एनआरएनए चुनाव : टिम मिलाउन महेशलाई सकस
पेन्सलभेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशेनका लागि अहिले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठलाई टिम मिलाउन भने सकस देखिएको छ ।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका महेशले सुरुआती चरणमा महासचिव डा. केशव पौडेलसँग सहमति गरेर उम्मेदवारी घोषणा गरेका हुन् । महेश अध्यक्षको उम्मेदवार बन्दा उपाध्यक्षमा डा. पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
अहिलेसम्म अध्यक्ष पछिको शक्तिशाली पदको रुपमा हेरिएको महासचिवको पनि टुंगो लगाउनपनि महेशलाई सकस परेको छ । उनको टिमबाट महासचिवको दौडमा दुई जना देखिएका छन् । बेल्जियमका गंगाधर गौतम र अमेरिकाका बुद्धिसागर सुवेदी । गंगाधर गौतम अहिलेको कार्यसमितिमा सचिव हुन भने सुवेदी एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष हुन् । सुवेदी र गौतम मध्य एक जनालाई महासचिवको उम्मेदवार बनाउने गरी सहमतिको प्रयास भइरहेको श्रेष्ठ पक्षधर एनआरएनएका नेताहरुले बताइरहेका छन् ।
गौतमलाई अहिले उपमहासचिव वा उपाध्यक्ष बनाउने गरी सहमतिको प्रयास भइरहेको बताइएको छ । गौतमले महासचिव भन्दा अनेत्र आफूले चुनाव नलड्ने बताउँदै राजनीतिक नेतृत्वसँग पनि लविङ गरिरहेका छन् ।
तर, आइतबार अपरान्हसम्ममा महासचिवको उम्मेदवार टुंगो लगाउने स्वंय अध्यक्षका उम्मेदवार श्रेष्ठले पनि बताएका छन् । शुक्रबार आयोजित श्रेष्ठको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै गौतम र सुवेदीले सहमतिमा अघि बढ्ने बताए पनि बाहिर एकले अर्कालाई नछाड्ने अडान पनि लिएका छन् ।
एनसीसी अमेरिकाको निवर्तमान अध्यक्ष भएकाले एकै पटक महासचिव भन्दा पनि सचिव उपमहासचिव मध्य एक पदमा उम्मेदवार बन्नका लागि सुवेदीलाई पनि दबाब भने दिइएको बताइएको छ । तर सुवेदीले पहिलो पटक भन्दा पनि निर्वाचनमा योग्यता र क्षमताको कदर हुने बताउँछन् ।
यसैगरी, उपाध्यक्षमा पनि कसरी म्यानेज गर्ने अर्को सकस महेशलाई परेको बुझिएको छ । अहिलेसम्म अमेरिकाका डा. केशव पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।
तर, अन्य उपाध्यक्षका लागि आंकक्षीको संख्या धेरै देखिएकाले त्यता पनि मिलाउन पनि अप्ठेरो परेको बुझिएको छ ।