प्रशान्त शर्माको ‘ईरा’ सार्वजनिक
काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच समाज शास्त्री डा. शोभा ढुङ्गाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामूहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाज शास्त्री डा. शोभा ढुङ्गानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् ।
उनले समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माको पुस्तकको पात्र जस्तै बन्न पुगेको भन्दै उपन्यास समाजको वास्तविक ऐनाको रूपमा प्रस्तुत भएको बत्ताइन् ।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो लेखक शर्मा पछिल्लो पुस्ताका अब्बल लेखकको रूपमा उदाएको बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बधाई दिँदै पुरुष भएर पनि महिलाको विषयमा लेखक शर्माले चित्रण गरेको यथार्थ नै पुस्तकको सबल पक्ष भएको बत्ताइन् ।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए ।
उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन भने, वि एन पुस्तकले बजार व्यवस्थापकको जिम्मा लिएको छ । कफी यात्रा प्रोडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० तोकिएको छ । शर्माले पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा ल्याएका थिए ।