पाकिस्तानसँग भारत पुरै ओभर टिकेन
श्रीलंका । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पल्लेकमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पुरै ओभर पनि खेल्न असफल रह्यो । भारत ४८.५ ओभरमा सवै विकेट गुमाएर २६६ रनमा रोकिन पुग्यो ।
भारतीय टोलीका लागि हार्दिक पाण्ड्या र इशान किशनले उत्कृष्ट अर्धशतक बनाए पनि रोहित शर्मा र विराट कोहली लगायतका ब्याट्सम्यान फ्लप भए । शाहिन शाह अफ्रिदी पाकिस्तानका लागि सबैभन्दा सफल बलर बने ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो चार ओभरमा कुनै पनि विकेट गुमाएको थिएन । तर, पाँचौं ओभरमा पानीको अवरोध भयो र फेरि खेल सुरु हुँदा भारतलाई ठूलो झट्का लाग्यो। पाँचौं ओभरमा रोहित शर्मा १५ रनको स्कोरमा ११ रन बनाएर खेलिरहेका शाहीन अफ्रिदीको बलमा बोल्ड भए । विराट कोहली पनि धेरै समय टिक्न सकेनन् । उनी पनि ४ रन बनाएर २७ रनमा शाहिन अफ्रिदीकै शिकार बने । श्रेयस अय्यर १४ र शुभमन गिल १० रन बनाएर आउट भए ।
इशान किशन र हार्दिक पाण्डेले कठिन परिस्थितिमा टीम इन्डियाको पारि सम्हालेका थिए । भारतले २० औं ओभरमा सय रन पुरा गर्यो । इशान निकै आक्रामक देखिए र ५४ बलमा आफ्नो सातौं एकदिवसीय अर्धशतक पूरा गरे ।
केही पछि हार्दिकले पनि आफ्नो ११ औं अर्धशतक पूरा गरे। भारतीय टोलीले ३७ औं ओभरमा २०० रन पुरा गरेको थियो । दुवै ब्याट्सम्यानले १३८ रन जोडे र एसिया कपमा भारतका लागि पाँचौं विकेटको सबैभन्दा ठूलो साझेदारी बनाए।
यो साझेदारी ह्यारिस रउफले तोडेका थिए भने इशान किशन ८१ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै ८२ रन बनाएर आउट भए । हार्दिकले उत्कृष्ट ब्याटिङ जारी राखे पनि शतकको नजिक पुगेपछि आउट भए । २३९ रनको स्कोरमा आउट हुनुअघि उनले ९० बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ८७ रनको इनिङ खेले। रविन्द्र जडेजा (१४) र शार्दुल ठाकुर (३) सातौं र आठौं विकेटमा २४२ रनमा आउट भए ।
तल्लो क्रमबाट जसप्रित बुमराहले उपयोगी १६ रन बनाए र २६६ रनको स्कोरमा अन्तिम विकेटका रूपमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए भने नसिम शाह र हरिस रउफले ३/३ विकेट लिए ।
वर्षाका कारण पाकिस्तानले जवाफी ब्याटिङ सुरु गर्न सकेको छैन ।