नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य
कोलम्बो । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले शक्तिशाली भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा सोमवार टस हारेर ब्याटिङ गरेको नेपालले ४८ दशमलब दुई ओभरमा अलआउट हुदै दुई सय ३० रन जोड्यो।
जसमा आसिफ शेखले अर्धशतक बनाउदैं ५८ रन बनाए । यस्तै सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८,दीपेन्द्रसिंह ऐरीले २९,गुल्शन झाले २३ रन बनाउनु्बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका रविन्द्र जडेजाले ३, मोहम्म्द सिराजले ३ विकेट लिए ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । पाकिस्तान सुपर फोरमा पुगिसेको छ भने भारत र नेपालमध्ये एक टिम आजको नतिजा पछि सुपर फोरमा पुग्ने छ ।
नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने भएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको छ । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।