म्यानमार जान लागेको टोलीलाई एन्फाले गर्यो बिदाइ
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलको तयारीका लागि म्यानमार जाने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना सहित बिदाइ गरेको छ ।
एन्फा कम्प्लेक्स सात दोबाटोमा सोमबार एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ सहितको कार्यकारी अधिकारीको उपस्थितिमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अबे पद्धतिमा प्लेअफ खेल खेल्दै छ । उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली म्यानमार प्रस्थान गरेको हो । दुवै मैत्रीपूर्ण खेल म्यानमारको यांगोनमा हुनेछ ।
इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले म्यानमारसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा यसअघि नै गरेका थिए । उनले टोलीले राम्रो खेल्ने विश्वास दिलाएका छन् ।
अनेसेले डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अञ्जन राई, मिडफिल्डर उत्सव राई तथा फरवार्ड दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलियालाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।
म्यानमारविरुद्ध खेल्ने अन्तिम टोलीमा गोलरक्षक, किरणकुमार लिम्बू, अभिषेक बराल र दीप कार्की, डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई, मिडफिल्डर, एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई तथा फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया रहेछन् ।