भालु,भोक र भय : डा. अविन ओझा
प्रसङ्ग, भालु शब्द एक विविधार्थी शब्द हो । जसको प्रयोग प्रायशः निन्दा या बदनाम गर्न प्रयोग गरिन्छ । त्यसो त यस आलेखमा भालु शब्द एक प्रकारको जङ्गली जनावरको चित्रणको लागी गरिएको छ । हो, भालु भन्ने बित्तिकै एक खराब आकृति एवम् विशेषताको जङ्गली जनावरलाई बुझिन्छ । जुन जनावर निकै चुत्थो, आक्रमक र अहङ्कारी प्रकृतिको हुन्छ भन्ने आम बुझाई छ । त्यसो त भालुको आक्रमणबाट बर्षेनी धेरै मानिसहरू घाइते वा मृत्यु भएका खबरहरु बाहिरिएका हुन्छन् । यसर्थ पनि आम मानिस बिच भालुको परिचय विशेष हुँदैन । यस्तो चुत्थो जनावरको बारेमा केही रोचक प्रसङ्ग यहाँ उल्लेख गरिएको छ । यो आलेख प्राकृतिक भालु संरक्षण केन्द्रको भ्रमण समीक्षाको रूपमा यहाँ प्रस्तुत भएको छ ।
“भालु चुत्थो होइन, चुत्थो त भोक रहेछ”—भेन्स् सुट
अमेरिकाको मेनेसोटा राज्यको टुइन सिटी अर्थात् मिनियापोलीस र सेन्ट पाउलबाट करिब दुई सय ५० माइल उत्तर तर्फ सेन्ट लुइस काउन्टीमा अवस्थित छ “भिन्स् सुट वायल्ड—लाइफ संयाङ्गचुरी” । जसलाई “अमेरिकन वियर एसोसिएसन” नामक गैह्र नाफा मुलक संस्थाले सञ्चालन गर्दै आएको छ । यहाँ पुगेर भालु हेर्दा जति मनमोहक देखिन्छ । त्यो भन्दा कयौँ गुणा रमाइलो यो संयाङ्गचुरी को स्थापनाको कथा रोचक छ ।
सन् १९१३ मा किसान परिवारमा भेन्स् सुटको जन्म सोही स्थानमा हुन्छ । उनको परिवारले गाई फारम सञ्चालन गर्दै जीवन गुजार गरी रहेको थियो । सन् १९३० को विश्वव्यापी आएको महामन्दीले उनको फारम बन्द हुन पुग्छ । तत् पश्चात् सुट परिवारले बनपैदावर तथा काठ व्यवसाय गर्दै आए । यसै क्रममा उनको व्यवसायक्षेत्र भित्र भालुहरू देखा पर्न थाले ।
केही समय त उनले भालुलाई मार्दै भालु आतङ्कको अल्पकालीन समाधान गरे । यस क्रममा भेन्स् सुटले भालुको बारेमा सूक्ष्म अध्ययन गर्दै भालु आतङ्कको दीर्घकालीन समस्याका बारेमा खोजी गर्न थाले । उनको अवलोकन र अध्ययनको निचोड आयो, “वियर्स आर नट मीन, जस्ट हंग्री,” अर्थात् “भालुहरू स्वभावतः चुत्थो प्राणी होइनन्, उनीहरू लाई चुत्थो त भोकले बनाएको रहेछ”। यो निचोड पछि भेन्सले आफ्नो व्यावसाय भन्दा केही पर बाहिरी क्षेत्रमा भालुको आहारा राख्न थाले ।
फलत उनको व्यावसायिक क्षेत्रमा भालु देखिन छाडे । दैनिक जसो भालुलाई आहारा दिन थालेका भेन्स अव भालु प्रति आर्कषित पनि हुन थाले । हिजो सम्म उनले घृणा गर्दै मार्ने जनावरलाई आज उनले आहारा दिदै संरक्षण गर्न लागे । आफ्ना छिमेकीलाई पनि उनले भालुको बारेमा सुनाउन थाले । भालुका बारेमा वास्तविकता बुझ्न या जान्न छिमेकी लगायत आम समुदायलाई आग्रह गरे ।
