्ट्रिक्ट एटर्नीले घटनास्थलबाट बरामद गरिएका र देखिएका तत्थ प्रमाणहरू पेस गर्दै बहस प्रारम्भ गर्छन्। तर डिफेन्सिभ एटर्नीले ती सबै परिस्थितिजन्य घट्नाका उपज हुन भन्दै एटर्नी जनरलको बहसको प्रतिवाद गर्छन्। लामो बहस पछि पनि मुद्दा टुङ्गोमा पुग्न सक्दैन मुद्दा लम्बिन्छ।
ब्रोन्डले पनि कठघरामा उभिएर मैले बाँच्नका लागि डिफेन्सिभ अट्याक गरेको हुँ। मार्ने नियत होइन । मलाइ उसले घाटी च्यापेको थियो म फुत्किन सकिन मलाइ मार्ने उद्देश्यले घाटी च्यापेको थियो र मैले ह्याण्डगन चलाएको हुँ । डिफेन्सिभ लयरले यो केसलाई जुरीकोमा राख्न माग गर्छन् । जजले निर्णय लिदैनन र केसलाई जुरीकोमा पठाउन सहमति दिन्छन् ।
२०२३ सेप्टेम्बर २५ बाट बहस प्रारम्भ हुन्छ। डिस्ट्रिक्ट एटर्नी जनरले घटनाका तथ्य र सबुत प्रमाणहरू पेस गर्छन्। घटना स्थलको भिडियो देखाउँछन्। गन र गनको कार्टेज, गोली, मृतकको कपडा, घाइते लडिरहेको स्थान, गोली लागेका ठाउँहरू सबै भिडियो मार्फत प्रस्तुत गर्छन्।
डिफेन्सिभ एटर्नीले आत्म रक्षाका लागि गरिएको हुनाले ती प्रमाणहरूले काम नगर्ने जिकिर गर्छन्। ब्रोण्डले आत्म रक्षाका लागि गोली चलाएको हुँ भन्छ । ब्रोन्डले भन्छ कसले मलाइ समात्यो त्यो पनि थाहा छैन। किन मलाइ समातियो त्यो पनि थाहा छैन। म सुतिरहेको अवस्थामा मलाइ घाटी च्यापियो र हुक लगायो म उम्कन सकिन। मलाइ मार्न खोजिएको मैले बुझे र बाँच्नका लागि मैले गोली चलाएको हुँ। गोली कसरी चलाए त्यो पनि थाहा छैन भनेर बयान दिन्छ।
डिस्ट्रिक्ट एटर्नी र डिफेन्सिभ एटर्नीको बहस पछि कोर्टद्वारा फोरेन्सिक विशेषज्ञ, ३६ सय घट्नालाई नजिकबाट अध्ययन अनुसन्धान गरेका विशेषज्ञ डाक्टर, सुरक्षा विज्ञ, गन विशेषज्ञ समेतलाई बोलाइन्छ। पाँच दिन सम्म घट्नाका बारेमा जुरीहरूलाई सुनाइन्छ ।जुरीहरूले विशेषज्ञहरूबाट प्रस्तुत तर्कहरू सुन्छन् ,प्रमाण हेर्छन् । गल्ती कमजोरीका बारेमा बुझ्छन् ।
पाँचौँ दिनमा जुरीहरूले सहमति बनाउँछन् र अन्तिम फैसला जजलाई पेस गर्छन् । त्यो फैसला नै न्यायालयको अन्तिम फैसला हुन्छ। फैसलामा मत बाझिनु हुँदैन एक जनाको मात्र पनि फरक मत आयो भने मुद्दा लम्बिन्छ त्यसैले सबै जुरीहरूको मत सर्वसम्मत हुनु पर्छ। चाहे पक्षमा होस वा विपक्षमा त्यस पछि मात्र निर्णय हुन्छ।
हत्या भनेको के हो ?
