हनुमानढोकास्थित दसैँ घरमा भित्र्याइयो गोरखाबाट पठाइएको फूलपाती

काठमाडौँ । हनुमान ढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।
नेपालीहरूको महान् पर्व वडा दसैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसै घर भित्र्याइएको हो ।
आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरबारबाट निकालिएको अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा अपराह्न साढे ४ बजे बाजागाजासहित दसैंघरमा भित्र्याइएको हो ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।
जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो ।
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएपछि काठमाडौँलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौँको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको मान्यता छ ।
