अमेरिका बाहेक पनि ६ देशको डेलिगेटमा समस्या देखिएको छ : गौरी जोशी महासचिव एनआरएनए
पेन्सिल्भेनिया,अमेरिका / डेलिगेट (महाधिवेशन प्रतिनिधि) छनौट सम्बन्धी पुस्त्यौली विवादबाट गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) यस पटक पनि अछुतो रहेन।
आइसीसीले अधिकांश देशको डेलिगेटका नाम आफ्नो वेवसाइडमा सार्वजनिक गरेको छ। एनआरएनएको ८४ मुलुकमा एनसीसी छन्।
सबै एनसीसीबाट कुल चार हजार दुई सय २३ जना डेलिगेट छनौट हुने छ। डेलिगेट विवादकै कारण एनआरएनए आइसीसीको पछिल्लो निर्वाचन नै हुन नसके पछि तीन अध्यक्ष सहितको जम्बो टोलीलाई टिको लगाइएको थियो।
एनआरएनए आइसीसीका महासचिव गौरी जोशीका अनुसार अमेरिका बाहेक ६ देशको डेलिगेटको लिस्टमा समस्या देखिएको छ।
‘अमेरिका, क्यानडा, जापान, अस्ट्रेलिया,युके र बेल्जियमबाट डेलिगेट छनौटका बारेमा गुनासा आएका छन्।’ बिहीवार समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा महासचिव जोशीले भने।
उनले ती गुनासाहरू सम्बोधन गर्न तीन अध्यक्ष, तीन उपाध्यक्ष र दुई महासचिव रहेको समिति गठन भएको पनि बताए।
एनआरएनए आइसीसीमा अहिले डा. बद्री केसी, रवीना थापा र कुल आचार्य गरी तीन जना अध्यक्ष छन्। यस्तै जोशीका अलावा डा. केशव पौडेल पनि महासचिवमा छन्। महासचिव जोशीका अनुसार आगामी निर्वाचनमा अध्यक्षको दावेदारी गरिरहेका उपाध्यक्षहरू महेश श्रेष्ठ, आरके शर्मा र डा. हेमराज शर्मा पनि डेलिगेट विवाद निराकरण समितिमा रहेका छन्।
समितिले डेलिगेट छनौट आइसीसीको मापदण्ड अनुसार भएको छ छैन भनेर हेर्ने अधिकार पाएको जनाइएको छ। ‘पर्न पर्ने मान्छे नपरेको तर नपर्नु पर्ने मान्छे पनि परेको भन्ने गुनासो धेरै आएका छन्, त्यसमा के भएको हो हामी हेर्छौ।’ महासचिव जोशीले भने।
उपाध्यक्ष डा. हेमराज शर्माले माल्टा बाहेकका अन्य देशमा ठुला समस्या नदेखिएको बताए। माल्टामा कस्तो प्रकारको समस्या हो भन्ने उनले खुलाउन चाहेनन्।
महासचिव जोशीले अमेरिकाबाट पनि दुई वटा लिस्ट आइसीसी समक्ष आएको दाबी गरे। ‘एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे र महासचिव रामहरि अधिकारीको संयुक्त हस्ताक्षर बाहेकको पनि अर्को लिस्ट आएको छ।’ उनले भने।
एनआरएनए अमेरिकाबाट गएको दोस्रो लिस्ट अहिले सम्म सार्वजनिक भएको छैन। वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले आफूले छुट्टै लिस्ट आइसीसीमा पठाएको बताउँदै आएका छन्। पारदर्शिताको वकालत गर्दै आएका उप्रेतीले आफूले आइसीसीमा पठाएको लिस्ट सार्वजनिक गरेका छैनन्।
आइसीसी महासचिव जोशीले दोस्रो लिस्ट बाहिर ल्याउन नमिल्ने बताए। ‘सचिवालयले छानबिन गरिरहेको लिस्ट बाहिर ल्याउन मिल्दैन।’ उनले भने,’दुवै लिस्टमा विधान अनुसार को को छुटेका छन् त्यो मिलाएर हामी फिर्ता पटाउँछौ, एनसीसी अमेरिकाको कार्यसमितिले अनुमोदन गरे पछि त्यो अन्तिम हुन्छ।’
एनआरएनए अमेरिकाको डेलिगेट विवाद कति प्राकृतिक ?
