पत्रकारिताको हन्डर पछिको यो फरक जीवन : नारायण भण्डारी
समाचार लेखेर हातमुख जोडनै कठिन थियो । बाबु-आमा र श्रीमतीका सपनाका त के कुरा । ती सपना त कल्पना गर्दा गर्दै शून्यमा हराउँथे । माओवादीको बिधंसात्मक १० बर्से जनयुद्ध र त्यहाँ भएको प्रायः हरेक कहाली लाग्दा घटनाको आक्रान्त पिडाले निकै भावविह्लल बनाउँथ्यो । बाँचेर हिडन नै सकस
माओवादीको दश वर्षे युद्ध काल भरि मोफसलमा बसेर पत्रकारिता गर्ने हरेक सञ्चारकर्मीको हालत आधुनिक नेपालको पत्रकारिताको इतिहासमा सबैभन्दा पिडादायक कालखण्ड हुन । यसमा कसैले तर्क वितर्क गरिरहनु जरुरी छैन । विशुद्ध व्यावसायिक सञ्चारकर्मीको भूमिका निर्वाह गर्दा गर्दै पनि द्वन्द्व कालमा दर्जनौँ समाचारकर्मीले कठोर यातना सहँदै मृत्यु वरण गर्न पुगेका थिए ।
सेना प्रहरीको ज्यादतीको विरुद्ध समाचार प्रकाशित भए उनीहरूको नज़रामा माओवादीको ट्याग लगाइन्थ्यो माओवादीको ज्यादती विरुद्ध समाचार लेखे सेना प्रहरीको सुराकीको आरोप लगाइन्थ्यो ।
सत्यको धरातलमा टेकेर जनतालाई वास्तविकता बताउन ठुलो चुनौती थियो । ज्यान जोगाउनै गाह्रो थियो अहिले ती दिन सम्झँदा पनि शरीर सिरिङ्ग हुन्छ । मैले चितवनबाट प्रकाशित हुने पत्रिकामा समाचार लेख्दै गर्दा २०५७ सालमा काठमाडौँबाट स्पेसटाईम राष्ट्रिय दैनिक सुरु भयो । स्पेसटाईम राष्ट्रिय दैनिक सुरु भए सँगै यो पत्रिका बन्द नहुँदा सम्म नवलपरासी जिल्ला संवाददाताको रूपमा काम गर्ने अवसर मिल्यो । साथमा म नै कार्यकारी सम्पादक भएर नवलपरासीको कावासोतीबाट नवलपुर साप्ताहिक पनि केही समय प्रकाशन गरियो ।
देशमा सङ्कटकाल, हतियारको धारमा टेकेर मोफसलबाट लेखिएका समाचार र निराशाका बिच चर्को अभावमा बाचेको जिन्दगी भए पनि ती दिन सधैँ सम्झन र गर्व गर्न लायक दिनको रूपमा पनि लिन सकिन्छ । ती दिनहरू सम्झेर हेर्दा अहिले लाग्छ त्यस्तो विषम परिस्थिति अब नेपाल र नेपाली बिच कहिल्यै नआओस् ।
पत्रकारिता भित्रै रहेर तुलनात्मक रूपमा सहज जीवन र यसमा सफलता खोज्दा खोज्दै दशक बित्यो तैपनि देशमा राजनीतिक निकास र सबल व्यावसायिक पत्रकारिताको कुनै आसलाग्दो आधार फेला पार्न सकिएन । देशमा द्वन्द्व बिसाए लगत्तै मेरो पत्रकारिता पनि छापा माध्यमबाट रेडियो माध्यममा स्थानान्तरण भयो । देशमा एफएम रेडियो खुल्ने क्रम सुरु भएको थियो । २०६४ सालमा नवलपरासी जिल्लाको पहिलो सामुदायिक रेडियो विजय एफएममा समाचार प्रमुखको भूमिकामा मैले काम सुरु गरेँ । बाहिरबाट झट्ट हेर्दा रेडियोमा काम गर्नु आकर्षक देखिए पनि रेडियो आफै आर्थिक अभावले आक्रान्त रहेका हुने रहन्छन् भन्ने कुरा त्यहाँ गएपछि प्रस्ट अनुभव गरियो । तर पनि रेडियोले सानै स्रोत र साधनको भरमा पनि सकेसम्म स्तरीय सूचनाहरू समाचारको रूपमा प्रस्तुत गर्नु प्रशंसनीय काम नै मान्नु पर्दछ । देशमा बदलिएको राजनीतिक परिवेश, जनताका बदलिएका चाहानालाई सम्बोधन गर्दै रेडियोले निर्वाह गर्नु पर्ने भूमिका पनि जटिल हुँदै थियो ।
यस्तो लाग्न थाल्यो काठमाडौँ एकाध सञ्चार गृह बाहेक देशभरका सञ्चार कर्मीहरू र सञ्चार गृह सधैँ अभावमै गुज्रने छन् । मुलुकमा नयाँ परिवेशमा नयाँ व्यवस्था आएपनि माओवादीले देखाउने रवैयामा भने कत्ति कमी आएको थिएन । माओवादीको उद्दण्ड गतिविधिबारे समाचार प्रसारण हुँदा उनीहरू रेडियो स्टेसनमै आएर तोडफोडमा उत्रने र उनीहरूको विरोधमा समाचार नलेख्न चेतावनी पूर्ण धम्की दिने गर्थे ।
देशको राजनैतिक परिस्थिति परिवर्तन भए पनि पत्रकारको सुरक्षा र अधिकार सुनिश्चित हुने कुनै सङ्केत पाउन सकिएन । मेरा सहकर्मी मित्र बारा जिल्लाका पत्रकार वीरेन्द्र शाहलाई माओवादीले अपहरण गरी हत्या गरेपछि सञ्चार क्षेत्रप्रतिको मेरो आकर्षण र रहर बिसाउने टुङ्गोमै पुग्यो । त्यसमाथि उनीहरू विरुद्ध समाचार लेखे जे पनि हुने भन्दै माओवादीका धम्कीहरू आइरहन्थे ।
हिजोका दिनमा पत्रकारिता गर्ने हुटहुटी पूर्ण रहर र जानेको र पढेको पेसाले त्यही गर्नु पर्ने वाध्यात्मक परिस्थिति पछिल्लो समय परिवर्तन भएको महसुस हुन थालेको थियो । रेडियोमा काम सिक्न आउँदै गर्ने कैयौँ भाइबहिनीहरू अंग्रेज़ी भाषा कक्षा पनि लिइरहेका हुँदा रहेछन् । उनीहरूले मलाई पनि अंग्रेज़ी भाषा (IELTS) कक्षामा भर्ना भएर पढाई सुरु गर्न सुझाए । मैले पनि बिचार गर्ने सोच लिई रहेको थिए । अचानक मैले पनि रेडियोको जागिर छोडेर अंग्रेज़ी भाषा कक्षालाई निरन्तरता दिए । परीक्षा दिए , विदेश जान आवश्यक पर्ने नम्बर पनि प्राप्त भयो र प्रोसेस पनि सुरु गरे । नभन्दै २०६६ सालको असार महिनामा म र मेरी श्रीमती दुई बच्चाहरू मेरा बाबाआमाकै काखमा छोडेर थप अध्ययनका लागि बेलायतको राजधानी लन्डन सहर हानियौ ।
नेपालमा अभाव र तनावमा रहेको जीवन विदेश उडन पाउँदा कम्तीको फुरुङ्ग त थिएन । विदेशका समस्या र चुनौती आफ्ना लागि अज्ञात नै थिए तर जसरी हुन्छ छिटो भन्दा छिटो नेपाल छोड्नु पर्छ भने भावनाले ओतप्रोत भएको म भिसा हातमा आएको केही दिनै उड्ने भनेर तयारी सुरु गरेँ। भिसा आयो , टिकट काटियो, उडान पनि रमाइलो नै भयो । जब म चढेको जहाज लन्डनको हिथ्रो एयरपोर्टमा ओर्ल्यो मनभरि नयाँ संसार हेर्ने ठुलो कौतुहलता जागेर कति बेला बाहिर निस्कौँ जस्तो भयो ।
