पेन्सिल्भेनिया स्टेट हाउस डिस्ट्रिक ४१ मा ४१ मतको अन्तर, नतिजा अनिश्चित
ल्यान्कास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया स्टेट हाउस डिस्ट्रिक ४१ मा मतगणना अन्तिम चरणमा पुग्दा पनि विजेताको टुंगो लाग्न सकेको छैन। रिपब्लिकन उम्मेदवार तथा वर्तमान सांसद ब्रेट मिलर र डेमोक्रेटिक उम्मेदवार ब्राड चेम्बर्सबीच कडा प्रतिस्पर्धा देखिएको छ।
उपलब्ध मतगणनाअनुसार ९९ प्रतिशत मत गणना भइसक्दा मिलरले चेम्बर्सलाई जम्मा ४१ मतले पछाडि पारेका छन्। थोरै मतको अन्तर रहेकाले निर्वाचनको नतिजा अझै आधिकारिक रूपमा घोषणा गरिएको छैन।
मिलरले प्राप्त गरेको अग्रता कायम रहन्छ वा बाँकी मतगणनापछि परिणाममा परिवर्तन आउँछ भन्ने विषयले यस निर्वाचनलाई पेन्सिल्भेनियाको चासोको निर्वाचनमध्ये एक बनाएको छ।
निर्वाचन कार्यालयको प्रारम्भिक विवरणअनुसार मिलरले १४ हजार २२५ मत (५०.०७ प्रतिशत) र चेम्बर्सले १४ हजार १८४ मत (४९.९३ प्रतिशत) प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा रहेका सबै ३२ मतदान केन्द्रको मतगणना सार्वजनिक भइसकेको छ। तर, प्रोभिजनल ब्यालेट र विदेशबाट हुने मतदानको गणना हुन बाँकी रहेकाले अन्तिम परिणाम आउन समय लाग्न सक्ने देखिएको छ।
यो निर्वाचन सन् २०२४ को प्रतिस्पर्धाको पुनरावृत्ति पनि हो। त्यसबेला मिलरले चेम्बर्सलाई करिब ४ हजार मतको अन्तरले पराजित गरेका थिए। सन् २०१४ देखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका मिलर यसपटक पनि आफ्नो सिट जोगाउने प्रयासमा छन् भने चेम्बर्सले उनलाई चुनौती दिएका हुन्।
यो क्षेत्रमा ल्यानक्यास्टर काउन्टीका कोलम्बिया र माउन्टभिल बरो, इस्ट हेम्पफिल्ड र वेस्ट हेम्पफिल्ड टाउनसिप तथा म्यानर टाउनसिपको केही भाग पर्दछन्।



















