जय नेपाल फाउन्डेसनको दसैँ तिहारको शुभकामना कार्यक्रम सम्पन्न
अमेरिका । सामाजिक सद्भाव, भाइचारा, आपसी एकता साथै धार्मिक र सांस्कृतिक महत्त्व बोकेका महान् चाड दसैँ र तिहारको उपलक्षमा जय नेपाल फाउन्डेसनले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जय नेपाल फाउन्डेसनका संस्थापक साथै केन्द्रीय अध्यक्ष डा यादव पण्डितको सभापतित्वमा गत आइतबार भर्चुअल रूपमा आयोजित कार्यक्रममा एसिया, अस्ट्रेलिया ,युरोप, अमेरिका महादेशका विभिन्न देशबाट आमन्त्रितहरू सहभागी रहेका थिए ।
उल्लास र उमङ्ग छर्ने महानचाड दसैँ र तिहारले नेपाल र विश्वभर छरिएर रहनु भएका नेपालीहरूमा सुख शान्ति, सम्बृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरियो । चाडपर्वले नेपालको पहिचान,सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई मजबुत गराउँदै आएका कारण यसका मौलिक र परम्परागत पक्षलाई जोगाइ राख्न सक्नु पर्ने कार्यक्रममा सहभागीहरूले धारणा राखेका थिए। अध्यक्ष डा यादव पण्डितलाई बधाई दिँदै उनको नेतृत्वमा गठन भएको फाउन्डेसन स्थापनाको उद्देश्य र लक्षमा सफलताका कामना समेत सहभागीले गरेका थिए।
सो अवसरमा अध्यक्ष डा पण्डितले फाउन्डेसन विधिवत् रूपमा स्थापना गरिएको जानकारी गराए । जय नेपाल फाउन्डेसनको नेपाल शाखा गठन साथै गत अक्टोबरबाट सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गरिएको छ । नेपालमा डा बद्री अर्यालको अध्यक्षतामा सचिव विजय अधिकारीले नेपालको जिम्मेवारी सम्हालेका छन्।
नेपालीहरूको राम्रो उपस्थिति रहेका सबै देशहरूमा शाखा गठन गर्ने तयारी भइरहेको र छिटै नै काम अगाडि बढ्ने अध्यक्ष डा पण्डितले बताए । प्रजातान्त्रिक विचार र सामाजिक भावना भएका व्यक्तिहरू एउटा साझा चौतारीमा बसेर विभिन्न मुद्धाहरुमा बिचार मन्थन, प्राज्ञिक छलफल र योजनाहरूमा ठोस काम गर्ने फाउन्डेसनको उद्देश्य रहेको छ ।
फाउन्डेसनको केन्द्रीय अध्यक्षमा डा यादव पण्डित र सचिवमा अग्नि चौलागाई छन्। संस्थाको विधान तयारी, दर्ताको काम सम्पन्न भइसकेको जनाइएको छ।
फाउन्डेसनको विस्तारको लागि विभिन्न देशमा भएका प्रतिनिधिहरूसँग सम्पर्क स्थापित गर्ने काम भइरहेको जनाइएको छ। यसै मेसोमा जय नेपाल फाउन्डेसनले नेपालीहरूको महानचाड दसैँ र तिहारको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।