नतिजा धोखाधडी हो हामी मान्दैनौ: डा. केशव पौडेल

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालका लागि भएको निर्वाचनको नतिजामा गम्भीर त्रुटि देखिएको छ।
एनआरएनएले भेरो नामक कम्पनीको प्रयोग गरेको हो। प्रायशः उम्मेदवारको नतिजामा जोड नै मिल्दैन। नतिजा अनुसार अध्यक्षमा डा. बद्री केसीले जितेको देखिन्छ। उनले १३ सय ७८ मत पाएको देखाइएको छ।
दोस्रो स्थानमा रहेका आरके शर्माले १२ सय ८१ मत पाएका छन्। अध्यक्ष अर्का प्रत्याशी महेश श्रेष्ठले १२ सय २५ मत पाएका छन्। उम्मेदवारी फिर्ता लिएकी रवीना थापाले पनि ४७ मत ल्याएकी छिन्। २५ जनाले नो भोट गरेका छ।
क्षेत्रगत रूपमा पाएको मत र कुल मतको जोड नै मिल्दैन। अध्यक्षले पाएको कुल मत जोड्दा बद्रीको १५ सय ५५ हुन आउँछ। तर भेरोले भने १३ सय ७८ मत देखाएको छ।
महेशको १३ सय ९२ हुन्छ। मेरोले १२ सय २५ मत देखाएको छ। आरकेले १४ सय ३८ हुन्छ भेरोले १२ सय ८१ देखाएको छ।
रवीनाको कुल मत ४२ पाएकी छन् तर उनको ४७ मत देखाएको छ।
एनआरएनएको कुल मतदाता ४१ सय ९२ जना हुन तर अध्यक्षका सबै उम्मेदवार र नो भोट जोड्दा चार हजार चार सय ४६ हुन आउँछ। मनदाता भन्दा तीन सय चार मत बढी खसेको देखिन्छ।
उपाध्यक्षमा पनि मत मिल्दैन। डा. केशव पौडेलको नेपाल बाट प्राप्त मत शून्य देखिएको छ। अर्को तर्फ उनले अफ्रिका (३७), अमेरिकाज (२८९) , एसिया प्यासिफिक (२२४), युरोप (६३६), र मिडिल इस्ट (२८२) को मत जोड्दा कुल मत १४६८ हुन्छ । नतिजामा डा. पौडेलको कुल प्राप्त मत जम्मा १२ सय ४४ छ ।
उपाध्यक्षका उम्मेदवार सुनिल साहको नेपाल बाट प्राप्त मत दुई सय ६३ देखियो । अर्को तर्फ उनले अफ्रिका (८३), अमेरिकाज (२३३) , एसिया प्यासिफिक (१७१), युरोप (५७५), र मिडिल इस्ट (१८०) प्राप्त गरेका स्रोत मा देखिन्छ । सबै क्षेत्रको मत जोड्दा कुल मत १५०५ हुन्छ । नतिजामा साहको कुल प्राप्त मत जम्मा १३ सय १३ छ ।
उपाध्यक्षका अर्का उम्मेदवार गंगाधर गौतमको नेपाल बाट प्राप्त मत २४६ देखियो । अर्को तर्फ उनले अफ्रिका (३०), अमेरिकाज (१४२) , एसिया प्यासिफिक (१२८), युरोप (७२७), र मिडिल इस्ट (१५८) प्राप्त गरेका स्रोत मा देखिन्छ । सबै क्षेत्रको मत जोड्दा कुल मत १४३१ हुन्छ । नतिजामा गंगाधरको कुल प्राप्त मत जम्मा १२सय ६३ छ ।
महासचिवमा बुद्धि सुवेदीको नेपालबाट तीन सय ७१ मत रहेको छ। यस्तै अफ्रिकाबाट (१७), अमेरिकाज (१८९) , एसिया प्यासिफिक (३२५), युरोप (७३७), र मिडिल इस्ट (४४५) प्राप्त गरेका स्रोत मा देखिन्छ । सबै क्षेत्रबाट मत जोड्दा कुल मत दुई हजार ८४ हुन्छ । भेरो नतिजामा सुवेदीको १८ सय १८ मत देखाइएको छ।
यस्तै विजेता भनिएका गौरी जोशीको नेपालबाट चार सय नौ मत ल्याएका छन्। यस्तै अफ्रिकाबाट (८०), अमेरिकाज (२२९) , एसिया प्यासिफिक (३१५), युरोप (८२७), र मिडिल इस्ट (४०६) प्राप्त गरेको देखिन्छ । सबै क्षेत्रबाट मत जोड्दा कुल मत दुई हजार दुई सय ६६ हुन्छ । भेरोको नतिजामा जोशीले दुई हजार ३७ मत पाएको देखाइएको छ।
यसै गरी महासचिवमा नो भोट क्षेत्रगत रूपमा ९१ हुन आउँछ। तर भेरोले ९४ देखाएको छ।
महासचिवमा पनि कुल मत भन्दा दुई सय ४९ मत खसेको देखाइएको छ।
सचिवमा पनि कृष्णा जीवी पन्त को नेपाल बाट प्राप्त मत ३३९ देखियो । अर्को तर्फ उनले अफ्रिका (२३), अमेरिका (२४२), एसिया प्यासिफिक (२०२), युरोप (५४७) र मिडिल इस्ट (२३४) को मत देखिन्छ । यो सबै र नेपालको मत जोड्दा कुल मत १५८७ हुन्छ । नतिजामा पन्तको कुल प्राप्त मत जम्मा १३८१ छ ।
नतिजा धोखा धडी हो हामी मान्दैनौ: डा. केशव पौडेल
एनआरएनए आइसीसीका वर्तमान महासचिव तथा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले चुनावी नतिजालाई फ्रड भनेका छन्।
‘यो फ्रड हो।’ काठमाडौँ सोल्टी होटेलमा रहेका डा. पौडेलले समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा भने,’एनआरएनएमा पर्न गएको असुविधा प्रति क्षमा माग्न चाहन्छु।’
उनले अगाडि भने,’ आठ २६ जनाले नेपालबाट भोट हालेका छन्। ८० प्रतिशतले मलाई भोट दिएको भनेका छन्। म आफैले मलाई मत हालेको छु मेरो शून्य मत कसरी हुन्छ ? पौडेलले प्रश्न गरे।
डा पौडेलले संस्थालाई ५० हजार अमेरिकी डलर भन्दा बढी क्षति भएको दाबी गरे। ‘आर्थिक रूपमा नोक्सान भएको मात्र होइन संस्थाको साख गिरेको छ, निर्वाचन खारेज गरेर दोषीलाई कारबाही गर्दै क्षतिपूर्ति भराउनु पर्छ।’
उनले नतिजा खारेज हुने र तदर्थ समिति बनाएर जानु पर्ने बताए।
यसै गरि अध्यक्ष पदका प्रत्यासी आरके शर्माले पनि नजिता स्वीकार्य नहुने बताए। यस्तै अध्यक्ष कुल आचार्यले पनि नतिजा मान्य नहुने बताए।