एनआरएन निर्वाचन : मनोनयन गर्न झमेला

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन कार्यतालिका अनुसार काठमाडौंमा मनोनयनपत्र दर्ताको काम सुरु भइसकेको छ । विहीबारदेखि शनिबारसम्म मनोनयनको समय निर्वाचन समितिले दिएको छ । अहिले उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरुले तयारी गरे पनि अनलाइनमार्फत पनि मतदान गर्न पाइने भएकाले अधिकांश डेलिगेट्सहरु काठमाडौं उत्रिएका छैनन् ।
काठमाडौं आइपुगेकाहरु पनि समूहगतरुपमा रहेकाले केही उम्मेदवारलाई प्रस्तावक र समर्थक नै भेट्न मुस्किल परेको छ । पहिलो दिन विहीबार उम्मेदवारी दर्ताको समयमा जम्मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रस्तावक र समर्थक दुई दुई जना गरेर चार जना आवश्यक पर्ने भएकाले केही उम्मेदवारले प्रस्तावक र समर्थक नपाएको गुनासो समाजटाइम्ससँग गरेका छन् । प्रक्रिया नै अलि झन्झटिलो भएकाले सवै प्रक्रिया पूरा गर्न समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाका अनुसार अनुसार मनोनयन दर्ताको समय शुक्रबार र शनिबार पनि रहेकाले पहिलो दिन उम्मेदवारी दर्ता धेरैको भएन ।
विहीबार अध्यक्ष, महासचिव जस्ता मुख्य पदमा कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । उपाध्यक्षमा एक जना तथा सचिवसहित केही पदाधिकारीको पदमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । तर, उम्मेदवारी दर्ताको फाराम बुझाए पनि प्रस्तावक र समर्थकको सनाखत हुन बाँकी रहेको निर्वाचन समितिकै अर्का सदस्यले जानकारी दिए । अक्टोबर १६ सम्म सशरिर प्रस्तावक र समर्थकले सनाखत गर्न पाउने भएकाले अहिले नै यति पदमा यति उम्मेदवारी भन्ने प्रष्ट नहुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले उम्मेदवारको सूची प्रकाशित गरेपछि दावी विरोध र अन्तिम सूची पनि अक्टोबर १९ मा मतदानको समय तय गरिएको छ । नेपालमै आइपुगेको डेलिगेट्सले भौतिकरुपमै मतदान गर्नु पर्ने छ भने देश बाहिर रहेकाहरुले भने अनलाइनमार्फत मतदान गर्न पाउने छन् ।
एनआरएनएको अध्यक्षमा हालसम्म ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष रवीना थापा, उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा र सचिव विनय अधिकारीले उम्मेदारी घोषणा गरेका छन् ।
संघको उम्मेदवार बन्न अध्यक्षका प्रत्यासीले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ ।
यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ ।
निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने छन् ।
महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् ।
यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् ।
जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ ।
संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ । विश्व सम्मेलनले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । दशौं अधिवेशन भने विवाद हुँदा अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिएका जति निर्विरोध निर्वाचित भएका थिए । तर यसपटक त्यस्तो व्यवस्था गरिएको छैन ।