इंग्ल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना न्यून, श्रीलंकाको दोस्रो जित

बेंग्लोर । आइसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले दोस्रो जित दर्ता गरेको छ । तर, गत संस्करणको विजेता इंग्ल्याण्डले भने आफ्नो खराव प्रदर्शनलाई निरन्तरता दिएको छ । बैंग्लुरुमा आज भएको खेलमा इंग्ल्याण्ड श्रीलंकासँग ८ विकेटले पराजित भयो । श्रीलंकाले दोस्रो जित निकाल्दा इंग्ल्याण्डले चौथो हार व्यहोरेको छ ।
आजको हारसँगै इंग्ल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको टोली ३३.२ ओभरमा १५६ रन मात्रै अल आउट गर्दै श्रीलंकालाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।
इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि त्यो पूरै गलत साबित भयो। जोनी बेयरस्टो (३१ बलमा ३० रन) र डेविड मलान (२५ बलमा २८) ले टोलीलाई सुरुआत गराए पनि सातौं ओभरमा विकेट पतन भएको थियो । टिमको स्कोर ४५ रन भएका बेला मलान आउट भएपछि इंग्ल्याण्डको इनिङ्स पूर्णरुपमा धरासायी नै भयो ।
जो रुट (३) १० औं ओभरमा ५७ रनको स्कोरमा रनआउट भए, त्यसपछि १४ औं ओभरमा ६८ रनको स्कोरमा बेयरस्टो र १५ औं ओभरमा जोस बटलर (८) पनि ७७ रनको स्कोरमा पभेलियन फर्किए । । १७औं ओभरमा ८५ रनको स्कोरमा लियाम लिभिङस्टोन (१) मात्रै आउट हुँदा इंग्ल्याण्डलाई पाँचौं झट्का लाग्यो।
बेन स्टोक्सले मोइन अली (१५)सँग मिलेर २२औं ओभरमा टोलीलाई १०० रनभन्दा माथि पुर्याएपनि अली पनि २५औं ओभरमा १२२ रनको स्कोरमा आउट भए। क्रिस वोक्सले २६ औं ओभरमा १२३ रन बनाएर खाता नखोल्दै आउट भए पनि ७३ बलमा ४३ रन बनाएर ३१औं ओभरमा १३७ रनको स्कोरमा बेन स्टोक्स पभेलियन फर्किएपछि इंग्ल्याण्डलाई सबैभन्दा ठूलो धक्का लाग्यो ।
३२औं ओभरमा १३७ रनको स्कोरमा आदिल रसिद (२) आउट भए भने ३३औँ ओभरमा १५० रनको स्कोर पार गरेपछि ३४औँ ओभरमा १५६ रनको स्कोरमा इंग्ल्याण्डलाई अन्तिम झटका लागेको थियो र मार्क वुड रन बनाएर आउट भएका थिए । डेभिड विली १४ रन बनाएर अविजित रहे । श्रीलंकाका लागि लाहिरु कुमाराले सर्वाधिक ३ विकेट लिए भने एन्जेलो म्याथ्युज र कासुन रजिथाले २–२ तथा महिश टेकशानाले एक विकेट लिए ।
१५७ रनको लक्ष्यसहित मैदान उत्रिएको श्रीलंकाको सुरुआत भने राम्रो रहेन । टिमको स्कोर ९ रन भएका बेला कुसल परेर आउट हुन पुगे । उनले व्यक्तिगत चार रन बनाए । यस्तै, पथुम निसनकाले ७७ रनको नटआउट पारि खेले । ८३ बल फेस गर्दा २ छक्का र ७ चौका प्रहार गरे । यस्तै, कप्तान कुसल मेन्डिसले ११ रन बनाएर आउट हुँदा पथुमलाई सदिरा समरविक्रमाले ६५ रनको नटआउट पारि खेलेर साथ दिए । उनले ५४ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे । इंग्ल्याण्डका डेभिड वेलिले २ विकेट लिए । आजको खेलपछि श्रीलंका तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड भने नवौं तालिकामा धकेलिएको छ ।