एनआरएन निर्वाचनमा देखिएका त्रुटि र सम्भावित परिणामहरू
लेखनाथ गौतम
गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा ११ औ महाधिवेशनको एउटा सत्रमा नेकपा समाजवादीकी नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले प्रवासी नेपालीलाई नराम्रो सँग झपारिन, तथानाम भनिन। मलाई दुख लाग्यो। किन यति नराम्रो गरी भनेको होला, किन हाम्रो चित्त दुख्ने गरी भनेको होला भनेर निकै पिरोलिएँ। मन बेचैन भयो। त्यसलाई एउटा लेख मार्फत पोखेँ, अलि हल्का भयो। यही क्रियामा प्रतिक्रियाहरू हुँदै गर्दा एनआरएनको आगामी २०२३/२५ को कार्यकालको निर्वाचन आइहाल्यो, सुरु पनि भयो र सकियो पनि।
जब रिजल्ट आयो, एनआरएनमा फेरी भूकम्प गयो। कसैले बधाईका स्ट्याटस राख्न सुरु गरे भने कसैले फ़्रड भयो भन्न थाले। कसैले ऐतिहासिक जित भन्दै खुसी साट्न थाले भने कतिले यसलाई अस्वीकार गर्ने भन्न थाले।
प्रत्यक्ष कुनै पदमा न उठे पनि करिब १० वर्ष देखि एनआरएनएमा म पनि सक्रिय नै छु। यहाँ हुने घात, प्रतिघात, बेइमान, धोका, साँठगाँठ, बिछोड सबै मैले देखेको छु। यसमा इमानदार र सक्षम मान्छे उठ्नु पर्छ र त्यसलाई जिताउनु पर्छ भन्ने मेरो सधैँ धारणा रहिआएको छ। संस्थाले राम्रो काम गर्न हाम्रो मात्र होइन राम्रो मान्छे छान्न पर्छ भनेर पटक पटक भन्दै पनि आएको छु। तर विडम्बना, यस्तो भएकै छैन, झन् भन्दा झन् बिग्रिँदै छ।
यो निर्वाचनको परिणामले भने संस्थाको इज्जत र प्रतिष्ठा धुलोमा मिल्ने अवस्था देखिंदैछ। हामी चाहन्छौँ, यस्तो केही नहोस्। यो निर्वाचनमा भएको सामान्य त्रुटि मात्र होस र यसले सकुशल अवतरण पाओस्, यही नै सबैको चाहना छ। रामकुमारीको गालीको गन्ध अझै नजाँदै फेरी एनआरएन भित्र विभाजनको गन्धले हामी प्रताडित हुन नपरोस्। हामी सबैले सबैलाई बधाई दिन पाइयोस्।
तर अहिले सम्म देखिएका तथ्यहरूले हाम्रा चाहना माथि कुठाराघात गर्ने अवस्था देखिंदैछ। निर्वाचनमा जित वा हार सामान्य नै हो र सबैले स्वीकार गर्नु पर्छ भन्ने प्रजातान्त्रिक मान्यता नै हो। तर यसका गम्भीर तथ्यगत गल्तीले भने यो निर्वाचन परिणाम स्वीकृत हुने सम्भावना छैन।
केही वर्ष अघि भरतपुर महानगरपालिकाको एउटा वडाको मतगणना हुँदा एक जना माओवादी कार्यकर्ताले एउटा मतपत्र च्याते, केही चपाए। त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनर्निर्वाचन गरियो। यो उदाहरण हामी सामु छदै छ। अब अहिलेको एनआरएन आइसीसीको निर्वाचनमा के कस्ता त्रुटि भएका रहेछन् भन्ने हेरौँ।
निर्वाचनमा अमेरिकाबाट उपाध्यक्षमा उठेका केशव पौडेलको नेपालबाट शून्य भोट आएको देखिन्छ जबकि पौडेल आफै त्यहाँ मौजुद छन्। त्यस्तै अधिकांश उम्मेदवारहरूको क्षेत्रगत ल्याएको भोट र कुल भोटको जोड मिल्दैन। महासचिवमा भने अर्को चमत्कार के छ भने मतदाता भन्दा दुई सय ४९ भोट बढी छ। यो भेरो सिस्टमको सामान्य टेक्निकल इरर हो भनेर विश्वास गर्न गाह्रो छ।
यति बेला नेपालमा होटेल सोल्टीमा रडाको सुरु भैसकेको छ। वर्तमान अध्यक्ष कुल आचार्य, अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ, आरके शर्मा, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले यो परिणाम अस्वीकार्य भएको जनाएका छन् भने विजेता घोषितहरूको प्रतिक्रिया आउन भने बाँकी छ। यो गम्भीर त्रुटिहरू कसरी जस्टिफाई होला भन्ने प्रश्न सबैमा उब्जेको छ।
आगामी सम्भावित सिनारियो (अवस्था) हरू के के होलान् ?
सिनारियो १ : यो गम्भीर तथ्यगत त्रुटि टेक्निकल इरर हो कि कसैले प्रभावित गरेको हो भन्ने अनुसन्धान हुनु आवश्यक त छदै छ। यसको लागि कसले नेतृत्व लिन्छ भन्ने अहिल्यै भन्न गाह्रो भए पनि त्यो हुने कुरा सूत्रहरूले बताउँछन्। अनुसन्धानमा सबभन्दा पहिला “भेरो” विरुद्ध मुद्दा “सु” गरिनेछ। यो यदि भेरोको टेक्निकल ग्लीच हो भने एनआरएनले आफ्नो सम्पूर्ण आर्थिक खर्च सहित करोडौँको क्षतिपूर्ति दाबी गर्नेछ। यदि सिस्टम भित्र छिरेर कसैले डाटा परिवर्तन गरेको रहेछ भने तिनीहरूले यो सबैको घाटा व्यहोर्नु पर्ने हुनसक्छ।
सिनारियो २ : यदि संस्थागत धाँधली भएको रहेछ भने विद्रोही मध्यकै केहीलाई जिताएको नयाँ तथ्य सार्वजनिक गरेर सामसुम पार्न प्रयत्न गरिनेछ। यसको पहिलो पात्र केशव पौडेल नै हुन सक्छन् जसको नेपालमा जम्मा शून्य मत आएको थियो। त्यस्तै अरू बढी विरोध गर्नेहरूलाई पद र प्रलोभनमा मिलाउने प्रयास हुनेछ।
सिनारियो ३ : यसमा कसैको नियत खराब छैन र यो सामान्य त्रुटि रहेछ भन्ने प्रमाणित भयो भने सबैले आफ्नो पदभार सम्हाल्दै एनआरएनमा काम गर्न फर्किनेछन् । विवाद त जसरी पनि हुन्छ तर कमसेकम धाँधली वा फ़्रड गरेको आरोपबाट सबै मुक्त हुनेछन्। हामी फेरी सबै मिलेर प्रवासी नेपालीलाई गाली गरेको आरोपमा झाँक्रीलाई गाली गर्न थाल्नेछौँ।
मेरो एक वाक्यमा धारणा: यति महँगो, यति निकम्मा, यति धेरै झगडाको बिउ र यस्तो संरचनाको एनआरएन आइसीसी प्रवासी नेपालीहरूको लागि घाँडो र नेपालीहरू माझ बेइज्जत हुने माध्यम हो। यसको विघटन गरी नयाँ संरचना सहितको एनआरएन निर्माण अबको अपरिहार्य आवश्यकता हो।