इनास अमेरिकाको पाँचौँ राष्ट्रिय अधिवेशन आइतबार मेरील्याण्डमा, नयाँ नेतृत्व चयन हुने
पेन्सिल्भेनिया,अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिका राष्ट्रिय समितिको पाँचौँ अधिवेशन सेप्टेम्बर २४ तारिख आइतबार मेरील्याण्ड राज्यको बाल्टीमोरमा हुने भएको छ।
इनास अमेरिका राष्ट्रिय समितिका अध्यक्ष कन्हैया सिंह परियारका अनुसार अधिवेशनले मुख्यतया नयाँ नेतृत्व चयन गर्ने छ।
‘हाम्रो संस्थामा राष्ट्रिय समिति देखि च्याप्टरहरू सम्म गरी एक सय जना कलाकारहरु सदस्य हुनु हुन्छ। प्रायशः सबै जना आइतबार बाल्टीमोरमा भेला हुनु हुन्छ।’ अध्यक्ष परियारले समाज टाइम्स सँग भने।
परियारका अनुसार यस पटक राष्ट्रिय समितिको कार्यसमिति १५ सदस्यीय बन्ने भएको छ। ‘पहिला २१ थियो पछि १८ बनाएका थियौ यो पटक १५ सदस्यीय कार्यसमिति बनाउने भन्ने छ।’ उनले भने।
आइतबारको अधिवेशनले राष्ट्रिय र च्याप्टर दुवै तर्फको नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष परियारको भनाइ छ।
‘हाम्रोमा ग्लोबल देखि राष्ट्रिय र च्याप्टर सम्म सर्वसम्मत रूपमा नै कार्यसमिति चयन गर्ने परम्परा छ। यस पटक पनि त्यही हुन्छ होला, केही समस्या भयो भने निर्वाचन समितिले मिलाउँछ।’ उनले भने।
“कला र कलाकारको सारथि इनास” भन्ने नाराका साथ इनास ग्लोबलको स्वीकृतिमा इनास अमेरिका सन् २०१४ मा स्थापना भएको हो।
इनास अमेरिका अन्तर्गत विभिन्न राज्य समिति पनि गठन भएका छन्। इनास अमेरिका राष्ट्रिय समिति तथा इनास पाँच राज्य समितिले सांस्कृतिक, साङितिक एवम् सामाजिक रूपमा सक्रिय भई काम गर्दै आएका छन्।
बाल्टीमोरको पेरीहलमा रहेको फेमिली किचेन रेस्टुरेन्ट सेप्टेम्बर २४ तारिख आइतबार दिउँसो एक बजे देखि अधिवेशन सुरु हुने अध्यक्ष परिवारको भनाई छ।
अमेरिका भरी रहनुहुने सम्पूर्ण कलाकार, कला प्रेमी एवम् विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।
उक्त अधिवेशनमा केही कलाकर्मीहरूलाई विशेष सम्मान समेत गरिने जनाइएको छ।
कार्यक्रममा प्रविशा अधिकारी, अञ्जना गुरुङ, तुलसी पराजुली, आभा मुकाङ्ग, शिव वि क ,श्याम गुरुङ, कल्पना देवकोटा, लक्ष्मण पौडेल, स्वरूपा रसाइली राजु ढुङ्गेल ,खिम मस्रंगी , रमेश परियार, सज्जन बोहोरा अपेक्षा सिंह र रूवी पौडेल लगायतको प्रस्तुति रहने छ ।