विश्वकप क्रिकेटमा अफगानिस्तानसँग इंग्ल्याण्ड पराजित
नयाँ दिल्ली । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्याण्डलाई पहिलो पटक पराजित गरेको छ । यसअघि २०१५ र २०१९ को विश्वकप क्रिकेटको भेटमा इंग्ल्याण्डले बाजी मारेको थियो ।
तर, जारी विश्वकपको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको प्रदर्शन उत्कृष्ट छैन । आज भएको खेलमा कमजोर मानिएको अफगानिस्तानसँग इंग्ल्याण्ड ६९ रनले पराजित भयो । अफगानिस्तानले दिएको २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४०.३ ओभरमा सवै विकेट गुमाएर २१५ रनमा समेटिन पुग्यो । जारी विश्वकपमा अफगानिस्तानको पहिलो जित हो भने इंग्ल्याण्डको दोस्रो हार हो ।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका हेरि ब्रुकले सर्वाधिक ६६ रन बनाउँदा डेभिड मलानले ३२ रनको पारि खेलेका थिए । यस्तै आदिल रसिदले २० तथा मार्क वुडले १८ रन बनाए । रेसे टोप्लेले १५ रन बनाउँदा साम करण र लियम लिभिङस्टोन १०–१० रनमा पभेलियन फर्किए । इंग्ल्याण्डमाथि ऐतिहासिक जित निकाल्ने क्रममा अफगानिस्तानका मुजीब उर रहेमान र रासिद खानले तीन तीन विकेट लिए । यस्तै मोहमद नावीले २ विकेट लिँदा फजल फारुकी र नभिन उल हकले एक एक विकेट हात पारे ।
पहिला ब्याटिङ गरेको अफगानस्तिानले निर्धारित ओभर सकिन १ बल बाँकी हुँदा २८४ रन बनाएको थियो । उसका लागि रमनुल्लाह गुर्वाजले सर्वाधिक ८० रन बनाएर रन आउट भएका थिए । यस्तै इकरम अलिखिलले ५८ रनको पारि खेल्दा इब्राहिम जर्दान र मुजिब उर रहेमानले समान २८–२८ रन बनाए । यस्तै रासिद खानले २३ रन बनाउँदा अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरेका थिए । कप्तान हस्मतुल्लाह साहिदीले १४ रन जोडेका थिए । इंग्ल्याण्डका आदिल रसिदले ३ विकेट लिँदा मार्क वुडले २ विकेट हात पारे ।