एनआरएनए अमेरिकाले आठ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) , राष्ट्रिय समन्वय परिषद् (एनसीसी)अमेरिकाले यस पटक स्नातक छात्रवृत्ति सोमवार घोषणा गर्ने भएको छ।
एनआरएनए अमेरिकाका तत्कालीन अध्यक्ष सुनील साहको पाल देखि विद्यार्थीका लागि छात्रवृत्ति दिन थालिएको हो। अमेरिकामा उच्चशिक्षा हासिल गर्दै गरेका नेपाली विद्यार्थीलाई यो छात्रवृत्ति दिइन्छ।
यस पटक घोषणा गर्न लागिएको छात्रवृत्ति अघिल्लो कार्यकालको हो। ‘२०२१- २०२३ कार्यसमितिको युवा, विद्यार्थी र खेलकुद विभाग द्वारा घोषणा गरिएको स्नातक छात्रवृत्ति हामीले अहिले दिन लागेका हौ।’ युवा उपाध्यक्ष अनुप खनालले समाज टाइम्स सँग भने।
निर्वाचन आचार संहित लागु भएका कारण अघिल्लो पटक छात्रवृत्ति प्रदान गर्न नसकिएको उपाध्यक्ष खनालको भनाई छ।
‘तत्कालीन युवा संयोजक त्रिभुवन पाण्डेकै पालामा आह्वान गरि छनौट समेत गरिएको हो, चुनावका कारण विजेताको नाम सार्वजनिक भएको थिएन् त्यो बेला थाती रहेको कार्यक्रमलाई अहिले हामीले सम्पन्न गर्न लागेका हौ।’ खनालले भने।
छात्रवृत्तिका लागि दरखास्त दिएका ९७ जना मध्येबाट आठ जना विजेता सोमवार साँझ घोषणा गरिने खनालको भनाई छ।
हरेकले एक हजार अमेरिकी डलर प्राप्त गर्ने छन्।