मोरक्को भूकम्प : मृतकको संख्या १ हजार नाघ्यो
रबाट । मोरक्कोमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मोरक्कोका आन्तरिक मन्त्रीले भूकम्पबाट मृत्यु हुनेको संख्या १ हजार ३७ पुगेको बताएका छन् । भूकम्पकबाट १२ सय भन्द बढी मानिसहरू घाइते भएको अन्तर्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८२० रहेको बताइएको थियो तर अहिले यो संख्या बढेर १ हजार ३७ पुगेको छ । मृतकमध्ये आधाभन्दा बढी अल हाज र तारुदान्ट प्रान्तका छन् ।
यस बाहेक मोरक्कोको ओआरजाजेते, चिचौआ, अजीलाल र युसेफिया प्रान्तका साथै माराकेश, अगादिर र कासाब्लान्का क्षेत्रमा पनि मृत्यु भएको छ। यी स्थानमा घाइते हुनेको संख्या ३२९ पुगेको छ भने ५१ जनाको अवस्था गम्भीर छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुनसक्छ । भूकम्पको जानकारी राख्ने मोरक्कन संस्थाले भूकम्पको तीव्रता सातभन्दा बढी रेक्टकर स्केलको रहेको जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा थियो । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा यहाँ भूकम्पको धक्का महसुस गरिएको थियो । केही समयपछि यी ठाउँमा भूकम्पको पराकम्पन पनि महसुस गरिएको थियो जसको तीव्रता ४ दशमलव ९ मापन गरिएको थियो ।
मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार यस भूकम्पबाट सबैभन्दा बढी क्षति सहरबाहिर रहेका पुराना बस्तीहरूमा भएको छ। मोरक्कोका धेरै नागरिकहरूले सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो र तस्विरहरू पनि पोस्ट गरेका छन्, जसमा भवनहरू भत्किएपछि धुलोको बादलमा परिणत भएको देख्न सकिन्छ। खासगरी माराकेशमा जसलाई युनेस्कोबाट विश्व सम्पदा स्थलको दर्जा दिइएको छ । यहाँ धेरै पर्यटकले भूकम्पपछि ज्यान जोगाउन दौडिरहेको र चिच्याइरहेको भिडियो पनि पोस्ट गरेका छन् ।