प्रधानमन्त्रीको दावी ‘चीन भ्रमण आशा गरेभन्दा बढी सफल’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।
तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा उनले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् । उनले राष्ट्रपति सि चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण वातावराणमा छलफल भएको बताए ।
आफ्नो भ्रमणका क्रममा भएका सम्झौता र समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको प्रधानमन्त्री प्रचण्डको दावी थियो ।
भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै सञ्चालन गर्ने सहमति भएको जानकारी दिए । विगतमा सञ्चालन भएका प्राय सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने जिकिर गरे ।
त्यसअघि आजै प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् ।
समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले दरबारका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे । जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए ।
यो मन्दिर बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेका छ । यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनहरुले विशेष महत्वका साथ सम्मान गर्ने गर्दछन । मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरुले मन्दिरका बारेमा जानकारी गराएका थिए ।