तीन दिने बिपी साहित्य महोत्सव आजबाट
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आजबाट तीन दिने ‘बिपी साहित्य महोत्सव २०८०’ सुरु हुँदै छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने महोत्सवमा बिपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष आदि विभिन्न शीर्षकमा महोत्सवका छुट्टाछुट्टै सत्रहरू चल्ने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन आइतबार उद्घाटनसहित बिपीको साहित्य, सिर्जना र जीवन दर्शन,बिपीका दृष्टिमा बिपी, बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।
दोस्रो दिन गान्धी र बिपीबारे सम्भाषण, बिपीले नपाएको १५ वर्ष, बिपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, युवा स्रष्टामा बिपी पठन र गजल साँझ हुनेछ ।
तेस्रो तथा अन्तिम दिन तीन घुम्ती, बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्टर्न, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपीका एवम् साङ्गीतिक साँझ गरिने आयोजकले जनाएको छ।
महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरू,बुद्धिजीवी,अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरिएको छ । महोत्सव भदौ २६ गतेसम्म सञ्चालन हुने छ ।