सन् १९९३ मा भेन्सले ८० वर्षको उमेरमा आफ्ना पारिवारिक सदस्य र साथीहरू सँग सल्लाह गरी भालु संरक्षणको लागी आफ्नो पुरै जमिन दान गर्ने निर्णयमा पुगे । फलत, अमेरिका वियर्स एसोसिएसन नामक गैह्र नाफा मूलक संस्थाको स्थापना गर्दै सन् १९९५ देखी “भिन्स् सुट वायल्ड—लाइफ संयाङ्गचुरी” सञ्चालनमा ल्याए ।
“भालुले हामीलाई यो संयाङ्गचुरी भित्र र बाहिर फरक व्यावहारगर्दछन्”
यो संयाङ्गचुरी मुलत समर सिजनमा बेलुकी तीन बजे देखी आठ बजे सम्म सर्वसाधारणको अवलोकनका लागी खुला गरिने रहेछ । सो समयमा संस्थाका कर्मचारी तथा भोलेन्टियरहरुले संयाङ्गचुरी अवलोकनकर्ता तथा भालुको ख्याल गर्ने गर्दा रहेछन् । यहाँ पुग्दा यस्तो लाग्दछ की जङ्गलमा तार बार गरेर केही सय भालुलाई संरक्षण गरिएको छ ।
निकै ठुला र मोटा भालुहरू अनि संस्थाका कर्मचारीहरु निस्फिक्री एवम् निडर तवरले भालुलाई आहारा बाँड्न जङ्गल भित्र भित्र पसेको दृश्य देख्दा पहिलो पटक पुग्ने जो कोहीलाई यी पालुवा भालु होइनन् भन्ने पत्याउन निकै गाह्रै हुन्छ । पङतिकार यस संयाङ्गचुरीमा पुग्दा करिब ८० वटा जङ्गली भालु यहाँ खाना खान आएका रहेछन् । कुनै भालु निकै मोटा र ठुला थिए भने कुनै बच्चा पनि थिए । पङतिकारलाई पनि जिज्ञासा भयो कि कतै तार बार गरिएको छ । यी भालु प्राकृतिक रूपमा संरक्षित हुन । सोही जिज्ञासा मेटाउन, छेउमै रहेकी एक कर्मचारीलाई केही प्रश्न गरे ।
प्रश्न: यहाँ तार बार गरी यी भालुको संरक्षण गरिएको छ हो ?
कर्मचारी होइन । यो खुला जङ्गल हो । याहाँ कहीँ कतै तार बार छैन । यी भालुहरू स्वतन्त्ररुपमा खाना खान आएका हुन् । हामी प्राय बेलुकी तीन बजे तिर खाना दिन्छौ । यिनीहरू आउँछन्, खाना खान्छन् जान्छन् ।
प्रश्न: कति भालु आउँछन् यहाँ दैनिक?
कर्मचारीः मे महिना बाट खाना दिन सुरु गर्दछौ । सुरुवाती दिनमा दैनिक आठ देखी १० वटा सम्म आउँछन् । जुलाई देखि सेप्टेम्बर सम्म आइ पुग्दा दैनिक ८० बटा सम्म आउँछन् । हरेक दिन प्राय फरक फरक भालुहरू आउँछन् ।
एउटा भालुलाई देखाउँदै उ त्यो चाही नियमित ग्राहक जस्तै हो ।
प्रश्न: हामीले सुन्दा भालु निकै चुत्थो र आक्रामक हुन्छ भन्ने सुनेका छौँ । त्यसमा पनि बच्चाहरू सँग आएको आमा निकै आक्रामक हुन्छ रे हो ?
