इजरायल-प्यालेस्टाइनमा मारिएका निर्दोष मानिसको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीपप्रज्वलन तथा शोकसभा
मेरिल्याण्ड/ हमासको आक्रमणबाट मध्यपूर्वमा मारिएका निर्दोष तथा निहत्था व्यक्तिको स्मृतिमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा दीपप्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।
मेरिल्याण्डको ड्रिस्ट्रिक्ट ८ का नेपालीमूलका विधायक डा. ह्यारी भण्डारीको आव्हानमा बेल्मन्ट पार्कमा शुक्रवार साँझ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको संयोजन फ्रेण्डस् अफ ह्यारी भण्डारीले गरेको थियो ।
कार्यक्रमको सुरूवातमा डेलिगेट डा. ह्यारी भण्डारीले आतंकवादी हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवताविरोधी जघन्य अपराध भएको बताउँदै यस्तो अमानवीय क्रियाकलापको जति नै भत्सर्ना गरे पनि कमै हुन्छ भने । उनले हमासको यो बर्बरतापूर्ण आक्रमणपछि मध्यपूर्वमा सिर्जना भएको दर्दनाक स्थितिको चित्रण गर्दै यसको सम्पूर्ण जिम्मेवारी हमासले नै लिनुपर्ने धारणा राखे ।
अहिलेसम्म झण्डै तीनहजार मानिसको ज्यान गएको जानकारी दिदै डेलिगेट डा. भण्डारीले त्यसमा आफ्नो जन्मभूमी नेपालका १० र कर्मभूमी अमेरिकाका २२ निर्दोष मानिस पनि परेको बताए ।
कार्यक्रममा बाल्टिमोर काउन्टीका काउन्सिलम्यान इजी पातोकाले ७० वर्षअघि भएको यहुदी नरसंहार होलोकास्टको स्मरण गरे । उनले आफ्ना आमा र बाबु होलोकास्टबाट बचेको बताउँदै यतिका वर्षपछि हमासले फेरि त्यस्तै होलोकास्ट दोहोर्याएको बताए । उनी यहुदी मुलका अमेरिकी हुन् ।
मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का विधायक कार्ल ज्याक्सनले हमासको आतंककारी हमलाको भत्सर्ना गर्दै इजरायलको पक्षमा ऐक्यवद्धता प्रकट गरे । उनले निर्दोष प्यालेस्टाइनी दोहोरो मारमा परेको बताउँदै त्यसका बारेमा पनि सोच्नुपर्ने धारणा राखे ।
मेरिल्याण्ड डिस्ट्रिक्ट ८ कै अर्का विधायक र निक एलनले पनि हमासको आतंकबादी क्रियाकलापको भत्सर्ना गर्दै इजरायलको पक्षमा ऐक्यवद्धता प्रकट गरे । उनले दीपप्रज्वलन र शोकसभा मानवता र शान्तिको पक्षमा रहेको बताए।
स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतमबुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिलै पनि हत्या, आतंकको पक्षमा नरहेको र नरहने बताए । उनले इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीहरूको नामावली प्रस्तुत गर्दै उनीहरूको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
शोकसभामा मारिएका निर्दोष मानिसहरूको आत्माको चीर शान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो । दीपप्रज्वलन तथा शोकसभामा स्थानीय नेपालीहरूको उत्साहजनक सहभागिता थियो । उनीहरूले पिस आकारमा दीपप्रज्वलन गरेर शान्तिको पक्षमा आफ्नो विश्वास प्रकट गरेका थिए