रामु दिदी, एनआरएन र भेरो : डा. अविन ओझा, अमेरिका
प्रसङ्ग,
अक्टोबर महिना विश्वभर रहेका प्रवासी नेपालीको लागी विशेष महत्वको रहने गर्दछ । त्यसो त यो वर्षको अक्टोबर झन् विशेष हुँदै थिए । एकातर्फ चाडपर्वको माहौल, अर्को तर्फ गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एघारौँ अधिवेशन । विश्वभरका प्रवासी नेपालीको ध्यान नेपाल तिर नै थियो । त्यसमा हिजो अक्टोबर १८ का दिन अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेपाली राजनीति उदीयमान नेता रामकुमारी झाँक्रीको अभिव्यक्ति पश्चात् त देश—प्रदेश तातेको थियो । त्यो राप सेलाउन नपाउँदै एनआरएनको नयाँ नेतृत्वको चयनको लागी भएको निर्वाचनको नतिजा घोषण सँगै झन् दन्केको छ । यसै सन्दर्भका बारेमा केही प्रसङ्गहरू यहाँ चर्चा गरिएको छ ।
रामु दिदीको आवेग कति जायज कति आवश्यक?
यसको उत्तर त्यत्ति सहज छैन । देश—प्रदेशका सामाजिक सञ्जाल तन्केको छ । विचारहरू पक्ष विपक्षमा विभाजित छन् । सबैको विचार आ—आफ्नो ठाउँमा सम्मान योग्य छन् । तथापि यहाँ, केही कुरामा प्रस्ट हुनु जरुरी छ ।
पहिलो, नेपाली नागरिकता र गैह्र आवासीय नेपाली नागरिकता बिच को विभिन्नता बुझ्नु जरुरी छ । जसले जसरी व्याख्या—अपव्याख्या गरेता पनि, देश छाडेर बिदेसिनु अधिकांशको बाध्यता हो । जो कोही जे सुकै प्रयोजनका लागी बिदेसिएता पनि, त्यसमा अधिकांशको कारक बाध्यता (आर्थिक, राजनीति, या शैक्षिक जे सुकै हुन्) नै हो ।
तर, बिदेसिए पछि, विदेशी नागरिकता लिनु चाही फेरी अधिकांशको रोजाई हो । यहाँ बुझ्नु पर्ने यर्थाथ के हो भने, विदेशको नागरिकता लिई सके पनि, कुनै पनि मानिसको राष्ट्रियता परिवर्तन हुन्छ । दोहोरो नागरिकताधारी व्यक्तिलाई राजनीतिक अधिकार दिने देशहरू विश्वमा कमै छन्।
प्रायसं एक देशको नागरिकले अर्को देशको नागरिकता लिए पछि, पहिलो राष्ट्रियता कानुनतः स्वतः समाप्त हुन्छ । अमेरिकामा पनि गैह्र नागरिकका हैसियतमा स्थायी बसोबास गरेका मानिसलाई राजनीतिक अधिकार दिइँदैन ।
त्यसो त “नेचुरलाइज्ड सिटिजनसीप” लिएका नागरिकहरू केही अधिकार विमुख नै हुन्छन् । नेपालको प्रचलित कानुन अनुसार अन्य देशको नागरिक भएको अवस्थामा नेपाली नागरिकता स्वतः निष्क्रिय हुने प्रावधान छ ।
यस्तो अवस्थामा राष्ट्रियता परिवर्तन गरेका नेपाली (वंशज नेपाली नागरिक) तथा तिनको सन्तानलाई नेपालसँग भावनात्मक सम्बन्ध कायम राख्न गैह्र आवासीय नागरिकताको परिकल्पना गरेको छ । सोही मर्म अनुसार गैह्र आवासीय नेपाली नागरिकताको प्रावधान प्रचलनमा आयो । जसले स्पष्ट आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकारको सुनिश्चितता गरेको छ ।
यसको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको गैह्र आवासीय नेपालीले अन्य देशको नागरिकता त्याग गरी पुन नेपाली नागरिकता कायम गर्न चाहेको अवस्थालाई सहज र सुनिश्चित गरेको छ । जसले उनीहरूको राजनीतिक अधिकार पुनर्स्थापन गरिदिने छ । यही कुरा को स्पष्टता पार्न र बुझ्न दुई—तीन व्यक्ति बिच बहस हुँदा रामु दिदी ले समग्र गैह्र आवासीय नेपालीमाथि विष वमन गर्नु चाही रामु दिदीको संयमशीलताको कमी हो ।
एनआरएनको औचित्य र आवश्यकता ?