एउटा व्यक्तिले अर्को व्यक्तिलाई पूर्वनियोजित किसिमले जानी जानी मारिने कार्यलाई हत्या भनिन्छ। जुन हत्यालाई अवैध मानिन्छ। हत्या भनेको एक व्यक्तिद्वारा अर्को व्यक्तिको हत्या हो। यो व्यापक शब्द हो जसमा कानुनी र गैर कानुनी दुवै हत्याहरू समावेश छन्। एक सिपाहीले युद्धमा अर्को सिपाहीलाई मार्न सक्छ, तर त्यो अपराध होइन।
हत्याका किसिम र सजाय कस्तो हुन्छ?
१, पहिलो स्तरको हत्या
पूर्वनिर्धारित, गैर कानुनी, अर्को व्यक्तिको जानाजानी हत्यालाई पहिलो डिग्रीको हत्या मानिन्छ। फर्स्ट डिग्रीको हत्या एक प्रकारको जघन्य अपराध सहितको हत्या हो। जुन हत्या भनेको “विशेष परिस्थितिहरू” सिर्जना गरेर गरिएको पहिलो दर्जाको हत्या हो। जसले अपराधलाई अझ गम्भीर बनाउँछ।
यस्ता घट्नामा संलग्न व्यक्तिहरूलाई २५ वर्ष देखि आजीवन कारावासको सजाय हुन सक्छ। वा मृत्युदण्ड दिन सकिने सम्मको सम्भावना रहन्छ।
२, दोस्रो स्तरको हत्या:
जानीजानी अन्य व्यक्तिको गैर कानुनी हत्या गरिन्छ तर कुनै पूर्व योजना बिना गरिने हत्यालाई दोस्रो दर्जाको हत्या भनिन्छ।
यस्तो हत्यामा संलग्न व्यक्तिलाई जतिसुकै वर्ष वा आजीवन कैद कारावास सम्मको सजाय हुनेछ
३, तेस्रो स्तरको हत्या
तेस्रो स्तरको हत्या भनेको कुनै पनि व्यक्तिलाई अनजानमा गरिने हत्या हो। यी घटनाहरूलाई हत्याभन्दा कम गम्भीर अपराधको रूपमा व्यवहार गरिन्छ। सबै प्रकारको हत्याको सजाय अधिकतम ४० वर्षसम्मको स्वविवेकी अधिकार रहन्छ। हत्यालाई स्वैच्छिक वा अनैच्छिक रूपमा वर्गीकृत
क – स्वैच्छिक हत्या
कुनै औचित्यविनाको हत्या भएको, व्यक्तिले आकस्मिक आवेगमा उत्तेजित भएर हत्या गरेको वा नियोजित लक्ष्यको कारणले गरेको हत्या .आत्मरक्षाका लागि अनुचित हत्या पनि समावेश छ। अधिकतम २० वर्ष कैद सजाय
ख-अनैच्छिक हत्या
लापरबाही वा घोर लापरबाही कार्यको परिणाम स्वरूप भएको हत्या। अधिकतम सजाय पाँच वर्ष छ।
निर्णय के भयो?
जुरीहरूले मिस मेन्सीको गवाइ सुन्छन्। मेन्सी उक्त घट्नाको जिउँदो साक्षी हो। यसरी नै हत्या गर्ने ब्रोन्डले आफै अदालतको कठघरामा उभिएर आफू निर्दोष भएको बयान दिन्छ। आफूलाई निर्दोष साबित गर्न खोजिरहन्छ। डिफेन्सिभ एटर्नी र अफेन्सिभ एर्टनिको दुवैको बहस सुनिसके पछि जुरीहरूको सर्वसम्मत निर्णय जजलाई बुझाउँछन्। दुई वर्ष देखि निर्णय हुन नसकेर लम्बिएको हत्या केशमा जसले हत्या गर्यो उसैले उन्मुक्ति पाएको निर्णय जजले सुनाउँछन् ।
कमल खनाल
तनहूँ, हाल नर्थ क्यारोलाइना
र यो पनि…
त्यस पछि डर म बाट भाग्यो: कमल खनाल