अमेरिकाको मेरील्याण्डमा ‘दसैँ चङ्गा मेला’
मेरील्याण्ड। नेपालीको महान् चाड बडादसैँको अवसर पारेर अमेरिकाको मेरील्याण्डमा चङ्गा मेला हुने भएको छ।
मेरील्याण्डमा रहेको हिन्दु बौद्ध मन्दिरमा अष्टमीको दिन अक्टोबर २२ तारिख आइतबार चङ्गा उडाउने कार्यक्रम राखिएको हो।
चङ्गा मेलामा मन्दिर पाठशालाका विद्यार्थी,अभिभावक,शिक्षक र इच्छुक व्यक्ति सहभागी हुने सक्ने मन्दिर समितिले जनाएको छ।
‘दसैँमा चङ्गा उडाउने कार्यले नेपाली बालबालिका र परिवारलाई नेपाली संस्कृति सँग जोड्न र रमाइलो गर्न मद्दत पुग्छ।’ मन्दिरको तर्फबाट जारी गरिएको सूचनामा भनिएको छ।
लट्टाइ,चङ्गा र धागो दश अमेरिकी डलरमा मन्दिरले उपलब्ध गराउने छ। सहभागी व्यक्ति आफैले पनि चङ्गा ल्याउन सक्ने छन्। आइतबार साढे दश बजे देखि दुई घण्टा चङ्गा मेला हुने छ।