देशले नचिनेकाहरूको हातमा सिरुपाते खुकुरी र राष्ट्रिय झन्डा
ह्यारिसबर्ग/ कार्यक्रममा सहभागी बालबालिका मध्ये अधिकांशले नेपालको माटो टेकेकै छैनन्। त्यसो त उनका अभिभावक सँग पनि नेपाली हुँ भन्ने सरकारी कागजात छैन। तर पनि ती बालबालिकाहरू हातमा सिरुपाते खुकुरी र राष्ट्रिय झन्डा बोकेर भन्दै छन् नेपाली, नेपाली हामी नेपाली।
यो दृश्य नोभेम्बर चार तारिख शनिवार दिउसो ह्यारिसबर्गको वुड सेन्टमा रहेको सस्केहान्ना टाउनसिप मिडिल स्कुलको सभा हलको हो।
ब्लुमिङ लोटस डान्स स्टुडियोले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रमको शुभारम्भ नै मङ्गल धुनबाट गरियो। त्यस पछि देउसी भैलीको धुन बज्यो। कार्यक्रमका हरेक प्रस्तुति र हलमा सहभागी अनुहार भेष भूषा हेर्दा यिनी नेपाली होइनन् भन्नु पर्ने कुनै कारण थिएन।
तर त्यो हलमा रहेका अधिकांश व्यक्ति देश नचिनेका मान्छे थिए। देशले नदेखेका मान्छे, देशले माया नगर्ने मान्छे, अझ भनौँ देशले आफ्नो नसम्झिएका मान्छे।
विभिन्न बहानामा उनीहरूका पुर्खाहरूलाई देशले धकेल्यौ, माटोको सुगन्ध लिनै दिएन। देशले चिनेन अझ भनौँ चिन्नै चाहेन। विभिन्न हन्डर खाँदै अहिले सात समुन्द्र पारी छन्। तर पनि पल पलमा भन्दै छन् नेपाली,नेपाली, हामी नेपाली।
उनीहरू नेपाली भाषी भुटानी अमेरिकी। उनीहरूको सन्देश छ ‘भूगोल बदलियो होला तर हाम्रो संस्कृति बदलिदैन्। जहाँ बसे पनि यो मन नेपाली नै हो।’
नेपालमा गाउँ घर देखि नै धर्म र संस्कृति अतिक्रमणमा परेका खबरहरू बेला बेलामा सार्वजनिक भइरहेको बेला विदेशमा त्यसको संरक्षणमा ब्लुमिङ लोट्स डान्स स्टुडियो जुटेको हो।
खासमा स्टुडियोको काम ह्यारिसबर्ग आसपासमा रहेकाहरूलाई नृत्य सिकाउने हो। तर उसले नाच मात्र सिकाएको छैन। नयाँ पुस्तालाई नेपालको इतिहास पनि सम्झाउने गरेको छ। नेपाली भाषा र भेषभुषा पनि सिकाउने गरेको छ। अमेरिकामा जन्मिएकाहरूलाई नेपाल चिनाउने गरेको छ।
दुई दिदी बहिनी दुर्गा पोखरेल र निरु सिवाकोटीले दुई वर्ष अगाडि सन् २०२१ मा यो स्टुडियो खोलेका हुन्। निरुका अनुसार उनी नेपालको शरणार्थी शिविरमा जन्मिएकी हुन्। उनीकी दिदीको जन्म भुटानमा भएको हो।
उनीहरूको स्टुडियोमा अहिले एक सय २० जना विद्यार्थी छन्। शनिवार हरेकले प्रस्तुति दिए। सबैको प्रस्तुतिमा नेपाली पन थियो।
सबैका प्रस्तुति राम्रा थिए । दुर्गा र निरुको परिकल्पनामा तयार भएको ‘देशले बिर्सिएका हामी’ गीति कथा उत्कृष्ट थियो। नेपाली भेष भूषा, हातमा सिरुपाते खुकुरी र राष्ट्रिय झन्डा बोकेका बालबालिकाहरूले आफ्नो जिम्मेवारी बेजोड सँग पुरा गरेका थिए।
नेपाली भाषी भुटानी अमेरिकनको कथा। पुर्खाका कुरा। माटोका कुरा। देशले माया नगरेका कुरा। पुर्खाहरू भुटान जाँदाका कुरा, भुटानी शासकले लखेटेका कुरा। सिउँदो पुछिएका कुरा, काख रित्तिएका कुरा, आफ्नै पुर्खाको देशले नचिनेका कुरा। देशले माया नगरे पनि देशलाई चिनाउनेहरूका कुरा।
जम्मा आठ मिनेटमा उनीहरूले समग्र इतिहास बोली दिए नृत्य मार्फत।
‘समुदायका लागि सांस्कृतिक कार्यक्रम गरेका हौँ।’ समाज टाइम्ससँगको कुराकानीमा निरुले भनिन्,’हाम्रो जरो नेपाल नै हो भन्ने बालबालिकालाई चिनाउने प्रयास गरेका हौ।’
निरुका अनुसार बालबालिकालाई नेपाल र नेपालीपन चिनाउने उपयुक्त थलो नृत्य हो। ‘हाम्रो स्टुडियोमा आउने बालबालिका सुरुमा घरमा नेपाली बोल्नै नमान्ने थिए। जब जब नेपाली गीतमा नृत्य सिक्दै गए, नेपाली भाषा मात्र होइन नेपाल प्रति नै उनीहरूको आकर्षण बढ्दै गएको छ।’ उनी आफ्नो अनुभव सुनाउँछिन्।
‘हामी विभाजित छैनौ, नेपाली नै हौ, भुटानी भनेर ट्याग लगाउन पाइँदैन भन्ने पनि हाम्रो सन्देश हो।’ निरु भन्छिन्,’ दोस्रो हाम्रा बालबालिकामा हाम्रो संस्कृति र परम्परालाई कसरी बचाएर राख्ने भन्ने पनि हो।’
‘नृत्यले नेपाली भाषा सिकाएको छ, नेपाली कला, संस्कृति र परम्परा सिकाएको छ, अमेरिकामा जन्मिएका बालकालकालाई।’ निरुको अनुभव छ,’स्टुडियोका विद्यार्थीहरूले घरमा गएर पनि सोही गीत बजाउँछन् त्यसले अभिभावकलाई पनि खुसी बनाएको छ।’
‘हामी व्यवसाय मात्र होइन सिङ्गो नेपाल दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा छौ।’ निरु थप्छिन्, देशले नचिने पनि हामी देश चिनाउन छोड्दैनौ।’
देशले बिर्सिएका मान्छे हामी
देशले नदेखेका मान्छे हामी
देशले माया गर्न नजानेका हामी
देशले आफ्नो नसम्झिएका हामी
भूगोल बदलियो तर हाम्रो संस्कृति बदलिदैन्
जहाँ बसे पनि यो मन नेपाली हो।