एयरपोर्टको इमिग्रेसनमा छाप लगाएर बाहिर निस्कँदै गर्दा अधि भर्खर जागृत कौतुहलता एक छिनमा पानी पानी भयो । झन्डै बिलखबन्दमा परेँ । कारण थियो मलाई लिन एयरपोर्टमा कोही आएको थिएन । न मैले चिनेको जानेको लन्डनमा कोही छन् न कोही आफन्त । अब बाहिर निस्केर कहाँ जाने कसरी जाने, नयाँ ठाउँ, नयाँ संसार, नयाँ तरिका ढङ्ग केही छैन ।
विदेश जाने हतारोले मैले नेपालमै गर्नु पर्ने काममा चुकेको रहेछु जस्तो लाग्यो । म हिडनु पहिले त मैले म पढ्ने कलेजलाई मेरो त्यहाँ आउने दिन, समय र उडान विवरणहरू खबर गर्नु पर्थ्यो तर गरिएन । म अब एयरपोर्ट बाहिर निस्केर कहाँ जाने, कलेज कता छ, रेलमा जाने कि बसमा, जाने कुन दिशा र कसरी जाने हो ? सबै प्रश्न मात्रै थपिए । श्रीमतीलाई केही बताएको छैन उनी त्यही बसेर रुन सुरु गर्न सक्छिन् ।
दोमन हुँदै एयरपोर्टको मुख्य भवन बाहिर आए । संयोग आफूलाई चाहिएको सूचना लिन प्रहरीको सहयोग लिन सकिने सूचना टाँसिएको ठाउँमा मेरा आँखा पुगे । बिहानको समय थियो प्रहरी विटमा एक महिला प्रहरी भित्र बसिरहेकी थिइन । मैले मेरो कलेजको ठेगाना देखाउँदै यस ठाउँमा कसरी जान सकिएला भनेर सोधेँ तर उनले मलाई बस स्टेसन तिर देखाउँदै कुनै एक बस ड्राइभरलाई सोध्न सुझाव दिइन । उनले त्यता केही बसहरू चल्ने तर रेलमा जान नपर्ने बताएपछि म बस स्टपतिर लागे ।
बसभित्र ड्राइभर एउटा कोठामा बसेका हुँदा रहेछन् बस चढेर भित्र गएर सोध्न डर लाग्यो । के गरौँ कसो गरौँ भइरह्यो । यत्तिकैमा एक भारतीय मुलुकी वृद्ध आमालाई देखेँ मैले उनी सँग मेरो कलेज र त्यता जाने बसको बारेमा सोधे, उनलाई त्यो लोकेसनको बारेमा पुरै जानकारी रहेछ ।
उनले मलाई १११ नम्बरको हिथ्रो एयरपोर्ट देखि किङ्गंस्टन सहर सम्म चल्ने त्यो बसको रुटमा मेरो कलेज रहेको बताइदिइन र त्यो बसको ड्राइभरलाई मलाई न्यु हेस्टन रोडमा झारिदिन सल्लाह दिइन । यसरी मैले सोध्दै र खोज्दै कलेज सम्म पुगे ।
कलेज भित्र पसेर विद्यार्थी सम्पर्क कक्षमा रहेकी एउटी गोरी नानीलाई म नेपालबाट आएको त्यो कलेजको विद्यार्थी भएको बताए तर उनले पत्याईनन । अनि मैले मेरो कलेजको भिसा नम्बर भएको पत्र र भिसा सहित पासपोर्ट देखाए त्यसपछि बल्ल मलाई चिनिन। त्यसपछि मेरो कहाँ बस्ने र के खाने भन्ने चिन्ताको जिम्मा कलेजले लियो ।यसरी मेरो नेपाल छोडेर अर्को देश पुगेर नयाँ जीवन सुरु गर्ने अध्याय त्यहीबाट सुरु भयो । हरि ॐ……..।
र यो पनि…
अपहरणबाट जोगिएको त्यो दिन: नारायण भण्डारी