तिहारमा अमेरिकामा पनि गाई पूजा गर्न पाइने
मेरील्याण्ड/ नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारमा अमेरिकामा पनि गाई पूजा गर्न पाइने भएको छ। मेरील्याण्डको हिन्दु बुद्ध मन्दिर तिहार गाई पूजाको व्यवस्थापन गरेको हो।
मन्दिर व्यवस्थापन समितिका सचिव तरुण पौडेलका अनुसार पर्वत समाज अमेरिकाको सहकार्यमा गाई पूजाको व्यवस्थापन गरिएको हो।
पौडेलका अनुसार नोभेम्बर १३ तारिख सोमबार औँसीका दिन दिउँसो १२ देखि साँझ पाँच बजे सम्म मन्दिर परिसरमा (12231 Harford Rd, Glen Arm, MD 21057) दुई वटा गाईका बाच्छी राखिने छ।
‘अमेरिकामा घर घरमा गाई पूजा गर्न कठिन हुने भएका भक्तजनको सुविधाका लागि हामीले यस पटक देखि मन्दिरमा एक दिन गाई ल्याउने व्यवस्था गरेका हौ।’ समाज टाइम्स सँग पौडेलले भने,’इच्छुक सबैले यहाँ आएर गाई पूजा गर्न सक्छन्।’
यसै गरी नोभेम्बर १२ तारिख आइतबार कुकुर तिहारको दिन पनि मन्दिरमा विशेष कार्यक्रम राखिएको पौडेलको भनाई छ। पौडेलका अनुसार व्यक्तिले घरमा पालेका कुकुरलाई मन्दिर ल्याइ विशेष पूजा गर्ने कार्यक्रम राखिएको छ।
‘यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुर तिहार को विशेष अवसरमा तपाई हामीले आ आफ्नो घरमा माया गरी पालेका कुकुरलाई मन्दिर परिसरमा ल्याई तिनीहरूको सम्मानमा विशेष पूजाआजा गरी टीका माला लगाई मिठो परिकारहरू खान दिएर यस पटकको कुकुर तिहार भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा इच्छुक परिवारको लागि हार्दिक निमन्त्रणा गर्दछौ।’ मन्दिरद्वारा जारी सूचनामा भनिएको छ।