कर्मचारी हो केही भालु आक्रामक र चुत्थो हुन्छन् । यहाँ पाइने कालो भालु हो । यो स्वभावले त्यस्तो हुँदैन । मानिस सँग जम्काभेट हुँदा, यो भालु सके सम्म भाग्ने बाटो हेर्छ । भाग्ने बाटो नभेटेको अवस्थामा मात्र आक्रमण गर्दछ । हुँदा सम्म आफ्नो बाटो लाग्छ । अर्को कुरा पोथी भन्दा भाले नै आक्रामक स्वभावको हुन्छ ।
प्रश्न: तपाईहरू यस्ता जङ्गली भालुलाई जङ्गलमै गई निस्फिक्री सँग खाना दिनु भएको छ । आक्रमण गर्दैनन् यिनले?
कर्मचारी: यहाँको वातावरण सँग यी भालुहरू परिचित छन् । यिनले यहाँ त्यस्तो आक्रामक तेबर देखाएका छन। हो यिनै भालु हामीले बाहिर कतै देखे भेटे फरक व्यवहार गर्दछन् ।
प्रश्न: हिमपातको समयमा यिनलाई बस्ने स्थान यो संयाङ्गचुरी बनाइदिएको छ?
कर्मचारी: छैन । यिनको आफ्नै प्राकृतिक वासस्थान छ । त्यही जान्छन्, बस्दछन् । यी भालुहरू मुलत ग्रीष्म ऋतुमा यहाँ खान आउँछन् । शरद ऋतु सुरु हुन साथ यिनीहरू यहाँ हाइपरफेजिया (शीत निद्रामा जानु अगाडी खानाको जोहो) का लागी आउँछन् । अहिले उनीहरूले आवश्यकता भन्दा धेरै खान्छन् । हिउँ पर्न साथ अक्टोबरको अन्तिम देखि यिनीहरू हाइबरनेसन (शीत निद्रा) मा जान्छन् । फेरी समर ताका निस्कन्छन् ।
भोक नै समस्या रहेछ । खाना नै समाधान
गफकै क्रममा एक कर्मचारीले भनिन् । “सुरुमा डर लाग्दथ्यो । अहिले दैनिकी भयो । यी भालुहरूले पनि हामीलाई खाना दिने प्राणीका रूपमा चित्रण गरी सकेका होलान् । यहाँ भित्र यिनले अहिले सम्म कुनै आक्रामक र भय हुने खालको व्यवहार देखाएका छैनन् । कुनै बेला भाले भालु रिसाएर फ्वाँ—फ्वाँ गर्दै आएको हुन्छ । तथापि हामी माथि आक्रमण गरेका छैनन् । सायद भोक ठुलो कुरा रहेछ । खाना त्यसको समाधान । यिनै भालुले हामीलाई यो संयाङ्गचुरी भित्र र बाहिर फरक व्यावहार गर्दछन् ।”
अन्तमा
यहाँ एउटा अर्को प्रङ्गगको चर्चा गर्नु पनि सान्दर्भिक छ । भोकमरीले मानव समुदायमा अपराध कत्तिको बढाएको छ ? पक्कै पनि अपराधको विभिन्न कारण मध्ये भोक पनि एउटा मूलभूत कारक हो । किनभने भोकमरी गरिबिको प्रमुख परिणाम हो । भोकका कारण धेरै देशहरूमा अपराधिक घटानाहरु बढेका विश्व दृष्टान्त धेरै छन् । मानव जगतको समस्याको समाधानको सुरुवात पनि भेन्स् सुटको प्रयास जसरी नै भोका लाई निवारण गरी दिने गरी गर्ने हो भने विश्वको आपराधिक गतिविधि धेरै हद सम्म घटेर जान्छ ।
(लेखक अमेरिकाको ‘मेनेसोटा नोर्थ कलेज’ मा पूर्णकालिन प्राध्यापक हुन् । स.)
र यो पनि…
मेसीको आगमन सँगै अमेरिकी सकर (फुटबल)मा देखिएका परिवर्तन