साफ यु–१९ च्याम्पियनसिप : उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौँ । काठमाडौँमा हुने साफ यु–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।
बिहीबारदेखि काठमाडौँमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले, समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।
‘हाम्रो लक्ष्य भनेको पहिलो राउन्डबाट जितेर दोस्रो राउन्डमा जानु पर्यो दोस्रो राउन्डमा पुगेपछि फाइनल जित्नु पर्यो ।’, उनले भने ‘ बाहिर पनि राम्रो राम्रो खेलाडीलाई बोलाइरहेको छ । त्यो पनि यिनीहरूको लागि मोटिभेसन हो । अहिले जस्तो प्रदर्शन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’ त्यस्तै यु १९ नेपाली फुटबल टिमका कप्तान जियारथ सेखले सबै तयारी राम्रो भएको बताए ।
साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे दशरथ रङ्गशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
बिहीबार दिउँसो साढे १ बजे भारतले बङ्गलादेशसँग दशरथ रङ्गशालामा नै प्रतिस्पर्धा गर्नेछ । समूह ए मा नेपाल, पाकिस्तान र मालदिभ्स रहेका छन् । त्यस्तै समूह बी मा भारत, भुटान र बङ्गलादेश रहेका छन् ।
प्रि–म्याच कन्फ्रेन्समा सबै टोलीका प्रशिक्षक तथा कप्तानहरूले च्याम्पियनसिपको तयारी राम्रो भएको भन्दै उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै अन्य सहभागी देशका प्रशिक्षक तथा खेलाडीहरूले पनि ट्रफि घर लैजाने गरी तयारी गरिएको बताएका थिए । बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ ।