अमेरिकामा मानव तस्करी गर्ने गौतम नेपालमा पक्राउ
बुटवल । नेपालको पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्ससमा रहेका अनि अमेरिकी नागरिकता पनि लिएका ५२ वर्षीय मुदुल भन्ने हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गर्दै आएको गिरोहका नाइके रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोबाट खटिएको टोलीले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको बुझिएको छ ।
गौतमले विभिन्न प्रलोभन देखाउँदै अमेरिका पठाउने नाममा नेपाली नागरिकलाई युएई, थाइल्यान्ड, फिलिपिन्स, जाम बिया, सिंगापुर, हङकङ लगायत मुलुक पुर्याएका थिए । त्यहाँ पुर्याएपछि उनीहरूको राहदानी, मोबाइल समेत जफत गरी ठुलो परिमाणमा रकम माग गर्ने, भने जति पैसा नदिए शारीरिक र मानसिक यातना दिने र अन्तिममा बेचबिखन गरेर अलपत्र पार्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।
गौतमले पर्यटक भिसाको दुरुपयोग गरेर अहिलेसम्म दुई सय जना नेपाली नागरिकलाई अमेरिका पठाइसकेको, दुई करोडभन्दा बढी रकम ठगेको र १२ जना नेपालीलाई अमेरिका पठाइदिने आश्वासनमा विभिन्न मुलुकमा पठाएर अलपत्र पारेको खुल्न आएको छ ।
ब्युरोका अनुसार गौतमविरुद्ध पाँच वटा मुद्दा दर्ता भइसकेको छ ।