यसको बारेमा चर्चा गर्नु पूर्व एउटा विषयको बहस गर्नु जरुरी छ । विषय हो, एनआरएनको परिभाषा ।
नेपालको कानुन त एनआरएन भनेको नेपाली मूलका विदेशी नागरिक अर्थात् “फरेन सिटिजन अफ नेपाली अरिजिन” र सार्क राष्ट्र बाहेक विदेशमा दुई वर्ष भन्दा बढी समय बस्ने नेपाली नागरिक अर्थात् “नेपाली सिटिजन रीजाइडिंग अर्बोड” भन्ने छ ।
नेपाली नागरिक विदेशमा बस्दैमा कसरी गैह्र आवासीय नेपाली हुन्छन् ? यदि गैह्र आवासीय भन्नु सही हो भने, नेपाली मूलका विदेशी नागरिक लाई कुन आधारमा गैह्र आवासीय नेपाली मान्ने । यो परिभाषा निकै अस्पष्ट छ । विदेशमा बस्ने नेपाली नागरिक र नेपाली मूलका विदेशी नागरिक दुवै लाई एउटै व्याख्या र उपमा दिनु गलत छ । यसको पुर्न व्याख्या हुनु आवश्यक छ ।
के एनआरएनले विश्वभरिका नेपालीलाई समेटेको छ? यसको विषयमा पनि बहस हुनु जरुरी छ । एकातर्फ यसको नेतृत्व सधैँ धनाढ्य एनआरएनले गरेका छन् । यो धनाढ्यको क्लब को रूपमा चलिआएको छ । अर्को तर्फ, यसको नेतृत्व गर्न यत्ति ठुलो तछाड—मछाड किन हुन्छ ? प्रवासीहरूको सामान्य क्लबको नेतृत्वमा आउन करोडौँ खर्च किन गरिन्छ ? आइसीसीमा मात्र होइन हरेक एनसीसीको नेतृत्व चयनमा पनि ठुलै चलखेल हुन्छ । यहाँ सम्म कि नेपालको राजनीतिक दल तथा नेताहरूको सम्म व्यापक चासो र प्रभाव रहन्छ । यी र यस्ता विषयको खोज अनुसन्धान हुनु जरुरी छ ।
पचास लाख भन्दा बढी नेपाली विदेशमा छन् भन्ने गरिन्छ । यत्ति ठुलो जनसंख्याको अभिभावक संस्था मान्ने एनआरएनको नेतृत्व चयन चाही कसले गर्छ ? एनसीसीका पदाधिकारी र राजनीतिक भातृसंगठनका पहुँच भित्र रहेका करिब चार—पाँच हजार व्यक्ति ले? कुल एनआरएनको करिब शून्य दशमलव १ प्रतिशतको हाराहारीको संख्यालेले छनौट गरेको नेतृत्वको वैधानिकता माथि प्रश्न गर्ने कि नगर्ने? प्रविधिले व्यापकता पाएको आजको युगमा प्रवासमा रहेका सबैलाई सहभागी गराई अनलाइन मतदान मार्फत नेतृत्व लिन सक्ने नेतृत्व कहिले पाउला एनआरएन ले?
भेरो ले जिरो बनाइदियो, एनआरएनको छवि
भर्खरै सम्पन्न निर्वाचनमा नतिजा निकै तामझाम का साथ ठुलो स्क्रिनमा क्षेत्रगत मत विवरण सहित घोषण गरियो । जसलाई केही अनलाइन मिडियाले प्रत्यक्ष प्रसारण पनि गरे । कसले जित्यो? त्यो गौण विषय हो । किनकि जसले जिते पनि एनआरएन ले जित्ने हो ।
निर्वाचन पश्चात् एउटा ले जित्दा अर्का ले हार्नै पर्दछ । निर्वाचनमा सामान्य धाँधली पनि जायज होला। यत्रो एनआरएनले गरेको निर्वाचनमा प्रयोग भएको सफ्टवेयर भनौँ या प्रणालीमा नतिजा घोषण गर्दा, सामान्य जोड—घटाउ पनि नमिलाउने सफ्टवेयरको प्रयोग भएछ ।
हिजो, रामु दिदीले भने झैँ रेस्टुरेन्टमा क्यास रजिस्टर थिच्दा जत्तिको संवेदनशील पनि नभई नतिजा घोषण गरियो । जहाँ हरेक उम्मेदवारले क्षेत्रगत रूपमा प्राप्त गरेको मत सङ्ख्या र उसले प्राप्त गरेको कुल भनिएको सङ्ख्याको योग नै मिल्दैन ।
जोड घटाउको एक्सल सिट पनि नमिलाउने कस्तो सफ्टवेयर हो त्यो? त्यसो त, कुनै उम्मेदवारको त आफ्नै भोट नै गायब भएछ । करोडौँ डलर खर्चेर गरिएको यत्रो तामझाम को औचित्य त्यही रामु दिदीले चिच्याई—चिच्याई दिएको ऐना हेर्न मात्र थियो? होइन भने यस्तो गम्भीर त्रुटि कसरी हुन्छ ? यो प्राविधिक त्रुटि हो की बदनियत बस गरिएको धाँधली? यसको जवाफ त पक्कै आउला? जो सुकै व्यक्ति जितोस् या हारोस्, आम प्रवासी नेपाली लाई खसै मतलब त छैन । तर एनआरएन अभियान ले जित्नु पर्दछ । यो चाह चाही सबै एनआरएन को थियो । त्यो हुन सकेन ।
अन्तमा,
फेरी पनि अघिल्ला वर्षहरू जस्तै किचलो मा एनआरएन अभियान फस्ने सम्भावना बढेर गयो । जुन समग्र एनआरएन अभियानकै निम्ति निकै प्रति उत्पादक हुने छ । भएको गल्तीमा सबैले स्वामित्व लिउ । वर्तमानको समस्या सबै संयमित र संवेदनशील हुँदै समाधान गरौँ । लुटेर होइन, मन जितेर नेतृत्व लिउ । फुटेर होइन जुटेर अभियानलाई आम प्रवासी को मन र मस्तिष्क सम्म पुर्याउन । यही नै एनआरएन अभियानको मूल मर्म हो ।