विश्व शान्तिको कामना गर्दै कास्की कोटमा नवदुर्गा महोत्सव हुने

कास्की । कास्की कोट दरबारमा रहेको गुप्त कालीका मन्दिरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्त कालीका काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दसैँको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष विश्वमा भइरहेको युद्ध तथा प्राकृतिक प्रकोप वाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्त कालीकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज २८ गते विधिवत् रूपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रूपमा चण्डी पाठ दुर्गा कबज हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्की कोट गुप्त कालीका मन्दिरमा परापूर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यस वर्षको बडा दसैँको १० दिन सम्म कोत घरमा प्राणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो ।
बडा दसैँको फूलपातीमा पोखराको राम घाट वाट लगेको फुलको डोली विधिवत् मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने त्रिपाठीले बताए । उनले भने फूलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्च वली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास पानी कालीकामा फुल पत्र सहित पूजा विसर्जन हुने छ ।
यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
कास्की कोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिम बहादुर कार्कीले बताए ।
यहाँ पूजा र पञ्च बली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्त कालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको मानिन्छ ।