संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री अमेरिका प्रस्थान
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन उनी शनिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।
उनले आगामी बुधवार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरू लगायत अन्य मन्त्रीहरू उपस्थिति थिए ।
महासभालाई सम्बोधन गर्नु अघिल्लो दिन मङ्गलवार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।
न्यु योर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै सिधै चीन जाने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने बताइएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ।
शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबारै बेलुका अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। उनी त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ।