विश्वकप क्रिकेट पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
चेन्नाई । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेट गुमाएर पूरा गरेको हो ।
निकै दबाबकाबिच केशव महाराज र ताब्रियास शाम्सीले ११ रनको नटआउट साझेदारी गर्दै दक्षिण अफ्रिकालाई जीतसम्म डोर्याएका हुन् । टोलीका लागि एइडेन मारक्रमले सर्वाधिक ९१ रन रन बनाए । उनले ९३ बल खेल्दै ७ चौका र ३ छक्का हिर्काए । त्यस्तै, डेभिड मिलरले २९ रन तथा कप्तान तेम्बा बाभुमाले २८ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाएर तब्रायाज शाम्सीको बलमा आउट भए । शकिलले ५२ बलमा ५२ रन बनाए ।
पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । शादाब खानले ४३ रन तथा मोहम्मद रिजवानले ३१ रन बनाउँदा मोहम्मद नवाजले २४ रनको योगदान दिए । उस्मा मिरले भने ब्याटिङ नै गरेनन् । दक्षिण अफ्रिकाका लागि शाम्सीले ४ विकेट लिए भने मार्को यानसेनले ३ तथा जेराल्ड कोटजीले २ विकेट लिए ।
पाकिस्तानको यो प्रतियोगितामा लगातार चौथो हार हो । पराजयपछि पाकिस्तानको सेमिफाइनलको यात्रा कठिन बनेको छ । ६ खेलबाट पाँचमा जीत हासिल गर्दै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिका र एक खेल कम खेलेको भारतको समान अंक भए पनि नेट रन रेटको आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको हो ।