तीजको उपलक्ष्यमा अमेरिकामा चटपटे पार्टी, युवा युवतीलाई गोलबद्ध गराउने प्रयास
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ नेपाल भित्र मात्र होइन विश्वमा जहाँ जहाँ नेपाली र नेपाली भाषी पुगेका छन् त्यहाँ अहिले तीजको रौनक छ।
तीज हिन्दुनारीहरुको ठुलो पर्व। पात्रोले तीजको संकेत गर्नु महिनौँ अगाडि देखि नै गल्ली गल्लीमा दैनिक ‘पार्टी’ हुँदा यो खर्चिलो र भड्किलो भयो भन्नेहरूको जमात पनि बढ्दै छ।
अलिक पहिला पहिला माइती आएकी चेलीले आफ्ना सुख दुखका कुरा साथीभाइ सँग साटासाट गर्ने थलोको रूपमा पनि तीज रहन्थ्यो। ब्रत बस्ने, चोखो मिठो खाने पुजापाठ पर्ने पर्व हो तीज। समयान्तर सँगै कतिपय अवस्थामा तीजले पनि कोल्टे फेरेको छ।
प्रायशः महिलाहरूले रातो सारी लगाएर, दर खाएर, नाचेर धूमधाम मनाउने चाड हो तीज।
तीजकै निम्तो मान्न सेप्टेम्बर १० तारिख शनिवार पेन्सिल्भेनियाको लिङ्गल पार्क पुग्दा त्यहाँको माहौल अलिक फरक थियो।
घाम थाप्लो माथि आइपुग्दै गर्दा सारी र ब्लाउजमा सजिएका युवतीहरू मात्र होइन उत्तिकै मात्रामा युवाहरूको पनि जमघट भइसकेको थियो।
चिटिक्क सजिएका युवतीहरू प्याज काट्नमा व्यस्त थिए। केही काँक्रो मसिनो टुक्रा गर्दै थिए। अनि केही चटपट मोल्दै थिए। युवाहरूलाई स्टेट बनाउन भ्याइ नभ्याइ थियो।
खुल्ला माइक, नाचगान, विभिन्न खेलकुदका कार्यक्रम तय भएको थियो। तर त्यही बेला आकाशले बेइमानी गर्यो। झ्याप्पै पानी दर्कियो। सबै जना पार्कको कटेरोमा खुम्चिए।
तर पनि उनीहरूको रमाइलो क्रम टुटेन। केहीले स्टेजमा पुगेर गाउन थाले। केही जोडी बनेर नाच्दै थिए। एकै छिन मुखै रसाउने गरी चटपट तयार भयो।
सबैले चटपट खाए, तीजको गीतमा नाचे अनि रमाइलो गरे। तर कथा यत्तिमा टुङ्गिँदैन। तीजको अवसर पारेर गरिएको ‘चटपट डे’ त्यतिमा मात्र सीमित थिएन।
उनीहरूले आफूले हासिल गरेको विज्ञताको बारेमा अरूलाई जानकारी गराए। भोली अरूलाई कुनै समस्या पर्यो भने आफूलाई सोध्न पनि भने।
चटपट खानु, नाच्नु गाउनु तीज मनाउनु त छदै थियो कार्यक्रमको मुख्य उद्देश्य पेन्सिल्भेनियाको ह्यारिसबर्ग र आसपासका युवाहरूलाई एकबद्ध गराउनु थियो। यसको संयोजन युवा इन एक्सनले गरेको थियो।
‘पेन्सिल्भेनियाको ह्यारिसबर्ग र आसपास रहेका नेपाली भाषी युवा र विद्यार्थीहरू बिच नेटवर्क गर्ने उद्देश्यले हामीले सन् २०२९ देखि युवा इन एक्सन सुरु गरेका हौ।’ अभियान कर्ता मध्येका एक रोशन खड्काले समाज टाइम्स सँग भने।
‘यहाँ (अमेरिका) आइसके पछि हाम्रो समुदायका व्यक्तिले पनि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका छन् अब उनीहरूले प्राप्त गरेको ज्ञान समुदाय सम्म कसरी पुर्याउने, समाजले कसरी फाइदा लिने भन्ने हाम्रो जोड हो।’ खड्काले भने, ‘युवाहरूमा भएका ज्ञान र विज्ञतालाई समाजमा कसरी लैजाने भनेर अभियान चलाएको हो, भोली कसैलाई कुनै आवश्यकता पर्यो भने त्यो प्रयोग हुन्छ।’
खड्का सँगै सोबित अधिकारी र राम अधिकारीले सुरु गरेको यो अभियानमा अहिले सम्म दर्जनौँ युवा युवती जोडिएका छन्।
तीजको उपलक्ष्यमा आयोजित ‘चटपटे डे’ लाई पेन स्टेट युनिभर्सिटीमा रहेका नेपाली विद्यार्थीको संस्था नेपाली एसोसिएसन क्लब (एनएसी) पेन स्टेट क्लब ह्यारिसबर्ग, आरआर क्यापिटल र ह्वावार्ड हेनाले सहयोग गरेका थिए।
‘हामीले सन् २०१९ देखि युवा एन्ड एक्सनको नाममा विन्टर टी डे भनेर सुरु गरेका हौ । सबैलाई बोलाएर चिया खाने, गेम खेल्ने, चिनजान गर्ने कार्यक्रममा हो। कुन कुन फिल्डमा के के हुँदै छ त्यो बारेमा जानकारी होस भनेर कार्यक्रम गरेका थियौ।’ खड्काले आफ्ना योजनाहरू सुनाए,’ समरमा पनि कार्यक्रम ल्याउन भनेर तीज पारेर चटपटे डे ल्याएका हौ।’
‘हाम्रो मुख्य उद्देश्य युवाहरूको विज्ञताबाट समाजलाई सहयोग गर्ने हो, यस पटक तीज संयोगले पर्यो दिदीबहिनी सँगै चाड मनाऔँ भन्ने भयो।’ उनले थपे।
खड्काले आफूहरुले सोचे अनुसार नै कार्यक्रम सम्पन्न भएको बताए। ‘पानीले गर्दा हामीले खुल्ला चौरका लागि तय गरेको खेलकुदका कार्यक्रम हुन् सकेन। तर समग्रमा हामी खुसी नै छौ, उपस्थिति राम्रो भयो।’ उनले भने।
खड्काले आफूहरूको उद्देश्य एउटै सहरमा बसेका नेपाली भाषी बिचमा चिनजान गराउने रहेको र त्यसका लागि गह्रुङ्गो भन्दा पनि सामान्य कुराले प्रभाव पार्ने बताए।
‘चिया, चटपटे झट्ट सुन्दा राम्रो लाग्छ, यो युनिक पनि हुने, मान्छेलाई गह्रुङ्गो भन्दा पनि हल्का नाम दिउ धेरै जना आउन्, गफगाफ होस, चिनजान होस भन्ने हो, चटपटेमा धेरै कुरा मिसिएको हुन्छ त्यस्तै हाम्रो लक्ष्य पनि धेरै मिसिएको छ।’ खड्काले भने।
भिडियोमा हेर्नुस् …..
कार्यक्रमका थप तस्वीरहरु …