नेपाल भारतीय पर्यटकको सहज गन्तव्य हो : आचार्य बालकृष्ण

काठमाडौं । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्ण यति बेला नेपाल आएका छन् । विहीबार पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताए ।
“नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।” उनले भने ।
नेपाल गौतमबुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मिकी ऋषिलगायतको पावन भूमिरहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा रहेको अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर भारतीय पर्यटकलाई यहाँ ल्याउने गरी नेपाल सरकारले कार्यक्रम बनाउनुपर्ने सुझावसमेत उनले दिएका थिए ।
आयुर्वेद शिरोमणी आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके पर्यटक आगमन बढ्नसक्ने पनि बताए । उनले ४० वर्षपछि पहिलो पटक गृहजिल्ला स्याङजामा दसैँ मनाउने अवसर मिलेको पनि बताए ।