नेपाली भाषीको बाक्लो बसोबास रहेको ह्यारिसबर्गमा क्रिकेट पिच बन्दै

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ नेपाली र नेपाली भाषी भुटानी समुदायको बाक्लो बसोबास रहेको अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग क्षेत्रमा क्रिकेट पिच बन्ने भएको छ।
लोअर प्याक्सटन टाउनशिपले लिङ्गल पार्कमा नयाँ क्रिकेट पिच बनाउन लागेको हो। नोभेम्बर तीन तारिख शुक्रवार देखि पिच निर्माण कार्य सुरु हुने टाउनशिपले जनाएको छ।
टाउनसिपले सोही दिन क्रिकेट मैदानको बजेट तथा निर्माणका विभिन्न पक्ष बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाएको छ।
टाउनसिपले कम्तीमा दुई वटा पिच बनाउने योजना बनाएको छ। यसै गरी प्राक्टिस नेट समेत निर्माण हुने जनाइएको छ।
ह्यारिसबर्ग र त्यस वरपर नेपाली र नेपाली भाषी भुटानी सङ्ख्या पछिल्लो सङ्ख्या ह्वात्तै बढेको छ।

भुटनीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाका अनुसार लिङ्गल पार्कमा क्रिकेट पिच बन्नु सिङ्गो समुदायकै लागि खुसीको कुरा भएको बताएका छन्।
‘भुटानी-नेपाली समुदायको हृदयमा क्रिकेटले विशेष स्थान राखेको छ, र एक समर्पित क्रिकेट मैदानको स्थापना हाम्रा लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो।’ अध्यक्ष निरौलाले भने, ‘नयाँ क्रिकेट मैदानले हाम्रा समुदायका सदस्यहरूलाई एकै ठाउँमा आउन, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न र हामी सबैलाई मन पर्ने खेलमा संलग्न हुन ठाउँ उपलब्ध गराउने वाचा गर्दछ।’
लिङ्गल पार्कमा अहिले म्याटमा क्रिकेट खेलिँदै आएको छ। यस्तै नेपाली भाषी समुदायले समय समयमा यही पार्कमा भलिबल तथा फुटबलका प्रतियोगिता पनि आयोजना गर्दै आएका छन्।