एनआरएनए आइसीसीका एक पदाधिकारीका अनुसार अमेरिकाको यस पटकको लिस्टमा विवाद गर्नु पर्ने ठाउँ छैन। केही व्यक्तिको नाममा वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको अस्वाभाविक अडानले समस्या आएको हो।
‘दुई फरक समूहबाट चुनाव जितेका अध्यक्ष र महासचिवले संयुक्त हस्ताक्षर गरेर पठाए पछि त्यसमा समस्या नहुनु पर्ने हो। त्यो लिस्टले वैधानिकता पाउनु पर्ने हो। आइसीसीको विधानमा पनि सोही व्यवस्था छ।’ उनले भने ‘तर केही ठुला देशमा जवर्जस्ती समस्या देखाउन खोजिएको छ।’
उनले आइसीसीले हलो अड्काएर गोरु चुट्ने शैलीमा लागेको टिप्पणी गरे। ‘हुन त अमेरिकाबाट नै एक अध्यक्ष सहित दुई महासचिव, एक कोषाध्यक्ष र तीन तीन जना सचिव छन तर उनीहरु तै चुप मै चुप छन्।यसैको फाइदा उठाएर अमेरिकालाई सधै दुख दिनेहरुले यस पटक पनि खेल्न पाएका छन्।’
एनसीसी अमेरिकाका डेलिगेट छनौट समितिको संयोजकको जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष उप्रेतीले नेपाली जनसम्पर्क समितिका केही नेताहरूलाई कुनै पनि हालतमा लिस्ट पार्न हुन्न भन्ने अडानका कारण समस्या भएको बताइएको छ।
उप्रेतीले जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक बिष्णु सुवेदी, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डित, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक खगेन्द्र जीसीलाई यस पटक डेलिगेट बनाउन नहुने अडान राखेका थिए।
यसै गरी जनसम्पर्क समितिका सदस्य ज्ञानेन्द्र कार्की र पूर्व प्रमुख निर्वाचन आयुक्त विश्व बरालको नाममा पनि उनले आपत्ति जनाएका थिए।
जबकि उप्रेतीले प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष सञ्जय थापा, प्रभु थापा र वर्तमान अध्यक्ष कृष्ण लामिछानेको नाम भने लिस्टमा राखेका थिए।
अध्यक्ष डा बन्जाडेले एनआरएनएमा सबैलाई समेटेर लैजानु पर्ने बताए पनि वरिष्ठ उपाध्यक्षले आफ्नो अडान नछोडेको बताइएको छ।
‘वरिष्ठ उपाध्यक्षले ल्याएको लिस्टमा केही यस्ता मान्छे छन् जसलाई छुटाउन हुन्न है भनेर अध्यक्ष ज्यूले भन्नु भएको थियो, उहाँले (वरिष्ठ उपाध्यक्ष) मान्नु भएन।’ महासचिव अधिकारीले समाज टाइम्स सँग भने, ‘हिजो चुनाव सहयोग गर्यो गरेन भनेर अब संस्था चलाउन हुँदैन भनेर अध्यक्ष र मैले भनेका हौ तर उहाँ केही व्यक्तिलाई कुनै हालतमा लैजान हुँदैन भन्ने अडानमा रहनु भयो।’
वरिष्ठ उपाध्यक्ष उप्रेतीले आफूले सधैँ एउटै मान्छेलाई किन लैजाने भनेर उनीहरूका नाममा अडान राखेको बताए। ‘सधैँ उनीहरूलाई मात्र किन उहाँहरू त ठुलो मान्छे आइसीसीबाट डेलिगेट छनौटमा पर्न सक्नु हुन्छ यहाँ नयाँलाई पनि मौका दिनु पर्छ भन्ने मेरो अडान हो र म त्यसमा अडिग छु।’ उने भने।
‘अरू सबै जना मैले भनेकै लैजाऊ तर डा. पण्डित र सुवेदीको नाम राखौँ भनेर कसैले प्रस्ताव गर्छ भने पनि म मान्दिन।’ उप्रेतीले भने,’उनीहरूको विरोध गर्दै म यहाँ सम्म आइपुगेको छु, मैले लिएको बाटो ठिक भएर त म पटक पटक चुनाव जित्दै आएको छु भने पछि म किन त्यो बाटो छोडौँ?’ उनले समाज टाइम्स सँग प्रतिप्रश्न गरे।
उप्रेतीले आफूले व्यक्ति भन्दा पनि प्रक्रियाको बारेमा कुरा उठाएको दाबी गरे। तर उनी आफैले प्रक्रिया मिचेको एनआरएनए अमेरिकाका सचिव दीपक सापकोटाको भनाई छ।
‘डेलिगेटहरुको नाम छनौट गरी कार्यसमितिमा बुझाउने अधिकार वरिष्ठ उपाध्यक्षलाई दिएको हो।’ सापकोटाले समाज टाइम्स सँग भने, ‘उहाँले पनि लिस्ट तयार गरे पछि कार्यसमितिलाई सम्मझनु भएन, अहिले आफूले भनेको सत प्रतिशत नभए पछि कार्यसमिति अनि प्रक्रियाको कुरा गर्नु स्वाभाविक मानिँदैन।’
एक सदस्यका अनुसार वरिष्ठ उपाध्यक्ष उप्रेतीले कार्यसमिति मात्र होइन डेलिगेट छनौट समितिका पनि नाम सार्वजनिक गरेका थिएनन्।
आइसीसीका सचिव प्रमोद सिटौला, अमेरिका क्षेत्रका संयोजक प्रकास सापकोटा लगायतको निगरानिमा लिस्ट तयार गरिएको जनाइएको छ।
अध्यक्ष डा.बन्जाडे र महासचिव अधिकारीले पठाएको लिस्टमा कुन कुन व्यक्ति गलत मान्छे परे र आफूले तयार पारेको लिस्ट कस्तो थियो भनेर पनि वरिष्ठ उपाध्यक्ष उप्रेतीले खुलाउन चाहेनन्।
‘मैले मेरो लिस्ट ठाँउमा पठाएको छु। हाम्रै टिमका साथीहरुले मलाई साथ नदिए पछि अध्यक्ष र महासचिवकै लिस्टले मान्यता पाउला तर म ती व्यक्तिको विरोध गर्न छोड्दिन्।’ उप्रेतिले भने।
उनले आफ्नै टिमका केही व्यक्तिले भोली आइसीसीको चुनावको जोड घटाउमा लागेर चुप बसिदिदाँ जनसम्पर्क समितिका नेताको नाम हटाउने कार्य सफल हुन नसकेको पनि बताए।
अमेरिका निवासी आइसीसीका ती पदाधिकारी भन्छन्, ‘आफूले अधिकार पाएको बेला आफ्ना विरोधीलाई हटाउँछु भन्ने उहाँको (उप्रेती) इगो होला, त्यो स्वाभाविक पनि हो तर एनआरएनएमा यस पटक दुवै पक्षले जितेका छन् भोली काम पनि गर्नु पर्छ भन्ने उहाँले सोच्नु भएन होला।’