पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ स्वदेश फर्कने तयारीमा
लन्डन । पाकिस्तानका पूर्व प्रधानमन्त्रीले चाँडै राजनीतिमा पुनरागमन गर्ने सम्भावना देखिएको छ । नवाज शरीफ अर्को महिना अर्थात अक्टोबरमा पाकिस्तान फर्कने तयारीमा छन् । नवाज सरिफ विगत चार वर्षदेखि लण्डनमा स्वयम् निर्वासित जीवन बिताइरहेका छन् । पाकिस्तान मुस्लिम लिगका नेता नवाजले लण्डनमा पार्टी कार्यकर्तासँग कुराकानी गर्दै आफू छिट्टै पाकिस्तान फर्कने संकेत गरेका छन् ।
नवाज शरीफको पाकिस्तान फर्कने मिति भने तय भइसकेको छैन, तर उनको फिर्ति अक्टोबरमा हुनसक्छ। नवाज शरीफलाई सन् २०१८ मा अल-अजिजिया मिल्स र एभेनफिल्ड भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो।
यी मुद्दाहरूमा उनलाई सात वर्षको जेल सजाय सुनाइएको थियो। लाहोरको कोट लखपत जेलमा राख्दा नवाज शरीफको स्वास्थ्य बिग्रिएपछि स्वास्थ्यका कारण राम्रो उपचारका लागि लण्डन जान अनुमति दिइएको थियो । त्यसयता नोभेम्बर २०१९ देखि हालसम्म नवाज सरिफ लण्डनमा बस्दै आएका छन् ।
यसअघि २५ अगस्टमा नवाज शरीफका भाइ र पूर्व प्रधानमन्त्री शाहबाज सरिफले एक बयानमा नवाज शरीफ सेप्टेम्बरमा पाकिस्तान फर्कने र उनीविरुद्ध रहेका मुद्दाहरूको सामना गर्ने घोषणा गरेका थिए। शहबाज सरिफले आगामी आम चुनावमा नवाज शरीफले पार्टीको नेतृत्व गर्ने बताएका छन् । शाहबाज सरिफले पनि नवाज शरीफले देशको नेतृत्व गर्ने बताएका छन् । यसले आगामी चुनावमा पीएमएल-एनबाट नवाज शरीफ मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने सङ्केत गरिरहेको छ।
पछिल्लो जनगणना पछि, पाकिस्तानमा नयाँ सीमांकनको काम चलिरहेको छ, जसका कारण आम चुनाव ढिलो भइरहेको छ। पाकिस्तानी संसद ९ अगस्टमा विघटन भएको थियो र पाकिस्तानी संविधानको प्रावधान अनुसार संसद विघटन भएको ९० दिनभित्र आम निर्वाचन गराउनु पर्ने हुन्छ ।